कोशी सरकारविरुद्ध फेरि सर्वोच्चमा आउनु हाम्रो बाध्यता हो : एमाले

हिमाल प्रेस ६ भदौ २०८० १६:२१
8
SHARES
कोशी सरकारविरुद्ध फेरि सर्वोच्चमा आउनु हाम्रो बाध्यता हो : एमाले कोशी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी।

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको भन्दै नेकपा एमाले पुनः सर्वोच्च अदालत पुगेको छ। कोशी प्रदेशसभामा मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि थापाका पक्षमा मतदान गरेको र त्यसले संविधान र सर्वोच्च अदालतको आदेशको उल्लंघन गरेको भन्दै बाध्य भएर सर्वोच्च आउनुपरेको कोशी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।

उनले मत बराबर पनि नभएको अवस्था र मत विभाजनको समय पनि सकेर मत सच्चाउने क्रममा मतदान गरि पुनः सभाध्यक्षको कुर्सीमा फर्कनु संविधानको धारा १८६ र प्रदेशसभा नियमावली विपरीतको कार्य भएको जिकिर गरे।

कानुन, संविधान र संसदीय मूल्यमान्यतालाई स्थापित गर्नका लागि बाध्य भएर अदालतमा न्यायका लागि आउनुपरेको उनले स्पष्ट पारे।

भण्डारीले गठबन्धन दलले संविधानविपरीतको काम नरोकेसम्म पटकपटक अदालत आउनुपर्ने परिस्थिति उत्पन्न हुने बताए। मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरिरहेका मन्सुरीले मतदान गरेका थिए। मन्सुरीको मत निर्णायक बनेको थियो।

असार २२ पनि एमाले अदालत गएको थियो। सभामुखको समेत हस्ताक्षर लिएर सरकारमा दाबी गरेको भन्दै अदालत पुगेको एमालेको मुद्दामाथि सुनुवाइ गर्दै उद्धव थापाको नियुक्ति सर्वोच्चले बदर गरिदिएको थियो।

त्यसपछि पुनः भएको सरकार गठनमा कांग्रेस संसदीय दलका नेता थापा २७ दिनभित्र दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित: ६ भदौ २०८० १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =