राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा मेरो छाया परेको भएर एमाले आएन : माधवकुमार नेपाल

हिमाल प्रेस ५ भदौ २०८० १३:४९
18
SHARES
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा मेरो छाया परेको भएर एमाले आएन : माधवकुमार नेपाल फाइल तस्बिर

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आज मंगलबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेकोप्रति टिप्पणी गरेका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले आफू पनि सहभागी भएकोले एमालेले बहिष्कार गरेको टिप्पणी गरेका हुन्।

‘आज एउटा बैठक राष्ट्रपतिले बोलाउनुभएको थियो। राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा हाम्रो पार्टीको तर्फबाट म पनि गएको थिएँ,’ उनले भने, ‘थाहा छैन मलाई के कारणले हो एमालेका नेताहरू आएनन् सम्भवत: त्यहाँ माधव नेपालको छाया, एकीकृत समाजवादीको छाया परेर होला, आउने काम भएन।’

उनले एमालेका नेताहरू संकीर्ण रहेको आरोप पनि लगाए। आफू र आफ्नो पार्टी साझा विषयमा सहकार्य गरेर अघि बढ्ने पनि उनको भनाइ छ।

‘हामीमा त्यस्तो संकीर्णता छैन। हामीमा त्यस्तो सानो किसिमको चित्त पनि छैन। हामी सबैसँग साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्न चाहन्छौँ,’ उनले थपे, ‘राष्ट्रको, जनताको, समाजका सरोकारका विषयमा विचार मिल्नेहरूसँग हामी हातेमालो गर्दै अघि बढ्न चाहन्छौँ। न्युनतम् संस्कार हामी कायम राख्छौँ। अरुको मानमर्दन गर्दैनौँ। अरुको अपमान गर्दैनौँ। हामी अरुलाई धारेहात लगाएर चलेपछि मात्रै राम्रो हुन्छ भनेर मनलाई सन्तोष पनि दिँदैनौँ।’

उनले एमालेमा विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गर्नु जायज भएको पनि बताए। ‘सबभन्दा पहिले हामी केन्द्रीय किमिटीका सदस्य, नेतृतवदायी तहका नेताहरू त्यबसबारेमा प्रष्ट छौँ कि छैनौँ। जिल्ला कमिटीकाले के भन्छन्? प्रदेश कमिटीकाले के भन्छन्? जनवर्गीय संगठनकाले के भन्छन्। तल तलकाले के भनेछन् त्यो महत्वपूर्ण कुरा होइन,’ उनले भने, ‘हाम्रो दिमागमा के छ? हामी त्यसमा विश्वस्त छौँ कि छैनौँ सबैभन्दा महत्वपूर्ण कुरा यहाँ छ। हामी विश्वस्त छौँ भने अरुलाई विश्वस्त बनाउन सक्छौँ।’

प्रकाशित: ५ भदौ २०८० १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =