अनलाइन किनमेल

दर्ताबिनै चलेका पूर्वका अनलाइन व्यवसाय

विवेक विवश रेग्मी ६ भदौ २०८० ८:२५
132
SHARES
दर्ताबिनै चलेका पूर्वका अनलाइन व्यवसाय

इटहरी– कोरोना महामारीले देश लकडाउनमा थियो। आममानिस घरभित्र थिए। चाहेको खाने र आवश्यकता परिपूर्ति गर्ने अवस्था थिएन। त्यसैबेला इटहरीमा केही ऊर्जाशील युवाले सामाजिक सञ्जाल प्रयोग गरेर ‘इटहरी होम डेलिभरी’ अनलाइन व्यापार सुरु गरे।

करिब दुई वर्षसम्म निःशुल्क ‘होम डेलिभरीको सर्भिस’ गरेसँगै अहिले उनीहरूले इटहरीदेखि मोरङको विराटचोकसम्म सेवा प्रदान गरिरहेका छन्। इटहरीका दीपेन थापा, सन्दीप साह र निर्दीव काफ्लेलाई सेवाग्राहीले चाहेको सामान ‘होम डेलिभरी’ गर्न भ्याइ-नभ्याइ छ।

‘लकडाउन चैतमा भयो, हामीले साउनदेखि यो व्यापार सुरु गरेका हौँ,’ निर्दीवले भने, ‘फुड र बेकरीका आइटमबाट सुरु गरेका थियौँ। अहिले फुडसँगै अन्य सामग्री पनि बिक्री गर्दै आएका छौँ।’ उनका अनुसार यो टिमले अहिले सामाजिक सञ्जालको प्रयोग गरेरै व्यापार गरिरहेको छ।

सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामको माध्यमबाट उनीहरूले इटहरीसहित सुनसरीको रामधुनी, दुहबी र मोरङको विराटचोकसम्म सामान डेलिभरी गरिरहेका छन्।

‘डेलिभरी पार्टनरका रूपमा काम गरिरहेका छौँ। ‘पिकअप एन्ड ड्रप’ पनि गरिरहेका छौँ। सुरुमा इनरुवादेखि धरानसम्म गर्यौँ,’ व्यापारको ‘स्कोप’ कस्तो छ भन्ने जिज्ञासामा उनले भने, ‘लकडाउनको समयमा हाइस्कोप थियो, अहिले चैँ अलिक कम छ। तर ट्रेन्ड बस्दै छ।’

पूर्वमा डिजिटल बजार भर्खरै सुरु हुँदै गएको र काठमाडौँको बजारमा पहिलादेखि भएकाले पनि राजधानीसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने सन्दीप बताउँछन्। उनीहरूले सुरुमा फुड, बेकरी, बेभरेजलगायतका सामानको ‘डेलिभरी’ गर्दै आए पनि अहिले सेवाग्राहीले घरमा आवश्यक परेको सामान अर्डर गर्दा गिफ्ट आइटमदेखि सबै किसिमका सामान ‘डेलिभरी’ गर्दै आएका छन्।

‘तपाईँले जुन कुरा रेस्टुरेन्टमा पाउनुहुन्छ, हामीले त्यही सामान बिक्री गर्ने हो,’ उनले भने, ‘रेस्टुरेन्टसँगको सहकार्यमा हामीले इटहरी क्षेत्रमा दुई वर्षसम्म ‘फ्री डेलिभरी’ गर्‍यौँ। त्यतिखेर मार्केटमा नयाँ थियौँ, प्रतिस्पर्धा कम थियो। आफू बाँच्नका लागि पनि त्यो रणनीति अपनाएका हौँ, अहिले चैँ थोरै शुल्कमै ‘डेलिभरी’ गरिरहेका छौँ। इटहरीभरि ‘डेलिभरी’ गर्दा ५० रुपैयाँसम्म र बढीमा एक सय रुपैयाँ लिँदै आएको उनले बताए।

उनीहरूसँगै व्यापार गर्दै आएका दीपेन भन्छन्, ‘लकडाउनमा घरमा हुँदा ‘खाइदिम् न त’ भन्ने चलन थियो, अहिले अनलाइनको आवश्यकता भइसकेको छ।’

विभिन्न कार्यक्रम र बैँकमा समेत अनलाइनबाट ‘फुड डेलिभरी’ गर्दै आएको उनले बताए। इटहरी सहरीकरणको रूपमा विकसित हुँदै गएकाले विदेशमा बसेर घरमा सामान ‘अर्डर’ गर्नेको संख्या बढ्दो रहेको उनी सुनाउँछन्।

‘विदेशमा बसेर घरमा सामान अर्डर गर्नेहरूसँग सुरुमा आधा पैसा लिने र सामान पुर्‍याइसकेपछि पूरा पैसा लिने गरेका छौँ,’ उनले भने, ‘बढीजसो केक अर्डर हुन्छ। जन्मदिन र अन्य उत्सवमा अझ बढी केक बिक्री हुँदै आएको छ।’

उनका अनुसार ब्रान्डिङ, कन्टेन्ट, डिजाइन र मार्केटिङमा लगानी गरेर अनलाइनको माध्यममार्फत व्यापार गर्दै आएकाले सेवाग्राहीले चाँडै र कम खर्चमै सामान अर्डर गर्न सक्नेछन्। उनीहरूको टिमले एक महिनामा एकदेखि डेढ लाखसम्मको व्यापार गर्दै आएको छ। बिहान ८ बजेदेखि राति १० सम्म सामान ‘डेलिभरी’ हुन्छ।

‘हामीले लकडाउनमा सेफ्टीका लागि पीपीई लगाएरै सेवा दियौँ। वडा र नगरबाट स्वीकृत लिएर व्यवसाय सुरु गरेका थियौँ,’ निर्दीव भन्छन्, ‘सेवाग्राहीले लेखेको रिभ्यु र फिड ब्याकलाई पनि प्रयोग गरेर हामीले अनलाइनमार्फत व्यापार गर्दै आएका छौँ।’

नेपालमा प्रविधिको विकास भर्खरै हुँदै आएकाले पनि सेवाग्राहीलाई सन्तुष्ट बनाउन चुनौती हुने उनको बुझाइ छ। ‘जति धेरै अरुले राम्रो भन्यो, उति धेरै व्यापार हुने हो,’ उनले भने, ‘यसमा सेवाग्राहीलाई सन्तुष्ट दिलाउन चुनौती छ।’ बढीजसो सेवाग्राही युवा उमेरसमूहका रहेको उनीहरू बताउँछन्।

४० प्रतिशत घरबाटै अर्डर 

इटहरी २० मा रहेको ससुराली रेस्टुरेन्टले पनि विभिन्न वडाका सेवाग्राहीलाई ‘होम डेलिभरी’ गर्दै आएको छ। रेस्टुरेन्टका सञ्चालक उत्तम गिरी भन्छन्, ‘हामीले अनलाइनमार्फत सेवा सुरु गरेको धेरै समय भएको छैन। तर रेस्टुरेन्टमा बिक्री भएको ४० प्रतिशतभन्दा बढी व्यापार अनलाइनबाटै हुन्छ।’

उनले रेस्टुरेन्टको नम्बरमा फोन वा म्यासेज गरेर सामान ‘अर्डर’ गर्न सकिने बताए। ‘घरमै बसेर आफूले चाहेको खानेकुरा खान पाउँदा सेवाग्राही खुसी बन्नुहुन्छ। ‘हामीले डेलिभरीका लागि छुट्टै स्टाफ राखेका छैनौँ, रेस्टुरेन्टकै स्टाफले भ्याइरहेका छौँ,’ गिरीले भने, ‘रेस्टुरेन्टमा भीड भएको अवस्थामा भने अर्डरको सामान पुग्न केही समय ढिला पनि हुनसक्छ।’

ग्राहकले भनेकै समयमा सामान पुर्‍याउन नसक्दा चुनौती पनि छ। ‘कहिलेकाहीँ रेस्टुरेन्टमा भीड भएका बेला अर्डरको सामान पुग्न ढिलो हुनाले पनि हामीलाई चुनौती छ’, उनी भन्छन्।

कोशी प्रदेशको राजधानी विराटनगरमा क्विकर फुड्स, गुरुजी, भोजलगायतले अनलाइनमार्फत सेवा दिँदै आएका छन्। यी कम्पनीको प्रथामिकता खानेकुरा डेलिभरीमा छ। त्यसका साथै इटहरी होम डेलिभरी, फुडनगर, भोज, पूर्वाञ्चल आइसक्रिम पार्लर/क्याफे, ससुराली रेस्टुरेन्ट, धरानमा भोक लाग्यो, भोजलगायत अनलाइनमा माध्यमबाट सेवा प्रदान गर्दै आएका सेवाप्रदायक हुन्।

अधिकांशले आफ्नो व्यवसाय दर्ता भने गरेका छैनन्। केही मात्रै कानुनी दायरामा आएका छन्। यसले गर्दा राज्यले कर मात्रै गुमाएको छैन उपभोक्ता ठगिएमा गुनासो गर्ने निकायसमेत हुँदैन।

विराटनगरमा पछिल्लो समय काठमाडौँमा रहेका ठूला अनलाइन व्यापार कम्पनीले पनि सेवा विस्तार गर्न थालेका छन्। त्यस्तै कम्पनीमध्येको एक हो, ठूलो डटकम।

ललितपुरमा मुख्य कार्यालय रहेको ठूलो डटकमले विराटगरमा केही महिनाअघि शाखा विस्तार गरेको हो। विराटनगर शाखाकी उषा भट्टराईले अनलाइन व्यापार लोकप्रिय हुन थालेको बताइन्। युवा पुस्ता आकर्षित भएकाले पनि व्यवसायको भविष्य राम्रो रहेको उनको बुझाइ छ। कम्पनीले हालसालै विराटनगरको भृकुटीचोकमा शाखा सुरु गरेको हो।

उनले तत्काल विराटनगर केन्द्रित भए पनि चाँडै कोशी प्रदेशभर सेवा दिने लक्ष्य रहेको बताइन्। ‘हामीले प्रत्येक जिल्लामा शाखा पुर्‍याउने लक्ष्य लिएका छौँ,’ उनले भनिन्, ‘उत्पादनलाई जोड्ने भएकाले सियोदेखि सुनससम्म भन्ने नाराअनुसार सबै किसिमका सामान पुर्‍याउने प्रयत्नमा छौँ।’

कम्पनीको प्राथमिकता तरकारीमा छ। उनले सानो व्यवसायले बजार नपाइरहेकाले उनीहरूका उत्पादन गरेका घरेलु उत्पादन खरिद गरी बिक्री गर्ने बताइन्। ‘बढीजसो महिला उत्पादन गरेका सामान हामी खरिद गर्ने गरेका छौँ,’ उनले भनिन्, ‘उहाँहरूलाई आफ्नो सामानको प्रमोसन गर्न तालिमसमेत प्रदान गरिदने गरेका छौँ।’

यस्तै झापाको दमक, बिर्तामोड, भद्रपुरजस्ता सहरमा पनि अनलाइन कारोबारतर्फ मानिसहरूको आकर्षण बढ्दो छ। नेपालमा दराज डटकमको प्रवेशसँगै अनलाइन किनमेलले गति लिएको बताइन्छ। यसमा कोरोना महामारी र लडकडाउनको भूमिका बढी छ। मोबाइल बैंकिङजस्ता डिजिटल भुक्तानीले पनि अनलाइन व्यापार फस्टाएको जानकारहरू बताउँछन्।

अनलाइन व्यापार : विश्वस्त हुनै बाँकी

देशभर फैलिँदै ‘ड्याडिज किचेन’

प्रकाशित: ६ भदौ २०८० ८:२५

प्रतिक्रिया

One thought on “दर्ताबिनै चलेका पूर्वका अनलाइन व्यवसाय

  1. डेलिभरि ब्वाइ चाइएमा म लाई सम्पर्क गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =