अनलाइन व्यापार

देशभर फैलिँदै ‘ड्याडिज किचेन’

विनोद परियार ३ भदौ २०८० १६:५३
674
SHARES
देशभर फैलिँदै ‘ड्याडिज किचेन’

जीवन, सपना र लक्ष्य। यी तीन शब्द एकअर्कासँग गाँसिएका छन्। हरेक मानिसले जीवनमा सपना देख्छ। सपना कल्पनामात्रै होइन, जीवनको लक्ष्य पनि हो। अनि आफूले देखेको सपनालाई पूरा गर्न मानिस लागिपर्छ।

त्यस्तै सपना देखेर यथार्थमा परिणत गर्नेमध्ये एक हुन् बुटवलका कमलजंग कुँवर। ३३ वर्षीय उनको कथा धेरैका लागि प्रेरणादायी छ। ठेला व्यापारबाट प्रभावित भएर स्वदेशमै उद्यम गर्ने उनको सपना सफल भएको छ। अनि उनी बनेका छन्, ‘ड्याडिज किचेन’ का सञ्चालक।

११ वर्षअघि बुटवल, दीपनगरबाट उनले ‘ड्याडिज किचेन’को सुरुवात गरेका थिए। जो अब देशभर फैलिएको छ। बुटवलमा त उनको किचेन ब्रान्ड बनेको छ। बुटवलमा कालिकानगर, अमरपथ र रूपन्देहीको सैनामैनामा छ ‘ड्याडिज किचेन’ छ। काठमाडौँ र पोखरामा समेत उनको ब्रान्ड पुगिसकेको छ। आफ्नै ब्रान्डको एप्स र अनलाइनबाट अर्डर र भुक्तानी हुन थालेपछि त पछाडि फर्कनुनपरेको बताउँछन् सञ्चालक कमल।

किचेन काठमाडौँमा बानेश्वर र तीनकुनेमा छ भने पोखरामा चिप्लेढुंगा, मुस्ताङचोक र राममन्दिरमा गरी तीन ठाउँमा सञ्चालित छ। कमलले पोखरामा आठ वर्षअघि र काठमाडौँमा छ वर्षअघि किचेन खोलेका हुन्।

‘कलेज पढ्दा ठेलामा चाउमिन, ममलगायत खानेकुरा बिक्री भएको देख्थेँ,’ उनी भन्छन्, ‘यस्तै खानेकुरा ग्राहकलाई अलि व्यवस्थित रूपमा खुवाउन पाए हुन्थ्यो भन्ने सोच आयो। ठेलाबाट प्रभावित भएर ड्याडिज किचेनको परिकल्पना गरेको हुँ।’

कमल अर्घाखाँचीको सन्धिखर्कस्थित जनता मावि पकलेबाट एसएलसी उत्तीर्ण गरेपछि २०६३ सालमा बुटवल झरेका थिए। लुम्बिनी वाणिज्य क्याम्पसमा १२ पढ्दैदेखि केही नयाँ काम उद्यम गर्ने हुटहुटी थियो। बुटवल सुख्खानगरस्थित एक्सिस कलेजमा बीबीएबीआई पढ्दाताका ड्याडिज किचेनको परिकल्पना गरे।

‘स्वदेशमै केही गर्नुपर्छ’ भन्ने सोच हुनुको पछाडि केही पारिवारिक घटना छन्। उनका तीन दाजु वैदेशिक रोजगारीमा थिए। दाजु विदेश भएकै कारण कमललाई आर्थिक बोझ थिएन। तर विदेशमा रगतपसिना बगाउनुपर्ने, परिवारसँग टाढा बस्नुपर्ने बाध्यताले कताकता घोचिरहन्थ्यो।

‘दाजुहरूको दुःख, घरबाट टाढिनुपर्दाको पीडा सकभर विदेश जान नपरोस् भन्ने लाग्थ्यो,’ कमल भन्छन्, ‘त्यसैले देशमै केही गर्ने उपायको खोजीमा थिए।’ सुरुमा बुटवल दीपनगरमा उनले क्याफे चलाए। तर त्यो सफल भएन। ठेलामा बिक्री हुने चाउमिन, ममजस्ता खानेकुरा त्यही मूल्यमा बसेर खुवाउने योजना बनाएका थिए। सोहीअनुसार सटर लिएर क्याफे खोले। तर परिस्थिति अनुकूल बनेन। क्याफेमा घाटा लागेपछि हतोत्साही पनि भए।

‘त्यतिखेर धेरै साथीहरूले अरू काम गर्ने सल्लाह दिए,’ उनी सुनाउँछन्, ‘पढाइअनुसार राम्रै बैंकमा जागिर पाउन पनि सक्थेँ। तर मलाई उद्यमी बन्नु थियो।’  क्याफेको असफलताबाट पार लाग्ने उपायको खोजीमा उनले ठेलातिर लाग्ने सोच बनाए। ‘बेलायतबाट फर्केर केही समय व्यापार गरेर थन्काएर राखेको ठेला (किओस्क) किनेँ,’ उनी सम्झिन्छन्, ‘पा‌ंग्रा भएको ठेलामा किचेन राखेर काम सुरु गरेँ।’

२५ हजार रुपैयाँ त्यो पनि आम्दानी गरेर तिर्ने गरी खरिद गरेको बताउँछन। ‘सुरुमा चौराहामा भाडामा दिएको थिएँ,’ उनी भन्छन्, ‘नचलेपछि मिलनचोकबाट भित्र सुख्खानगरमा आफैँले ठेलामा व्यापार थालेँ। त्यही ठेला आजको ड्याडिज किचेन हो।’

गुड्ने ठेलामा खानाका परिकार राखेर बेच्न सुरु गरे पनि काम गर्न सजिलोचाहिँ थिएन। सडकछेउमा व्यापार गरेर बस्दा अनेकौँ कुरा सुन्नुपरेको उनी बताउँछन्। ‘पढाइमा राम्रो विद्यार्थीले खुरुक्क बैंकको जागिर नगरेर के खानेकुरा बेच्दै बसेको होला’, धेरैले भने। तर पनि उनले ठेलाको व्यापार छोडेनन्।

‘मैले ठेलाको व्यापार छाडिनँ,’ कमल भन्छन्, ‘त्यही ठेलाको व्यापारले आज यहाँसम्म पुर्‍याएको छ।’ ठेलाबाट सुरुवाती लगानी उठाए। अमरपथको एक क्याफेमा कफी पिउँदै कमलले तय गरेको नारा ‘कायापलट ल्याउँछौँ स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौँ’ व्यवहारमा प्रमाणित भयो।

दुई वर्ष सुख्खानगरमा ठेलामा व्यापार गरेपछि ट्राफिकचोकमा व्यवस्थित ‘फुड ट्रक’ सुरु गरे। त्यहाँ आफैँ एक वर्षजति बसे। त्यसपछि उनले व्यापारमा पछाडि फर्केर हेर्न परेन। ‘ठेलामा एक जना सहयोगीमार्फत काम सुरु गरेँ, त्यसपछि १५/१६ जना आबद्ध भए,’ उनी भन्छन्, ‘अहिले देशभर ६ सय १७ जनालाई रोजगारी दिएको छु।’

बुटवलमा ड्याडिज किचेनले उपभोक्ताको मन जित्न सक्यो। कमलले पनि ग्राहकलाई मन पर्ने नयाँनयाँ किसिमका आइटम मेनुमा थप्दै गए। बुटवलपछि फुड ट्रक पोखरा र काठमाडौँ लगे।

बुटवल र पोखरामा तीन/तीन र काठमाडौँमा एक ठाउँमा गरी सात ठाउँमा ड्याडिज किचेन व्यवस्थित रूपमा सञ्चालित छ। काठमाडौँमा बुटवलको प्रख्यात ‘कुकर कफी’ ब्रान्ड पनि सञ्चालित छ। बुटवल, काठमाडौँ र पोखरामा गरी दैनिक तीन हजार ग्राहकलाई सेवा दिने गरेको कमल बताउँछन्। त्योभन्दा बढी होम डेलिभरीका ग्राहक छन्।

ड्याडिजले एपमार्फत र फोनमार्फत अर्डर लिने व्यवस्था मिलाएको छ। एपमार्फत अर्डर गर्दा पाँचदेखि सात प्रतिशतसम्म छुट दिने गरेको छ। ‘करिब २० प्रतिशत ग्राहकले एपमार्फत अर्डर गर्नुहुन्छ,’ कमल भन्छन्, ‘होम डेलिभरीमा जानेमध्ये ५० प्रतिशत एपका अर्डर हुन्छन्।’

उनका अनुसार तीन जना अर्डर लिने कर्मचारी छन्। होम डेलिभरीका लागि सात जना कर्मचारी छन्। बुटवलसहित देशभर छ सय अर्डर अनलाइनमार्फत आउने उनी बताउँछन्। यस्तै काठमाडौँमा अनलाइनमार्फत बेकरी आइटमको सेवा दिने गरिएको छ।

कमलले बुटवल र पोखरामा कोभिड-१९ का बेला पनि कुनै कर्मचारीलाई निकालेनन्। उनले अस्पतालहरूमा खाना पुर्‍याए। ‘फोन र अनलाइनमार्फत अर्डर लिने र सुरक्षित रूपमा अस्पताल, घरमा खानेकुरा पुर्‍याएका थियौँ,’ उनी भन्छन्, ‘कोभिडमा पनि व्यापार सन्तुलन भएकाले अहिलेसम्म गिरावट आएको छैन।’

महिला सशक्तीकरणका लागि ‘पपैया’

ड्याडिज किचेनलाई ब्रान्डका रूपमा स्थापित गरेका कमल नयाँ सोचका साथ व्यापार गरिरहन्छन्। अहिले उनले बुटवलमा गत वर्षदेखि ‘पपैया : फ्रेस-हेल्दी जुस, फ्रुट’को व्यापार सुरु गरेका छन्। महिला सशक्तीकरण गर्ने उदेश्यले बुटवल कालिकानगरमा पपैया सञ्चालन गरिएको उनी बताउँछन्। यहाँ महिला कर्मचारीमात्रै छन्।

स्वास्थ्यलाई हानि नगर्ने, विभिन्न फलफूल, जुस र खानेकुरा यहाँ पाइन्छ। यहाँ काम गर्ने कर्मचारीले तलबसँगै १० प्रतिशत वर्किङ सेयर पाउने व्यवस्था गरिएको पनि कमल बताउँछन्। ‘गुलियो चिज यहाँ पाइँदैन, स्वास्थ्यलाई लाभ पुर्‍याउने खानेकुरामात्र पाइन्छन्,’ उनी भन्छन्।

हालसम्म एकल लगानीमा कमलले ‘ड्याडिज किचेन’ हाँकिरहेका छन्। ‘जति आम्दानी हुन्छ, त्यसलाई लगानीका रूपमा व्यापारमै थप्दै गएँ,’ उनी भन्छन्, ‘त्यसैले सफल हुन सकेँ।’

पोखरा र काठमाडौँका समेत ग्राहकको मन जितेको ड्याडिज किचेन’लाई निकट भविष्यमा छिमेकी भारतमा पनि लैजाने योजना बनाएका छन्। उनले अहिलेसम्म ब्रान्ड बिक्री गरेका छैनन्। तर लगानीको हिसाबले एकल देखिए पनि तीन जनालाई आफ्नो सफलताको सारथी ठान्छन्। बुटवल क्षेत्रमा कमलको बहिनी सरिता कुँवर, पोखरामा सन्दीप चुँदाली र काठमाडौँमा भतिज पदमजंग कुँवर उनका सारथी हुन्।

‘पकेटमनी’का लागि सुरु गरेको थिएँ, पछि बिस्तारै यसको दायरा फैलाउँदै लगेँ,’ उनी भन्छन्, ‘म पूरै सफल भइसकेको छैन। तर ६ सय १७ जनालाई रोजगारी दिएको छु त्यसमा भने सन्तुष्ट छु।’

व्यापारमा उनको दुई करोडभन्दा बढीको लगानी छ। तर उनी लगानीलाई अंकमा भन्न रुचाउन्नन्। ‘मेरो सोच नै लगानी हो,’ उनी भन्छन्, ‘स्वदेशमै युवा आत्मनिर्भर बन्ने वातावरण बनाउनुपर्छ।’

अनलाइन व्यापार : विश्वस्त हुनै बाँकी

प्रकाशित: ३ भदौ २०८० १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =