मुख्यमन्त्रीले विश्वासको मत लिने दिन उपसभामुखले लिइन् बिदा, अप्ठ्यारोमा थापा

विवेक विवश रेग्मी ४ भदौ २०८० ८:४९
36
SHARES
मुख्यमन्त्रीले विश्वासको मत लिने दिन उपसभामुखले लिइन् बिदा, अप्ठ्यारोमा थापा

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची अन्योलमा परेको छ। एकपछि अर्काे राजनीतिक संकट आएसँगै थापालाई विश्वासको मत लिन संकट परेको हो। आजै उनले विश्वासको मत लिने कार्यसूची थियो।

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले आफू बिरामी भएको भन्दै प्रदेशसभामा उपस्थित हुन नसक्ने भन्दै जानकारी गराएकी छन्। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको बैठकमा दनुवारले आफू बिरामी भएका कारण सभामा उपस्थित हुन नसक्ने जानकारी गराएकी हुन्।

सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४ को संशोधन सहितको नियम ११ मा अध्यक्ष मण्डल गठनको व्यवस्था छ।

सोही नियम अनुसार कोशी प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट इस्राइल मन्सुरी,राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका मालती सुब्बा र माओवादी केन्द्रका गीता तिम्सिना अध्यक्ष मण्डलमा निर्वाचित भएका छन्।

अध्यक्ष मण्डलमा रहेका राप्रपाका प्रदेशसभा सदस्य अम्बर बहादुर विष्ट र एमालेका मालती कुमारी सुब्बा हिजै घरायसी काम परेको भन्दै बिदामा बसेका छन्
अध्यक्ष मण्डलमा रहेका इस्राइलमन्सुरी गीताभन्दा ज्येष्ठ सदस्य हुन्।

अप्ठ्यारोमा मुख्यमन्त्री

गत भदौ १ गते विश्वासको मत लिन सूची दर्ता गर्दा उपसभामुख सिर्जना दनुवारले भदौ ४ गते आजका लागि समय तोकेकी थिइन्। गत साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री भएका थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

अरु प्रदेशमा भन्दा कोशी प्रदेशसभाको अवस्था अलिक भिन्न र रोचक छ। कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको सरकार ढलेपछि पछिल्लो पटक गत २१ असारमा सरकार गठन भएको थियो। त्यसबेला सभामुख रहेका बाबुराम गौतमसमेतको हस्ताक्षरसहित उनै थापा मुख्यमन्त्री बने । तर, सर्वोच्च अदालतले नियुक्ति बदर गरेको थियो।

नियुक्ति बदर भएपनि पुनः उनै थापा मुख्यमन्त्रीमा दोहोरिए। तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर थापा बहुमतसहितको मुख्यमन्त्री बने । सभामुखबाट राजीनामा दिएका गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाइयो।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ । थापालाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन छ। विपक्षमा भने नेकपा एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।

उता, राप्रपाले भने विश्वासको मत लिने दिन अनुपस्थित रहने जनाएको छ । यससँगै नेकपा एमालेले पनि उपसभामुख दनुवारलाई अनुपस्थित गराएमा मुख्यमन्त्री थापाले विश्वासको मत कसरी पाउँछन् भन्ने चर्चा हुन थालेको छ। एमालेको निर्देशनअनुसार बैठकमा आफैं अनुपस्थित हुने सम्भावना प्रबल रहेको एमाले निकट नेताहरूको दाबी छ।

आफैंले बोलाएको बैठकमा अनुपस्थित हुनु संसदीय मर्यादाविपरीत हो । तर, सरकार बनाउने र ढाल्ने जोडघटाउमा उनको अनुपस्थिति संख्यात्मक हिसाबले महत्वपूर्ण मानिएको छ । तर, उनको उपस्थिति हुने, नहुनेबारे अझै अन्यौल छ । यद्यपि, प्रदेशसभा सचिवालयमा भने हालसम्म उनको अनुपस्थित हुनेबारे जानकारी छैन ।

उपसभामुख दनुवार बैठकमा अनुपस्थित भएमा प्रदेशसभा बैठक सञ्चालन अध्यक्ष मण्डलले गर्नेछ। प्रदेशसभा सञ्चालन नियमावली २०७४ (पहिलो संशोधन) अनुसार सभामुख र उपसभामुखले सभा सञ्चालन गर्ने ‘संवैधानिक नियम’ भएपनि उनीहरूको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयनसम्बन्धी व्यवस्था छ। नियमावलीको नियम ११ को उपनियम १ मा उक्त व्यवस्था छ ।

प्रदेशसभा सञ्चालनका लागि सभामुख, उपसभामुखलाई सहयोग गर्न गठन भएको चार सदस्यीय अध्यक्ष मण्डलमा एमालेकी मालती सुब्बा सबैभन्दा जेष्ठ हुन्। तर, उनले आइतबार नै एमालेको निर्देशनमा प्रदेशसभा बैठकमा अनुपस्थित हुने जानकारी गराएकी छन्। प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार उनीसहित एमालेका ८ जेष्ठ सदस्यले भोलिको बैठकमा अनुपस्थित हुने जानकारी दिइसकेका छन्। ‘आठ जनाले निवेदनमा घरायसी जरुरी काम भएका कारण उपस्थित हुन नसक्ने उल्लेख गर्नुभएको छ,’ उनले भने।

सुब्बा अनुपस्थित हुँदा अध्यक्ष मण्डलमा रहेका राप्रपा अम्बरबहादुर विष्टले सभाको अध्यक्षता गर्नुपर्ने हुन्छ। तर, राप्रपाले आफ्ना सबै सांसदलाई बैठकमा अनुपस्थित हुन निर्देशन दिइएको उनै विष्ट बताउँछन् । राप्रपाका प्रमुख सचेतकसमेत रहेका विष्टले सोमबार आँफूहरूको दल प्रदेशसभामा अनुपस्थित हुने जनाएका छन्।
पार्टी केन्द्रले नै बैठकमा अनुपस्थित हुनु भनेको उनको स्वीकार छ।

प्रदेशसभामा ज्येष्ठ सदस्यहरूा एमालेका ७२ वर्षीय रोहितबहादुर कार्की, राप्रपाका प्रमुख सचेतक ६९ वर्षीय अमरबहादुर विष्ट, एमालेका ६८ वर्षीया मालतीकुमार लिम्बू, ६८ वर्षीय रामप्रसाद मेहता, ६८ वर्षीय खड्गबहादुर बस्नेत, ६७ वर्षीया तारादेवी ढकाल, ६६ वर्षीय किशोरचन्द्र दुलाल, राप्रपाका ६६ वर्षीय गोपालबहादुर विश्वकर्मा, एमालेका ६५ वर्षीय ज्ञानेन्द्र सुवेदी र कांग्रेसका ६४ वर्षीय अमृतकुमार अर्याल छन्।
यता, नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने उपसभामुख प्रदेशसभाको बैठकमा उपस्थित हुने वा नहुने विषयमा आफ्नो स्वविवेक प्रयोग गर्न स्वतन्त्र रहेको प्रतिक्रिया दिए। उनले भने, ‘सांसदहरूलाई कुनै समस्या भएको हुनसक्छ, एकसाथ घरायसी समस्या हुनु संयोग होला, हाम्रो दलले कसैलाईपनि अनुपस्थित हुनु भनेर भनेको छैन।’

गठबन्धन दल नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले उपसभामुख दनुवार आफैंले समय तोकेर बैठक बोलाएकाले अनुपस्थित नहुने विश्वास व्यक्त गरे। उनले भने, ‘उपसभामुख अनुपस्थित भएको अवस्थामा हामी कानुनी उपचारमा जाने तयारीमा छौं, तर कानुनी उपचारमा जान नपर्नेगरी उहाँले सभा सञ्चालन गर्नुहुन्छ भन्ने विश्वास।’

सत्ता स्वार्थमा केन्द्रित दलहरू

कोशी प्रदेशमा सभामुखले राजीनामा दिएको २० दिन बित्यो । तर, हालसम्म पनि नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढाइएको छैन। यसले गर्दापनि दलहरू सत्ता स्वार्थ केन्द्रित मात्रै देखिएका छन्।

नेपाली कांग्रेस, नेकपा माओबादी, नेकपा एकीकृत समाजवादी र राप्रपासँग कूल ४७ सिट मात्रै रहेका कारण र सत्तामा रहेकाले सभामुख बनाउने सोचमा छैनन्। उता, नेकपा एमाले र राप्रपाले पनि सभामुख चयनको प्रक्रिया अगाडि बढाएका छैनन । यसरी हेर्दा दलहरू स्वार्थ केन्द्रित मात्रै भएको जानकारहरू बताउँछन्।

यसअघि राप्रपा प्रदेशसभा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सत्तारुढ गठबन्धनबाट सभामुख लिनका लागि औपचारिक प्रस्ताव नआएको बताएका थिए। उनले केही दिनअघि भनेका थिए, ‘सभामुखको गरिमालाई किस्तीमा हालेर बजारमा बिक्रीमा राख्नुभएको छ। जसलाई सबैले सम्मान गर्छन् त्यो (सभामुख पदको) गरिमालाई, महत्वलाई घटाउनुभएको छ ।’

कांग्रेसको रणनीतिले काम गर्ला ?
प्रदेशसभामा सभामुख, उपसभामुख नै अनुपस्थित रहे वा राजीनामा दिएको अवस्थामा प्रदेशसभाका ज्येष्ठ सदस्यले अध्यक्षता गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभाका सबैभन्दा जेष्ठ सदस्य नेपाली कांग्रेसका गयानन्द मण्डललाई यसअघि गत साउन ३१ गते राज्यमन्त्री बनाइएको छ ।

मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरेर कांग्रेसले विश्वासको मत प्राप्त गर्ने रणनीति बनाएको छ । तर, एमालेका जेष्ठ सदस्यले धमाधम अनुपस्थित रहने जनाएसँगै कांग्रेसको रणनीतिले काम गर्ला वा नगर्ला भन्ने संकट आइपर्ने संकेतसमेत देखिएको छ । अवस्थामा सहजै विश्वासको मत पाउने रणनीतिमा मुख्यमन्त्री थापा रहेको ती सांसदले सुनाए ।

१६८ (३) को पर्खाइमा एमाले
नेकपा एमालेले भने मुख्यमन्त्री थापालाई विश्वासको मत नदिने र आफ्ना जेष्ठ सदस्यहरूलाई अनुपस्थित गराएर सरकार ढाल्ने रणनीति अपनाएको छ । यसैबीच एमाले संविधानको धारा १६८ (३) बमोजिमको सरकार बनाउने रणनीतिमा समेत जुटेको छ ।

यसअघि एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आँफूहरू १६८ (३) बमोजिमको पर्खाइमा रहको बताएका थिए । ‘एमाले नेतृत्वमा सरकार बनाउने प्रयत्न रहन्छ । संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका निम्ति हामी तयार थियौँ,’ उनले त्यसबेला हिमाल प्रेससँग भनेका थिए, ‘कसैसँग पनि बहुमत नपुगे हामी संविधानको धारा १६८ (३) अनुसार सरकार बनाउने रणनीतिमा छौँ।’

वर्तमान सरकार ढलेमा र १६८ (३) बमोजिम सरकार बनाउन प्रदेश प्रमुखले आह्वान गरेमा कोशीमा एमालेले ठूलो दलको हिसाबमा सरकार बनाउन जुटेको एमाले निकट नेताहरू बताउँछन् ।

प्रकाशित: ४ भदौ २०८० ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =