इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकी छलाङ : निर्विवाद त्रिपक्षीय सुरक्षा सहकार्य

विश्वशान्ति, एकता, लोकतन्त्र र मानवअधिकारका लागि अमेरिका, जापान र दक्षिण कोरियाबीच सहमति

हिमाल प्रेस २ भदौ २०८० २१:३१
44
SHARES
इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकी छलाङ : निर्विवाद त्रिपक्षीय सुरक्षा सहकार्य तस्विर- एपी/रासस

काठमाडौँ- चीनको आक्रामक विदेश नीति र उत्तर कोरियाको बढ्दो आणविक हतियार परीक्षणपछि अमेरिका, जापान र दक्षिण कोरियाले अमेरिकाको मेरिल्यान्डमा एक सम्मेलन आयोजना गरेर त्रिपक्षीय सहकार्य गर्न सहमत भएका छन्। दक्षिण कोरिया आफूलाई कमजोर अनुभूति गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखिरहेकै बेला अमेरिकी राष्ट्रपतिको चाहनामा जापानका प्रधानमन्त्री र दक्षिण कोरियाका राष्ट्रपति मेरिल्यान्डमा पुगेका हुन्।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाबाट उत्पन्न सुरक्षा चुनौती सामना गर्न गत साता जापान र अमेरिकासँग सुरक्षा सहयोगको अपेक्षा गरेका थिए। दक्षिण कोरियाले कोरिया, जापान र अमेरिकाबीच सुदृढ सुरक्षा सहयोग हुनुपर्नेमा जोड दिँदै आएको छ। तर कोरिया यसरी हडबडाएको पहिलोपटक हो। दक्षिण कोरियाले सम्मेलनमा आफ्नो सुरक्षाका लागि जापान र अमेरिकाको सहयोग मागेको थियो।

मेरिल्यान्डको क्याम्प डेभिडमा शनिबार सकिएको सम्मेलनमा राष्ट्रपति जो बाइडेन, दक्षिण कोरियाली राष्ट्रपति युन र जापानी प्रधानमन्त्री फुमियो किसिदा थिए।  सम्मेलनले नयाँ युगको थालनी गर्ने भन्ने सन्देश दिन खोजेको वक्तव्यबाट बुझिन्छ। उनीहरूले संयुक्त वक्तव्यमा भनेका छन्, ‘नयाँ युगको थालनीका लागि हामी यहाँ भेला भएका छौँ। युक्रेन युद्ध होस् या आणविक हतियार निर्मााणको प्रतिस्पर्धा यसले हामीलाई थप सचेत र जिम्मेवार बनाएको छ। जलवायु परिवर्तन होस् या मानवनिर्मित घातक हतियार प्रयोगको प्रतिस्पर्धा होस्। यी सबैले हामीलाई आफ्नो नागरिकप्रति थप जिम्मेवार बनाएका छन्। अब हामी हातेमालो गरेर यस्ता प्रतिस्पर्धा निस्तेज गर्नुपर्छ।’

दक्षिण कोरियाका राष्ट्रपति युनले उत्तर कोरियाको आणविक जोखिम सम्बोधन गर्न अमेरिका र जापानसँग गहन सुरक्षा सहयोगको अपरिहार्य भएको बताइहेका अवस्थामा सम्मेलन सम्पन्न भएको हो। सम्मेलनमा सच्चा साझेदार र लोकतन्त्रका पहरेदारमाथि एक प्रकारको परीक्षण सुरु भएको भन्दै अमेरिकी राष्ट्रपति बाइडनले सच्चा साझेदार र समन्वयात्मक सहकार्य आवश्यक रहेको बताए।

अमेरिकी र जापानी नेतासँगको शिखर सम्मेलन त्रिपक्षीय सहयोग प्रवर्द्धनमा नयाँ कोसेढुंगा स्थापित हुने विश्वास गरिरहेको अवस्थामा सच्चा साझेदारबीच एकताको प्रयासमा अमेरिका सफल भएको छ।

वक्तव्यमा उल्लेख छ, ‘आफ्ना नागरिकलाई बन्देज गर्ने र विश्वलाई त्राहीमाम अवस्था सृजना गर्नेहरूप्रति जिम्मेवार मुलुकहरू साँच्चै साझेदार र एकतामा बल हुन्छ भनेर अघि बढ्न आवश्यक छ। हामी (अमेरिका, द कोरिया र जापान) एक भएर विश्व सन्देश दिनुपर्नेमा सहमति भएको छ।’

यसबाट के देखिन्छ भने अमेरिका फेरि आफ्ना क्षेत्रीय साझेदारलाई सम्बन्धित क्षेत्रमा सक्रिय बनाउन अग्रसर छ। अमेरिकाले रूसको नाडी छामिसकेको र चीन-अमेरिकाबाहेक अन्यसँगपछि हट्ने अवस्थामा नरहेको भनेपछि अमेरिकाले फेरि पनि अहिले विश्वमा चलिरहेको भूराजनीतिक घर्षणलाई थेग्राएर पुन: आफू शक्तिशाली मुलुकका रूपमा रहिरहने कोसिस गरेको देखिन्छ।

अमेरिकाले उत्तर कोरियाली रवाफको जवाफ दिन तयार हुनुपर्ने बताएको छ। उत्तर कोरियाको बढ्दो आणविक हतियार परीक्षणलाई कसरी नियन्त्रण गर्ने र चीनले लागू गरेको आक्रामक विदेश नीतिको सामना गर्न परम्परागत शक्तिले के गर्ने भन्नेमा समेत छलफल भएको वक्तव्यले स्पष्ट पार्छ। अमेरिकी राष्ट्रपित बाइडेनले जापान र कोरियाको नेतृत्वको प्रशंसा गर्दै दुई देशबीच जस्तो सम्बन्ध छ त्यस्तै सम्बन्ध त्रिपक्षीय नै हुनुपर्नेमा जोड दिए। पछिल्लो समय जापान र दक्षिण कोरियाबीच निकै राम्रो सम्बन्ध छ।

त्यही चुरोमा अडेर तीनवटै देशले पारस्परिक सम्बन्धलाई सुदृढ बढाउन क्याम्प डेभिडमा त्रिपक्षीय शिखर सम्मेलन गरेका हुन्। विश्वमा आइरहेको परिवर्तनमा कसरी कम्मर कसेर सहकार्य गर्ने विषयमा पनि छलफल भएकाे बताइएको छ। त्यस्तै सैन्य सहकार्य कसरी नजिक बनाउने भन्नेमा पनि छलफल भएकाे छ।

उनीहरुले त्यहाँ छलफलमा ब्यालिस्टिक मिसाइल प्रतिरक्षा र प्रविधि विकासमा विस्तारित सैन्य सहयोगको योजना घोषणा गरेका छन्। ‘क्याम्प डेभिडमा गणतन्त्र कोरिया-अमेरिका-जापान शिखर सम्मेलनले कोरियाली प्रायद्वीप र हिन्द प्रशान्त क्षेत्रमा शान्ति र समृद्धिमा योगदान पुर्‍याउने त्रिपक्षीय सहयोगमा नयाँ कोसेढुंगा भएको छ,’ तीनै सरकार प्रमुखले एकै स्वरमा भनेका छन्।

सन् १९४५ मा जापानको ३५ वर्षे औपनिवेशिक शासनबाट मुक्त भएको आफ्नो मुलुकलाई लिएर विगतमा दक्षिण कोरियाका राष्ट्रपतिले जापानको आलोचना गर्ने गरेकामा राष्ट्रपति युनले आपसी सहयोग बढाउने विषयलाई मुख्य मुद्दा बनाएर अघि बढेपछि सहकार्य नजिकिएको हो।

उनले जापानलाई आफ्नो औपनिवेशिक गल्तीका लागि माफी माग्न आग्रह गरेनन् बरु सोल-वासिङ्टन र टोकियोबीचको सहयोगलाई बढवा दिने र सम्बन्ध सुधारका विषयलाई प्राथमिकता दिए। कोरिया र जापानबीच सुरक्षा तथा अर्थतन्त्रमा हुने सहकार्य र साझेदारीले विश्वशान्ति र समृद्धिमा संयुक्त रूपमा योगदान गर्नसक्ने बताउँदै कोरियाली राष्ट्रपतिले त्रिपक्षीय सुरक्षा सहयोगको महत्त्व निरन्तर बढिरहेको बताए।

विगतका सबै वैमनस्य बिर्सेर दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले जापानलाई आफ्नो देशको मूल्यमान्यता र साझा हित प्रवर्द्धन गर्ने साझा ‘साझेदार’ का रूपमा चित्रण गरिसकेका छन्। ‘यो ऐतिहासिक अवसरमा, हामी हाम्रो सहयोगलाई त्रिपक्षीय रूपमा विस्तार गर्न र हाम्रो साझा महत्त्वाकांक्षालाई नयाँ क्षितिजमा, डोमेनहरू र इन्डो-प्यासिफिक र त्यसबाहिरका क्षेत्रहरूमा पुर्‍याउन प्रतिबद्ध छौँ,’ वक्तव्यमा छ, ‘हाम्रो अर्थतन्त्रलाई बलियो बनाउने, लचिलोपन र समृद्धि प्रदान गर्ने, कानुनको शासनमा आधारित स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय व्यवस्थालाई समर्थन गर्ने र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी र अस्थायी सदस्यहरूका रूपमा रहेर क्षेत्रीय र विश्वव्यापी शान्ति र सुरक्षालाई बलियो बनाउनेछौँ।’

प्रजातन्त्र प्रवर्द्धन र मानवअधिकारको संरक्षणमा समेत एकले अर्कासँग सहकार्य गर्ने गठबन्धनको निर्णय छ। त्यसका लागि थप गठबन्धन आफू अनुकूल बनाउने र सबैबीच रणनीतिक समन्वय बढाउनेमा पनि सहमत भएका छन्। ‘यो त्रिपक्षीय सुरक्षा सहयोगलाई नयाँ उचाइमा पुर्‍याई विश्वशान्तिमा पहल गर्नेछौँ,’ उनीहरूले भनेका छन्।

औपनिवेशिक कालमा कोरियाली प्रायद्वीपमा जापानको क्रूर व्यवहार, यौन दासत्व र जबरजस्ती श्रमजस्ता ऐतिहासिक मुद्दामा दक्षिण कोरिया र जापानबीच लामो समयदेखि विवाद थियो। तर अहिले उत्तर कोरियाले सृजना गरेको चुनौतीका कारण दुवै देश आपसी साझेदारी र सहकार्यका निम्ति अग्रसर भएका छन् ।

उनीहरूले त्रिपक्षीय अग्रसरताका लागि छुट्टै सुरक्षा सञ्चार संयन्त्र बनाउने, क्षेत्रीय संगठनसँग सहकार्य गर्ने, सामुद्रिक शान्तिका लागि पहलकदमी गर्ने लगायतका विषय  छन्। रक्षा र परराष्ट्रमन्त्रीहरुका साथै सुरक्षा संयन्त्रहरुबीचको नियमित त्रिपक्षीय सहकार्य र कुनै धम्कीको तत्काल समाधान गर्न पनि उनीहरू सहमत भएका छन्। अमेरिकाले यसरी आफ्ना क्षेत्रीय हबहरूलाई सक्रिय बनाएर आफूलाई पुन: शक्तिमा राखिरहने प्रयासको पछिल्लो कदम हो त्रिदेशीय सहकार्य।

प्रकाशित: २ भदौ २०८० २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 4 =