चलायमान बन्दै माओवादी

किरण पौडेल १ भदौ २०८० १९:०६
28
SHARES
चलायमान बन्दै माओवादी

काठमाडौँ- पार्टी केन्द्रीय समिति बैठकपछि नेकपा माओवादी केन्द्र चलायमान देखिएको छ। पार्टी निर्णयबमोजिम नेताहरू वडा तहसम्म खटिन थालेका हुन्। पार्टीको गत वर्ष भदौमा सम्पन्न महाधिवेशनपछि माओवादी गतिविधि शून्यजस्तै थियो। साउन १७ बाट ७ दिन चलेको केन्द्रीय समिति बैठकले नेताको जिम्मेवारी हेरफेर गर्‍यो।  माओवादीले पार्टी शिथिल भएको भन्दै जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो।

वर्षमान पुन विशेष प्रदेश इन्चार्ज, चक्रपाणि खनाल, कोशी प्रदेश इन्चार्ज, लीलामणि पोख्रेल मधेश प्रदेश इन्चार्ज, जनार्दन शर्मा बागमती प्रदेश इन्चार्ज, देवेन्द्र पौडेल गण्डकी प्रदेश इन्चार्ज तोकिएका छन्।

यस्तै हितमान शाक्य लुम्बिनी प्रदेश इन्चार्ज, मात्रिका यादव कर्णाली प्रदेश इन्चार्ज, डिलाराम आचार्य सुदूरपश्चिम प्रदेश इन्चार्ज, गिरिराजमणि पोख्रेल उपत्यका सम्पर्क समन्वय प्रदेश इन्चार्ज, राम कार्की प्रवास प्रदेश इन्चार्ज तोकिएका छन्।

यस क्रममा पार्टीले तीनमहिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको छ। नेताहरूका अनुसार सबै इन्चार्ज जिम्मेवारी स्थलमा खटिएका छन्। ‘अहिले हामी पार्टी जिम्मेवारी वहनमा लागेका छौँ। तीनमहिने अभियान अगाडि बढाइरहेका छौँ,’ माओवादी नेता गणेश साहले भने।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनमा देखिएका राजनीतिक, वैचारिक तथा सांस्कृतिक चुनौती हल गर्दै जनताको भरोसायोग्य पार्टी निर्माणको आवश्यकता रहेकाले जिम्मेवारी हेरफेर गर्दै अभियान चलाएका हुन्।

‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत पार्टीका सबै तहका नेता जनताको घरदैलोमै बिताउनेछन्। बैठकको निर्णय समेटेर माओवादीले २५ लाख जनता/मतदातामा पुग्ने गरी तीन चरणमा अभियान सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको छ।

पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण तथा विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तयार गर्नेछ। यस्तै योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष निर्माण पनि पहिलो चरणमा गर्नेछ।

दोस्रो चरणमा पाँचघण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघसंस्थासँग अन्तरक्रिया गर्ने गरी कार्यक्रम बनाइएको छ।

माओवादी एक पदाधिकारीका अनुसार तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम सञ्चालन गरिनेछ।

अभियानको नारा ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ तय गरिएको छ। यससम्बन्धी जानकारी दिन मातहतका कमिटीमा सोमबार पठाइएको सर्कुलरमा पार्टी सदस्यता ८ लाख पुर्‍याउने र जनवर्गीय संगठन र मोर्चा सबै कमिटीको बैठक सम्पन्न गर्ने उल्लेख छ।

अभियानमा कम्तीमा २५ लाख जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेको कामहरूको जानकारी गराउने उल्लेख छ। अभियानको संयोजन र सञ्चालन प्रदेशका इन्चार्जहरूले गर्नेछन्। केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई अन्तरप्रदेश खटाउने निर्णय पार्टीको छ।

सहर, सिंहदरबार, बालुवाटार, प्रदेश सदरमुकाममा नेताकार्यकर्ता केन्द्रित हुने, पद र प्रतिष्ठाका लागि जेसुकै पनि गर्ने, अपारदर्शी जीवनशैलीजस्ता प्रवृत्ति बढेको भन्दै प्रचण्डले विधानको सम्मान गर्दै जनतामाझ जानुपर्ने प्रस्ताव गरेका थिए।

सञ्जालबाट मन जित्न निर्देशन

माओवादी केन्द्रमा गुटगत प्रवृत्तिले पार्टी ओरालो लागेको गुनासो थियो। माओवादीले मिसन-२०८४ लाई मिडिया र प्रविधिसँग जोड्ने बताएको छ। माओवादी प्रवक्ता अग्नि सापकोटाले सूचना तथा सञ्चारलाई प्रविधिसँग जोडेर जनताबीच जाने बताएका छन्। यसबारे आईटी विज्ञसँग परामर्श गरी मोबाइल एप्लिकेसन, वेब एप्लिकेसनलगायत अहिलेका सबै प्रविधिको प्रयोग गर्ने नीति लिएको सापकोटा बताउँछन्।

विदेशमा रहेका मतदातासँग पनि परामर्श गर्ने नीति माओवादीले लिएको छ। माओवादीले ०६४ कै हैसियतमा फर्किन सरकार, सदन, सडक, समाजवादी मोर्चा र सूचना तथा सञ्चारलाई उच्चतम प्रयोग गर्ने रणनीति बनाएको हो। यसलाई ५ ‘स’ नीति भनिएको छ।

अभियानमा कसको जिम्मेवारी के?

प्रदेश इन्चार्जहरूले आआफ्नो प्रदेशको अभियानको संयोजन गर्ने व्यवस्था गरिएको छ। अभियान प्रभावकारी बनाउन प्रदेशमा खटिएका स्थायी समिति सदस्यहरू र प्रदेश अध्यक्ष पदेन रहने गरी प्रदेश इन्चार्जको संयोजकत्वमा अभियान सञ्चालन सचिवालय गठन गरिनेछ।

स्थायी समिति सदस्य नरहेका प्रदेशहरूमा वा स्थायी समिति सदस्य भए पनि केही वरिष्ठ केन्द्रीय सदस्यसमेत समावेश गर्नुपर्ने आवश्यकता देखिएमा सोहीअनुसार समावेश गरी अभियान सञ्चालन सचिवालय गठन गर्न सकिनेछ।

अभियान सञ्चालन सचिवालयमा प्रदेशसभाका दल नेताहरू नपरेमा, दलका नेताहरूलाई आमन्त्रित गर्ने व्यवस्था गरिएको छ। अभियानमा सम्पूर्ण जनवर्गीय संगठन मोर्चाहरूलाई परिचालन गर्न जनवर्गीय संगठन मोर्चाहरूको प्रकृतिअनुसार पदाधिकारीको नेतृत्वमा संयोजन समिति बनाएर सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

अभियानलाई वडा केन्द्रित गर्ने व्यवस्था गरिएको छ। वडा केन्द्रित अभियानको नेतृत्व केन्द्रीय सदस्य/आयोग सदस्य/सल्लाहकार आदि केन्द्रीय निकायको वरिष्ठ सदस्यले गर्नेछन्।

एउटा अभियान टोलीको जिम्मामा १०/११ वडाहरू पर्न सक्नेछन्। जिम्मेवारी तोकिएका बाहेक अन्य नेताहरूको कार्यविभाजन आआफ्नो मतदाता नामावली भएको वडामा अभियानमा जोडिने व्यवस्था गरिएको छ।

पार्टी केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म कुनै न कुनै वडाको अभियानमा सहभागी हुने व्यवस्था गरिएको छ। अभियानमा नेताहरू ७५३ वटै पालिकाको वडामा पुग्नुपर्नेछ। केन्द्रीय सदस्यरूमाथि नेतृत्व भूगोलमा नगएको आरोप लागेपछि अध्यक्ष प्रचण्डले सातै प्रदेशमा एकएक वडाको जिम्मेवारी लिन नेताहरूलाई निर्देशन दिएका थिए। आफू र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सातै प्रदेशमा पार्टीको समग्र अवस्था बुझ्ने प्रचण्डले बताएका थिए।

प्रचारमा प्रभाव देखाउने अग्नि योजना

आठौँ महाधिवेशनपछि माओवादीले कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी दिएको थियो। तर महराले प्रवक्ताको जिम्मेवारी पूरा गर्न नसकेको गुनासो बढ्यो। महरा आफैँ पनि जिम्मेवारीप्रति सन्तुष्ट थिएनन्।

अग्नि सापकोटाले पत्रकारसँग बेलाबेला समन्वय गर्दै आएका छन्। उनले पत्रकार सम्मेलनमार्फत कार्यक्रम सार्वजनिक गरिसकेका छन्। सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ कार्यक्रम पुनः सुरु गर्ने भएका छन्।

अहिले माओवादीभित्र विवादका विषय बाहिर नल्याउन पनि आग्रह गरिएको छ। केही दिनअघि बसेको सचिवालय बैठकले विवाद सार्वजनिक नगर्न र बैठकमै छलफल गर्न अनुरोध गरिएको थियो। माओवादी केन्द्रको बैठकमै अध्यक्ष प्रचण्डले सरकारले गरेका कामको बारेमा दैनिक दुई स्टाटस लेख्न उर्दी गरेका थिए।

आलोचनापछि सुधारको संकेत

साउनको केन्द्रीय समिति बैठकमा अध्यक्षदेखि पदाधिकारी सबैको आलोचना भएको थियो। प्रचण्डमाथि पनि केन्द्रीय सदस्यहरू विभिन्न आरोप लगाएका थिए। प्रचण्डले समेत अन्य पदाधिकारीलाई पार्टी निर्माणमा लाग्नुपर्ने बताए।

यसपछि पार्टीमा सुधारको संकेत देखिएको पार्टी सचिव गणेश साह बताउँछन्। दोस्रो स्तरका नेताका गुटगत क्रियाकलापसमेत कम भएको र फिल्डमा खट्न थालेको साह सुनाउँछन्।

बैठकअघि भने माओवादी निष्क्रियजस्तै थियो। पार्टी पदाधिकारी चलायमान नबनेकाले पार्टी बैठकमै माओवादी विघटनको कुरासमेत प्रचण्डले गरेका थिए। तर पछिल्लो समय भने दोस्रो स्तरका नेता पनि क्रियाशील हुँदै गएको साहको भनाइ छ।

विद्यार्थी संगठनको विवाद मिलाउने प्रयास

माओवादी केन्द्रमा जनवर्गीय संगठन पनि भताभुंग छ। पार्टीको नर्सरी मानिने विद्यार्थी संगठन समेत अहिले विवादित छ। पञ्चा सिंह नेतृत्वलाई अमान्य भन्दै अर्को समूहले समानान्तर गठन गरेको छ।

यसप्रति पार्टी नेतृत्वको समेत खास चासो छैन। विवाद समाधानकै लागि माओवादीले विद्यार्थी इन्चार्जमा हिमाल शर्मालाई जिम्मेवारी दिएको छ। उनले विद्यार्थी संगठनलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाएका छन्। यद्यपि, संगठनको समस्या समाधान गर्न चुनौतीपूर्ण रहेको बताएका छन्।

पार्टी अध्यक्ष प्रचण्डले आउँदो तीन महिनामा पार्टी २०६४ को हाराहारीमा पुग्ने दाबी गरेका छन्। रामेछापको बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीलाई गतिशील बनाउन विभिन्न कार्यक्रम ल्याइएको बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 5 =