ओली-रावल संवाद

बाझाबाझपछि मन माझामाझ

किरण पौडेल ३१ साउन २०८० १०:३४
374
SHARES
बाझाबाझपछि मन माझामाझ एमाले अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावल। फाइल तस्बिर

काठमाडौँ- झन्डै २ वर्षपछि मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावल छलफलमा जुटे। हुन त एउटै दलका अध्यक्ष र नेता भेटघाट गर्नु नौलो कुरा होइन। तर ओली र रावल भेटघाटले भने राम्रै चर्चा पायाे। कारण दुई नेताबीच लामो समय तिक्त सम्बन्ध रह्याे। यसअघि उनीहरू एकै दलमा रहन नसक्नेसम्मका अड्कलबाजी थिए। दुवैले एकअर्कालाई ‘निषेध’कै बाटो लिएका थिए। ओलीले त रावललाई चुनाव लड्ने बाटो नै बन्द गरिदिए।

गएको आम निर्वाचनमा रावल अछाम-१ बाट प्रत्यक्ष चुनाव लड्न चाहन्थे। उनी तल्लाे कमिटीबाट सिफारिससमेत भएका थिए। तर ओलीले टिकट अर्कैलाई दिए। त्यसपछि रावल आक्रामक भए। उनले पत्रकार सम्मेलन नै गरेर ओलीले गरेका विगतका कुराको सविस्तार बताइदिए।

चुनावको समयमा गरिएका यस्ता कार्यले एमालेलाई घाटा हुने अनुमान थियो। यसको नतिजा स्वरूप रावललाई कारबाही गरिन सक्ने राजनीतिक वृतमा चर्चा पनि भयो। तर रावल पार्टी कारबाहीमा भने परेनन्।

रावल र ओलीबीच वाकयुद्व नै चल्यो। एकले अर्कालाई तल्लाेस्तरका गालीसमेत बर्साए। त्यो स्तरको गाली गलौजमा उत्रिएका दुवै नेता एकाएक वार्ताको टेबुलमा बस्नुलाई धेरैले सम्बन्ध सुधार भएको अनुमान गरेका छन्। दुवै नेताले पनि यसै भनेका छन्। एमाले मुख्यालय च्यासलमा भएको भेटवार्तापछि रावलले सकारात्मक छलफल भएको बताए।

रावल एमालेको १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग हारेका थिए। रावलले अध्यक्ष बन्न खोज्दा ओली आफै उम्मेदवार बनेका थिए। ओलीले ‘एकाधिकार’ जमाएर अध्यक्ष बनेको रावलको आरोप थियो।

रावलले एमाले महाधिवेशनप्रति पनि आलोचना गरेका थिए। यसअघि पनि रावल र ओली भिन्नाभिन्नै गुटमा थिए। ९औँ महाधिवेशनमा माधव नेपाल गुटबाट रावल उपाध्यक्ष बनेका थिए भने ओली अर्कै गुटका नाइके थिए। नेपाल एमाले विभाजनमा लाग्दा रावल भने एमालेमै रहे।

के विषयमा भयो छलफल?

च्यासलमा बेलुका झन्डै २ घन्टा ओली-रावल छलफलमा जुटेका थिए। रावलकै भनाइमा छलफलमा पार्टी र देश/विदेशका विषयमा गफ भएको थियो।

ओली निकट एमाले नेता विशाल भट्टराईका अनुसार दुवै नेताबीच विगतका कुरालाई बिर्सेर अघि बढ्नुपर्ने सहमति भएको छ। ‘सक्रिय राजनीतिमा फर्किनुपर्छ। साथ नछाडौँ भन्ने विषयमा छलफल भयो,’ उनले भने।

रावल निकट एकिन्द्र कुँवरका अनुसार दुई नेताबीच पार्टी जीवनको विषयमा छलफल भएको र साथसाथ अघि बढ्नुपर्नेमा कुराकानी भयो। छलफलमा ओली नम्र स्वाभावमा प्रस्तुत भएका थिए। उनले रावललाई पछिल्ला गतिविधिका विषयमा सोधे र गृहजिल्ला अछामका विषयमा चासो दिएका थिए।

भेटपछि रावलले पनि राजनीतिक परिदृश्य सकारात्मक भएको बताएका छन्।

के एमाले रावललाई सक्रिय बनाउन चाहन्छ?

ओलीले रावललाई सक्रिय राजनीतिमा फर्किन अनुरोध गरेका थिए। हुन त केही साताअघि बाटै रावल राजनीतिक कार्यक्रममा संलग्न छन्। गृह जिल्ला अछामकाे पार्टीका विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेका छन्। तर उनलाई जिम्मेवारी दिइएको छैन। उनी अहिले एमालेको क्रियाशिल सदस्य मात्र छन्। यस विषयमा पनि ओली-रावलबीच छलफल भएको छ।

छलफलमा ओलीले रावललाई सल्लाहकारको भूमिकामा आउन अनुरोध गरेको ओली निकट एक नेताले बताए। यद्यपि रावल सचिवालयले भने सोही कुरा मान्न तयार छैन। ओलीसँग अहिले नै कुनै पदका विषयमा छलफल नभएको सचिवालयको दाबी छ।  रावल ओलीले दिएकाे भूमिकामा फर्किन तयार हुन्छन्/हुँदैनन् चासोकै विषय हाे।

रावल पार्टीमा दोस्रो दर्जाको नेता बन्न चाहन्छन्। अध्यक्षमा पराजित व्यक्ति वरिष्ठ नेता बन्ने ‘नजिर’ रहेको दाबी रावलको छ। ओलीले सोही भूमिका दिन्छन् कि दिँदैनन् हेर्न बाँकी छ। तर एमाले नेता विशाल भट्टराई भने अहिले नै छलफलकाे विषय पदमा नपुगेको दाबी गर्छन्।

‘दुवैबीच छलफल भएको हो। पदका विषयमा भएन,’ भट्टराईले हिमाल प्रेससँग भने,‘यस विषयमा चरणबद्ध बैठक बस्ने सहमति भएको छ।’ अब भने ओली र रावलबीच पदीय दरारता बढ्ने देखिन्छ। एमालेमा सल्लाहकार पद निष्कृय राजनीति गर्नेलाई दिने गरिन्छ।

७० वर्षे हदम्याद हुँदा पार्टी पदाधिकारीमा ७० सम्मकालाई मौका र सल्लाहकारमा ७० माथिकालाई दिने चलन थियो। तर ओलीले सल्लाहकार नै दिन खोज्नुले रावलसँग दरारपन बढ्न सक्ने अनुमान छ। यता रावल पक्ष भने अब सम्बन्ध नबिग्रिने र थप सुधार हुँदै जाने दाबी गर्छ।

कार्यदलले बनाएको वातावरण

प्रतिनिधिसभा निर्वाचनमा अछामबाट टिकट नपाएपछि ओली-रावल सम्बन्ध बिग्रिएको थियाे। सुधारका लागि गत चैत १८ गतेको एमाले सचिवालय बैठकले रावलसँग छलफल गर्न पार्टी उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको समिति गठन गरेको थियो। समितिमा सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा सदस्य छन्।

वार्ता समितिले पार्टी मुख्यालय च्यासलमा वैशाख ३ गते रावलसँग दुई घण्टा छलफल गर्‍यो। दुवै पक्षले छलफल सकारात्मक रहेको बताए। त्यही वार्ताबाट रावल एमालेसँग नजिकिएका थिए। त्यसअघि रावल एमाले मुख्यालय आउनै छाडेका थिए। तर एकाएक मुख्यालय आएर छलफल गर्नुलाई उपलब्धि मानिएको थियो।

दुवैबाट आत्मासमीक्षा 

सबै पक्ष सकारात्मक दिशामा हिँडेकाले सम्बन्ध सुमधुर बन्दै गएको बताइएकाे छ। पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा एमालेको सरकार ढलेपछि ओली लचक भएको ओली निकट नेताहरू बताउँछन्।

ओलीले माओवादीसँग गठबन्धन गर्दै सुदूरपश्चिम प्रदेश आफ्नो भागमा पारेका थिए। रावललाई सुदूरपश्चिमकाे राजनीतिमा प्रभावशाली हुन नदिन एमालेले राजेन्द्रसिंह रावललाई मुख्यमन्त्री बनाएकाे थियाे। आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका ओलीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिच्क्याउन चाहेनन्। अनि मुख्यमन्त्रीको जिम्मेवारी पाए एमालेका राजेन्द्रसिंह रावलले।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा सुदूरपश्चिममा एमालेका २४ सांसद थिए। यसपटक १० सांसद छन्। सुदूरपश्चिममा कांग्रेस १९ सिटसहित पहिलो, माओवादी ११ सिटसहित दोस्रो हुँदा एमाले तेस्रो दल बनेको छ।

५३ सदस्यीय प्रदेशसभामा कुनै दलले पनि बहुमत नल्याएपछि एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका सात, राप्रपाका एक जना मिलेर सरकार बन्यो। तर विश्वासको मत नपाउँदा रावलको मुख्यमन्त्री पद गयो।

प्रकाशित: ३१ साउन २०८० १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =