सैनिक कल्याणकारी कोषको सम्पत्ति ७७ अर्बभन्दा बढी

हिमाल प्रेस २५ साउन २०८० १५:१३
4
SHARES
सैनिक कल्याणकारी कोषको सम्पत्ति ७७ अर्बभन्दा बढी जंगी अड्डा

काठमाडौँ- सैनिक कल्याणकारी कोषको कुल सम्पति ७७ अर्ब ६१ करोड एक लाख रुपैयाँ पुगेको छ। उक्त रकममध्ये ७१ अर्ब ५ करोड ६१ लाख रुपैयाँ विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी गराइएको हो।

बाँकी ६ अर्ब ५५ करोड ४० लाख रुपैयाँ कोष मातहतका विभिन्न निकायमा लगानी रहेको सेनाले जानकारी दिएको छ। सेनाका बहालबाला, भूतपूर्वक सैनिक, सकलदर्जा तथा आश्रितसमेत गरी करिब १० लाखको संख्यामा रहेका हिताधिकारीलाई उक्त रकमको ब्याजबाट शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत दिँदै आएको सेनाको भनाइ छ।

कोषमार्फत सञ्चालनमा रहेका ती कार्यक्रमलाई थप प्रभावकारी र प्रतिफलमूलक बनाउन समयानुकूल विस्तारका कार्य भइरहेका छन्। नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त भएको एक करोड २४ लाख एक हजारबाट विसं २०३२ मा सैनिक कल्याणकारी कोष स्थापना गरिएको थियो।

कोषबाट सेनाका बहालवाला, अवकास प्राप्त सैनिक तथा आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत, बिमालगायत सीप तथा स्वरोगारजस्ता कार्यक्रम सञ्चालन हुँदैआएका छन्।

कोषको मुख्य आयस्रोत शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालय तथा महाविद्यालयबाट प्राप्त हुने शुल्क हो। राष्ट्रसंघको आह्वानमा विश्वशान्तिमा धेरै सेना पठाउने मुलुकको बरियातमा नेपाल दोस्रो नम्बरमा छ।

प्रकाशित: २५ साउन २०८० १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =