अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी मन्त्रिपरिषद्‌बाट स्वीकृत

हिमाल प्रेस २४ साउन २०८० १७:५०
16
SHARES
अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौँ- सरकारले राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले दरबन्दी स्वीकृत भएको जानकारी दिइन्।

उनका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आवश्यक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको हो।

यस्तै, बैठकले अमन चौधरी (अग्रवाल) र सोफिया रुथ भण्डारीले झुटा विवरण पेस गरी नागरिकता लिएको देखिएकाले नागरिकता रद्द गरी नेपाली नागरिकबाट हटाउने र संलग्न व्यक्तिहरुलाई कारबाही गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।

बैठकले उपराष्ट्रपति रामसहायप्रसाद यादवको चीन भ्रमण स्वीकृत गरेको छ। चीनको कुनमिङ सहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन उपराष्ट्रपतिको चीनको भ्रमण स्वीकृत भएको हो।

साथै, बैठकले भदौ १९ र २० गते स्विडेनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन प्रमुख निर्वाचन आयुक्तलाई स्वीकृति दिने, सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले बताइन्।

प्रकाशित: २४ साउन २०८० १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twenty =