कार्यसूचीमै प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित

हिमाल प्रेस २४ साउन २०८० १३:३३
8
SHARES
कार्यसूचीमै प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेका कारण प्रतिनिधिसभाको बुधबारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै एमालेले संसद् अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आगामी शुक्रबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्।

प्रतिनिधिसभाको बुधबार बैठक सुरु हुने बित्तिकै एमालेका सांसदहरू आसनबाट उठेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएका थिए। थापाले सुन तस्करीका सम्बन्धमा मंगलबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्ति ढाकछोप गर्ने खालको रहेको बताएका थिए। अविलम्ब उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग उनको थियो। सुन तस्करी भएको २२ दिन बित्दा पनि घटनाबारे सत्यतथ्य कुरा बाहिर ल्याउन नसकिएको थापाले बताए।
थापाले बोल्ने क्रममा सत्तापक्षीय सांसदहरूले पनि उठेर विरोध जनाएका थिए। सभामुखले थापाको बोल्ने समय सकिएको बताएपछि एमालेका सांसदहरूले रोस्ट्रम घेराउ गरेका हुन्। उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन्।
सभामुखले पटकपटक कार्यसूचीका बारेमा छलफल अघि बढाउन भन्दै सांसदहरूलाई आग्रह गरेका थिए। तर एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि सभामुख घिमिरेले बुधबारको कार्यसूचीमा राखिएका सबै विषयहरू हटाइएको जानकारी दिँदै बैठक स्थगित भएको घोषणा गरेका थिए।

प्रकाशित: २४ साउन २०८० १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =