गोली प्रहार गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ

हिमाल प्रेस १९ साउन २०८० १८:१४
22
SHARES
गोली प्रहार गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ सांकेतिक तस्बिर।

इटहरी- इटहरी–धरान सडकखण्डस्थित चारकोसे झाडीमा गत साउन ५ गते गोली प्रहार गरी हत्या घटनामा संलग्न थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। सेउती पुल नजिक भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका १ घर भई धरान ८ बस्ने ३० वर्षीय प्रकाश लिम्बू र विराटनगर महानगरपालिका १५ का ४१ वर्षीय अजयकुमार शर्मा रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ऋषिराम कँडेलले जानकारी दिए।

उनका अनुसार विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीलाई लुटेरा समूहले गोली हानी हत्या गरेको थियो। कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रदेश प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको कँडेलले जानकारी दिए।

पक्राउ परेका शर्मा घटनामा प्रयोग भएको हतियार बेचबिखनमा संलग्न रहेको तथा लागूऔषध मुद्दामा ४ वर्ष ८ महिना कैद भुक्तान गरी ४ महिनाअघि छुटेको व्यक्ति भएको प्रहरीले जनाएको छ।

प्रहरीले यसअघि मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भनिने दीपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ। पक्राउ परेका उनीहरूमाथि इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ साउन २०८० १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =