कर नतिर्ने ४७ व्यावसायिक फर्मका बैंक खाता रोक्का

हिमाल प्रेस ११ साउन २०८० १६:३१
26
SHARES
कर नतिर्ने ४७ व्यावसायिक फर्मका बैंक खाता रोक्का

तनहुँ- आन्तरिक राजस्व विभाग मातहतकाे दमाैली राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्क कर नबुझाएका व्यावसायिक फर्मका बैंक खाता रोक्का गरेको छ। गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यावसायिक फर्मको खाता रोक्का गरिएकाे हाे।

कार्यालयले गत वैशाख ५ गते पहिलोपटक सूचना प्रकाशित गरी १५ दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरेकाे थियाे। कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले सूचना जारी गरेपछि पनि रकम दाखिला नगर्ने व्यावसायिक फर्मका खाता राेक्का गरिएकाे जानकारी दिए।

व्यावसायीको आम्दानीको स्रोत खोजी गरी बक्यौता रकम दाखिला गराउने अभियानमा कार्यालय लागेको उनले बताए। उक्त कार्यबाट पनि बक्यौता रकम दाखिला गराउन नसके निजको चलअचल सम्पत्ति रोक्का गर्न सकिने प्रावधान रहेकाले सोही अनुसार बैंक खाता रोक्का गरिएको राईले बताए। उनका अनुसार तनहुँमा २८, लमजुङमा १३ र गोरखामा ६ व्यावसायिक फर्मको रकम बक्यौता छ।

१० अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन

कार्यालयले आर्थिक वर्ष २०७९/८० मा १० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय दमौलीले जानकारी दिएको छ। कार्यालयकाे राजस्व संकलनकाे लक्ष्य ११ अर्ब ७० करोड रुपैयाँ रहेकाे थियाे। लक्ष्य अनुरूप राजस्व संकलन नभएको कार्यालयका कर अधिकृत एवं सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए।

आर्थिक वर्ष २०७८/७९ मा ९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको उनले बताए। उनका अनुसार उक्त वर्ष ९ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

तनहुँमा ७२ हजार चार सय ४७ करदाता रहेका छन्। गत वर्षको तुलनामा करिब १० प्रतिशतका दरले करदाता वृद्वि भएको सूचना अधिकारी पौडेलले जानकारी दिए। पछिल्लाे समय नागरिकमा पान नंम्बर लिएर मात्रै कारोबार गर्नुपर्छ भन्ने सचेतनाको वृद्वि हुँदै गएकाले करदाताको संख्या बढेको कार्यालयकाे भनाइ छ। रासस

प्रकाशित: ११ साउन २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =