मधेश प्रदेश सांसदको एकाउन्टका लागि बैंक तोक्दा लफडा, सभा बैठक नै रोकियो

बैंक खाता खोल्दा कमिसन चलखेल गरेको आशंका

हिमाल प्रेस ३ फागुन २०७९ १७:०१
10
SHARES
मधेश प्रदेश सांसदको एकाउन्टका लागि बैंक तोक्दा लफडा, सभा बैठक नै रोकियो

जनकपुरधाम– मधेश प्रदेशसभामा प्रदेशसभा सदस्यहरूको तलब पठाउनका लागि खाता सञ्चालन गर्ने विषयमा मत विभाजन भएपछि त्यसको असर सदनको बैठकमासमेत परेको छ। प्रदेशसभामा प्रतिनधित्व गर्ने दलहरूबीच कुन बैंकमा खाता खोलाउने विषयमा मतान्तर देखिएपछि त्यसको असर प्रदेशसभा बैठकमा परेको हो।

केही दिनअगाडी मधेश प्रदेशको प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यहरूलाई एभरेष्ट बैंकमा खाता खोल्नका लागि मोबाइलमा म्यासेज गरेको थियो। तर बुधबार एकाएक एनएमबी बैंकमा खाता खोलाउन परिपत्र गरियो।

सोही विषयलाई लिएर एनएमबी बैंकका कर्मचारीहरूलाई बोलाइएको थियो। एनएमबी बैंकका कर्मचारीहरू सभामुख रामचन्द्र मण्डलसँग यस विषयमा छलफलसमेत गरेको एक प्रदेशसभा सदस्यले जानकारी दिए।

जबकि नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले आफ्नो अनुकुलको बैंकमा खाता खोलाउनु पर्ने माग गरेका थिए। कांग्रेसका प्रदेसभा सदस्यहरूलेसमेत मेगा बैंकका कर्मचारीहरूलाई छलफलका लागि बोलाएका थिए।

तर सभामुख मण्डलले अन्य बैंकका कर्मचारीहरूलाई प्रदेससभा परिसरमा छिर्न नदिन निर्देशन दिएपछि सुरक्षाकर्मीहरूले मेगा बैंकका कर्मचारीहरूलाई छिर्न दिएनन्।

सोही विषयलाई लिएर नेपाली कांग्रेसका प्रदेसभा सदस्यहरूले बैठक अवरुद्धसमेत पारेका थिए। कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले आफूहरूले बोलाएको अतिथिलाई प्रवेश गर्न नदिएको भन्दै प्रदेससभा बैठक अवरुद्ध पारेका छन्।

सोही क्रममा सभामुख मण्डलले अराजकता र व्यापार गर्न आउनेलाई मात्रै प्रवेशमा रोक लगाएको स्पष्ट पारेका थिए। उनले सभामुखकै आसनबाटै भने ‘बम लिएर प्रदेशसभा परिसरमा प्रवेश गर्न आउनेलाई के गर्ने?’

सभामुखको यो वक्तव्यको प्रतिकार गर्दै कांग्रेस सांसद जिवछी यादवले सभामुखजस्तो गरिमामय पदमा बसेकाले यस्तो अमर्यादित वक्तव्य दिनु अशोभनीय रहेको भन्दै प्रतिप्रश्न गरिन्।

यता प्रदेशसभामा खाता खोलाउने विषयलाई लिएर भएको विवादलाई केही प्रदेशसभा सदस्यहरूले कमिशनको चक्कर हुन सक्ने आशंका व्यक्त गरेका छन्।

                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          तस्बिरहरू- नेहा झा/हिमाल प्रेस
प्रकाशित: ३ फागुन २०७९ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =