नेप्से परिसूचक ४७ अंकले बढ्यो, कारोबार रकम भने औसत

हिमाल प्रेस १ साउन २०८० १५:३१
4
SHARES
नेप्से परिसूचक ४७ अंकले बढ्यो, कारोबार रकम भने औसत

काठमाडौँ- नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से) ४७ अंकले उकालो लागेको छ। भारी अंकले बढेको नेप्से परिसूचक २१४४ बिन्दुमा पुगेको छ। परिसूचकले छलाङ मारे पनि कारोबार रकम भने औसत रहेको छ।

साेमबार कुल कारोबार २ अर्ब ५६ करोडमा सीमित रह्यो। कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट पहिलो नम्बरमा रह्यो। यसको १४ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजदेखि बैंक तथा वित्तीय संस्थाले आआफ्नो छुट्टै ब्याजदर लागू गरेका छन्। प्रतिस्पर्धी ब्याजदर ल्याएका बैंकहरूमध्ये अधिकांशले ब्याज घटाएका छन्। बैंकहरूसँग प्रशस्त निक्षेप रहेको र ब्याजदर पनि घट्दो क्रममा रहेकाले लगानीकर्ताहरू सेयर बजारतिर आउन सक्ने जानकारहरूको आकलन छ।

राष्ट्र बैंक नयाँ आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तरखरमा रहेकाले लगानीकर्ताहरू ‘पर्ख र हेर’को स्थितिमा रहेको सेयर कारोबार रकमले देखाएको छ। आज बीपीडब्लू लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

सोमबार सामूहिक लगानी कोष उपसमूहको सूचक ०.०७ प्रतिशतले घटेको छ। बाँकी सबै उपसमूहको सूचक बढ्यो। आज विकास बैंक, फाइनान्स, बैंकिङ, होटल तथा पर्यटनलगायत क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ।

प्रकाशित: १ साउन २०८० १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =