भजनी बाढीपीडित : नगरपालिकाकाे सहयाेगमा १६ परिवारले घर पाउँदै

हिमाल प्रेस २८ असार २०८० १५:१८
6
SHARES
भजनी बाढीपीडित : नगरपालिकाकाे सहयाेगमा १६ परिवारले घर पाउँदै

कैलाली- कैलालीको भजनी नगरपालिका-५ पलियापुरमा नगरपालिका, दिगो विकास समाज र जनश्रमदानबाट बाढी प्रभावितका लागि सुरक्षित घर निर्माण गरिएका छन्।

भजनीकाे सबैभन्दा बाढी प्रभावित क्षेत्र पलियापुरका बाढीपीडितलाई ती घर उपलब्ध गराइएकाे छ। बाढीपीडित उक्त घरहरूमा चाँडै सर्ने तयारीमा छन्। अहिलेसम्म त्रिपालकाे छानाे बनाएर बसिरहेका उनीहरू नयाँ घरमा सर्ने भएसँगै खुसी भएका छन्।

नगरपालिका दिगो विकास समाज र जनश्रमदान गरी ९५ लाख ४६ हजार ९ सय बराबरको लगानीमा बाढी प्रभावित १६ परिवारका लागि घर निर्माण गरिएका छन्।

नगरपालिकाले ४० लाख रुपैयाँ र दिगो विकास समाजले ३२ लाख रुपैयाँ लगानी गरी ती घर बनाइएका नगरपालिकाले जानकारी दिएकाे छ।

भजनी नगरपालिका-५ का मोतीराम भण्डारीको परिवार यतिबेला हुलाकी सडक छेउमा त्रिपालको भर असुरक्षित घरमा बसिरहेको छ।

एक-दुई दिनमा मोतीरामकाे परिवार नयाँ निर्मित आवासमा बस्ने तयारीमा छ। नयाँ आवासमा सरेपछि हुलाकीमा वर्षायामको पाँच-छ महिना बिताउनु नपर्ने भन्दै उनी खुसी छन्।

नगरपालिका र दिगो विकास समाजको आर्थिक सहयोगमा जमिनको सतहदेखि ६ फिट अग्लो घर निर्माण गरिएकाे मोतिरामले बताए। ‘यस वर्ष सडकमा जानुपर्दैन। घरभित्र पानी पस्ने छैन।

परिवार र खाद्यान्न सुरक्षित हुन्छन्,’ उनले भने,  ‘बल्ल स्थानीय सरकार भएकाे अनुभूति भएको छ। हाम्रो वर्षौँदेखिको समस्या समाधान भएको छ।’

सोही ठाउँका राज विक अहिले घर निर्माणमै व्यस्त छन्। घर निर्माण सम्पन्न गरेर यसै वर्ष नयाँ घरमा सर्ने रहर उनकाे छ। ‘हुलाकी सडकमा भोकभोकै बस्नुको पीडा हाम्रा लागि खत बनेर बसेको छ। त्यो पीडा कहिल्यै भुल्ने छैनौँ,’ विकले भने, ‘त्रिपालको सहायतामा सडकमा बस्ने दिनको अन्त्य हुँदैछ। घर बनेपछि बाढीबाट हुने क्षति कम हुनेमा विश्वस्त छौँ।’

उनले नगरपालिकाकाे सहयोगमा आवास निर्माण गरिरहेको बताए। आवास निर्माण भइसके पनि शौचालय र खानेपानीको भने समस्या पाे हुन्छ कि भन्ने उनकाे चिन्ता छ। ‘आवास निर्माण गर्दा शौचालय निर्माण गरिएको छैन। खानेपानीका हाते नल्कामा बाढीले क्षति पुर्‍याउँछ,’ उनले भने, ‘खानेपानीका लागि उचाइ बढी बनाएर व्यवस्थित धारा जडान गर्नुपर्ने हुन्छ।’

वर्षामा शौचालय र खानेपानीको समस्या हुने सोही ठाउँकी सरिता टमटाले बताइन्। बर्खामा किराफट्याङ्ग्राको जोखिमबाट बचिने उनले बताइन्।

बालबालिका बाढी र डुबानबाट सुरक्षित हुने भएका छन्। घर निर्माण भएको क्षेत्रबाट बाहिर जान डुंगा आवश्यक पर्छ। यहाँ नदी बग्छ। त्यही भएर उनलाई पनि खानेपानी र शौचालयका लागि कता जाने भन्ने चिन्ता छ।

नयाँ आवासमा खाद्यान्न सुरक्षित राख्न सकिने भएपछि लालबहादुर कामीकाे चिन्ता कम भएकाे छ। बर्खा लागेसँगै घरमा भएको अन्न तथा अन्य खाद्यान्न आफन्तकाेमा सार्नुपर्ने बाध्यता यस वर्षदेखि अन्त्य हुने उनी बताउँछन्। ‘बर्सेनि आउने बाढी र डुबानबाट सुरक्षित राख्न हामीले केही सामान आफन्तकामा राख्दै आएका थियौँ। आफन्तकामा राखिएका सामान पनि बाढीबाट सुरक्षित हुँदैनथ्यो,’ लालबहादुरले भने, ‘यस वर्ष आफ्नै घरमा खाद्यान्न सुरक्षित हुने भयो। हामी सुरक्षित हुने भयौँ।’

भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले नगरपालिकाले पाँच वर्षमा ५० वटा सुरक्षित आवास निर्माण गर्ने लक्ष्य राखिएकाे बताए। बाढी र डुबानको बढी जोखिम हुने क्षेत्रका नागरिकको सुरक्षाका लागि दातृ संस्थासँग समन्वय गरी सुरक्षित आवास निर्माण थालिएको उनले बताए। ‘चालू आर्थिक वर्षमा १६ घर निर्माण भएका छन्। शौचालय, खानेपानी लगायतको काम बाँकी छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षमा बाँकी काम पूरा गर्ने योजना बनाएका छौँ।’

बाँकी जोखिम भएका क्षेत्रमा पनि आवास निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख चाैधरीकाे भनाइ छ। यसका लागि दातृ संस्थासँग निरन्तर समन्वय गरिने र कान्द्रा नदीलाई नियन्त्रण गर्न नसकेसम्म भजनीलाई डुबानबाट जोगाउन नसकिने उनकाे भनाइ छ।

‘हाम्रो पीडा कान्द्रा हो। कान्द्रा नियन्त्रण गर्नसके आधा दुख सकिन्छ,’ नगर प्रमुख चौधरीले भने, ‘त्यसका लागि हाम्रो बजेटले पुग्दैन। प्रदेश र संघीय  सरकारले अपेक्षित सहयोग गरेको छैन। टुक्रे बजेटले कान्द्रा नियन्त्रण गर्न सकिँदैन।’

भजनी नगरपालिकाका विभिन्न ठाउँमा २०६५ सालमा आएको बाढीले धेरैको घर बगाएको थियो। त्यसयता पनि पटकपटक आएको बाढीले धेरैकाे घर बगाएपछि अधिकांश स्थानीय जंगलमा कच्ची घर बनाएर बस्दै आएका छन्। रासस

प्रकाशित: २८ असार २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =