सरकारले मेलम्ची बाढीपीडितको समस्या समाधान गर्छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस २ असार २०८० १२:०४
8
SHARES
सरकारले मेलम्ची बाढीपीडितको समस्या समाधान गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची नदीमा आएको बाढीले बनाएका पीडितहरूको समस्या समाधान गर्ने बताएका छन्।

मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि शनिबार (आज) सिन्धुपाल्चोकको मेलम्ची पुगेका उनले पीडितहरूसमक्ष यस्तो बताएका हुन्।

खानेपानी मन्त्री महिन्द्र राय यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतका साथमा स्थलगत भ्रमण गरेका उनले बाढीपीडितहरूको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले स्थानीय पदाधिकारी र पीडितका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।

०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो। सोही बाढी पहिरोले यसक्षेत्र वरपरका सयौं घर परिवारमा क्षति गरेको थियो।

बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना सञ्चालन गरिए पनि पीडितहरूले सरकारबाट राहत पाउन सकेका छैनन्। पीडितहरू अझै पनि अस्थयी टहरामै बस्न बाध्य छन्।

०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रूपमा उपत्यकामा वितरण थालिएको थियो।

काठमाडौँ उपत्यकामा खानेपानी अभाव समाधानका लागि ०४८ सालमा मेलम्ची खानेपानी आयोजना निर्माण सुरु गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =