गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन ठूलो संघर्ष गरेको प्रधानमन्त्रीको दाबी

हिमाल प्रेस ३० असोज २०८० ११:०१
2
SHARE
गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन ठूलो संघर्ष गरेको प्रधानमन्त्रीको दाबी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै ठूलो संघर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले यसलाई निकै ठूलो उपलब्धिका रूपमा लिएका हुन्।

‘नेपालको संविधानमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो संघर्ष र पहल गरेको छु। त्यसकै बलमा तपाईँहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ’, प्रचण्डले भने।

आफ्नो नेतृत्वको नयाँ सरकारको आग्रहअनुसार राष्ट्रपतिबाट नागरिकता विधेयक सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको दाबी प्रधानमन्त्रीको छ।

गैरआवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवाललाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरिएको उल्लेख गर्दै उहाँले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड कायम गरिएको बताए। ‘धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ।

यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको छ’, प्रधानमन्त्रीले भने, ‘यो एउटा ऐतिहासिक काम भएको छ। अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसकेका छन्। आगामी दिनमा यो सङ्ख्या अरु बढ्ने हाम्रो विश्वास छ।’

प्रचण्डले नेपालले गैरआवासीय नेपालीबाट धेरै अपेक्षा गरेको बताए। सरकारले संघको स्थापनाकालदेखि नै सहकार्य गर्दै आएको जनाउँदै प्रचण्डले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम घोषणा गरिएको बताए।

संघका कार्यकारी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेसँगै ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अभियान सार्थक भएको बताए।

अध्यक्ष कुल आचार्यले मुलुकको विकासमा ‘डास्पोरा’को महत्त्वपूर्ण भूमिका रहेको बताए। संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता कागजको टुक्रोमात्र नभई गैरआवासीय नेपालीको मुटुको अंश भएको बताए।

प्रकाशित: ३० असोज २०८० ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =