यस्ता छन् प्रधानमन्त्री प्रचण्डले कांग्रेसमाथि लगाएको आरोप

हिमाल प्रेस ३० फागुन २०८० १३:०३
36
SHARES
यस्ता छन् प्रधानमन्त्री प्रचण्डले कांग्रेसमाथि लगाएको आरोप प्रतिनिधिसभाको बुधबार बसेको बैठक। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई विभिन्न आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा बुधबार विश्वासको मतको प्रस्ताव गर्ने क्रममा प्रधानमन्त्री प्रचण्ड प्रमुख प्रतिपक्षी कांग्रेसमाथि खनिएका हुन्।

उनले नेपाली कांग्रेसका एक नेताले विगतमा संसद्को रोस्ट्रममा उभिएर मलाई राजनेता घोषणा गरे पनि अहिले विश्वासघाती र धोकेबाज भनेको आरोप लगाए। प्रचण्डले भने, ‘राजनेता मेरो त्यो पदवी अहिले पनि सम्मानित संसदको रेकर्डमा सुरक्षित छ। त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठूलो विश्वासघाती र धोकेबाज भएको छ।’

यसैगरी कांग्रेसभित्रका विचार समूहहरूले युद्धविराम गरेर आफूप्रतिको निन्दा अभियानमा प्रतिस्पर्धा गरिरहेको आरोप प्रचण्डको छ। पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आफू आजित भएको प्रचण्डले बताए। उनले भने, ‘म आज कांग्रेसभित्रको आन्तरिक एकत्वको कारक बन्न पाएकोमा खुसी नै छु। साथीहरूलाई आग्रह छ, यो युद्धविरामलाई स्थायी शान्तिमा बदल्नुस् र नेपाली कांग्रेसलाई एकीकृत गर्नुस्।’

यसैगरी प्रचण्डले विगतमा आफू नेपाली कांग्रेसको समर्थनमा एकपटक मात्र प्रधानमन्त्री भएको तर माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुईपटक प्रधानमन्त्री बनेको बताए। उनले आफूले राजनीतिक सहमतिको पूर्ण पालना गर्दै प्रधानमन्त्री पद नेपाली कांग्रेसलाई हस्तान्तरण गरे पनि कांग्रेसले प्रधानमन्त्रीमा आफूलाई दिएको वचनमा विश्वासघात भएको बताए।

प्रचण्डले भने, ‘आज मलाई गाली गरिरहेका साथीहरूलाई म सोध्छु, मैले कहिल्यै यो संसद र बाहिर धोकाको शोकगीत गाएँ? मैले कहिल्यै कसैलाई आरोप लगाएँ? मैले कहिल्यै कुनै कार्यक्रममा नेपाली कांग्रेसका साथीहरूको मानमर्दन गरेँ? गरिनँ।’

आफूले बरु राष्ट्रिय सहमतिको आधार तयार गर्न नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गरेको प्रचण्डको भनाइ छ। उनले भने, ‘मलाई प्रधानमन्त्री बनाएको गठबन्धनमा अविश्वास पैदा भयो। धोकाको आरोप बरु मलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका दलहरूले लगाउन मिल्छ, नेपाली कांग्रेसले मिल्दैन।’

धोकाकै कुरा गर्ने हो भने आफूसँग लामो फेहरिस्त रहेको प्रचण्डले बताए। माओवादीले मुख्यमन्त्री पाउने सहमति भइसकेको कोशी प्रदेशमा कांग्रेसको एउटा समूहको विद्रोह र पार्टी केन्द्रबाट त्यसको अनुमोदन माओवादीका लागि धोका थियो कि थिएन? भन्ने प्रश्न प्रचण्डको छ।

उनले भने, ‘राष्ट्रियसभा निर्वाचनमा माओवादी उम्मेदवारमाथिको अन्तरघात धोका थियो कि प्रेम? महासमिति बैठकमा विना सन्दर्भ गठबन्धनको निन्दा र भत्र्सना सहयात्रीको अवमूल्यन हो कि होइन? महासमिति बैठकमा धर्मका नाममा हस्ताक्षर अभियान र त्यसलाई नेतृत्वको संरक्षण संविधानमाथिकै धोका हो कि होइन?’

प्रकाशित: ३० फागुन २०८० १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =