पानी पर्नासाथ झस्किन्छन् ढोरपाटनका बाढीपीडित

हिमाल प्रेस २४ जेठ २०८० ८:३३
12
SHARES
पानी पर्नासाथ झस्किन्छन् ढोरपाटनका बाढीपीडित फाइल तस्बिर।

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा ०७७ भदौ १७ गते भीषण बाढी आयो। बाढीले सयौं परिवार घरबारविहीन बनायो। बाढीमा परेका १५ जना अझै बेपत्ता छन्। ३ वर्ष अघिको बाढीले स्थानीयलाई भने अझै झस्काइरहन्छ।

पानी पर्‍यो भने स्थानीय राति उठेर खोलामा बहाव के कति छ भनेर हेर्न पुग्छन्। उनीहरू त्रासमा बाँचिरहेका छन्।

‘त्यो रात सम्झिँदा पनि मुर्छा पर्छु, अहिले त आकाश गड्याङगुडुङ गर्दा पनि झस्किन्छु,’ सम्पत्ति र आफन्त गुमाएका निमप्रकाश विकले भने।

बाढीबाट विकले २५ वर्षीया श्रीमती चनी, नौ वर्षीय जेठो छोरो, २ वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरो गुमाएका थिए। भएभरको जायजेथा सबै बाढीले बगाएको थियो। परिवारका सबै सदस्यलाई बाढीले बगाएपछि विक अहिले एक्ला छन्। उनी अहिले ढोरपाटन-९ सुप्राङमा बसेका छन्।

‘पानी पर्दा जागराम बस्नु पर्ने अवस्था छ,’ उनले भने। बाढी आएको रात आफू बुकीमा पूजा गर्न गएकाले ज्यान जोगिएको विक बताउनुहुन्छ। बाढीले सबै बगाउँदा उनसित अब गरिखाने जग्गा छैन। नगरपालिका तथा विभिन्न संघ संस्थाबाट प्राप्त सहयोगले घर बनाएको उनको भनाइ छ।

‘जसोतसो दैनिकी चलिरहेको छ, जग्गा भए खेती किसानी गरेर खान पाइन्थ्यो,’ उनले भने।

सोही बाढीमा ढोरपाटन-९ का कुलबहादुर विकले परिवारका ४ सदस्य गुमाए। बाढीले उनको घरजग्गासहित २२ वर्षीय जेठो छोरो, २१ वर्षीया बुहारी, १८ वर्षीया छोरी र ४ वर्षीया नातिनी बगाएको थियो। घरबारविहीन भएपछि उन लामो समय माइतीको आश्रयमा बसे।

‘अहिले ऋण गरेर ढोरपाटनमा घर बनाएको छु,’ उनले भने। बाढी आएको बेला विक श्रीमती, कान्छो छोरा र २ बहिनी छोरीसहित गाउँमाथिको बारीमा गएका थिए।

‘दुम्सीले मकै खाएर हैरान पारेको थियो, बारीमा दुम्सी लखेट्न गएका थियौं, त्यही गोठमा बस्यौं,’ उनले भने, ‘त्यो दिनको सम्झनाले अझै तर्साइरहन्छ।’

बाढीले ढोरपाटन-६, ७, ८ र ९ का एक सय ३१ घरमा क्षति पुर्‍याएको थियो। एघार जलविद्युत आयोजनाको विद्युतगृह तथा नहर, एउटा स्वास्थ्य एकाइ, ११ झोलुंगे पुल, ५ ढलान पुल, १० काठेपुल र २ विद्यालयसमेत बगाएको थियो।

प्रकाशित: २४ जेठ २०८० ८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =