महामन्त्री शर्माले भने : जिल्ला सभापति भेलाबारे पार्टी सभापतिलाई जानकारी गराएका छौँ

हिमाल प्रेस २२ असार २०८० १६:१५
34
SHARES
महामन्त्री शर्माले भने : जिल्ला सभापति भेलाबारे पार्टी सभापतिलाई जानकारी गराएका छौँ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूको जारी भेलाबारे पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराएको बताएका छन्। सभापतिलाई जानकारी नगराइ महामन्त्रीद्वयले छलफल राखेको ‍भन्दै प्रश्न उठेपछि शर्माले पार्टीको विधानअनुसार भेला डाकिएको र सभापतिलाई जानकारी दिइएको बताएका हुन्।

उनले महामन्त्रीहरूले केही गरेनन् भनेर प्रश्न गर्नेहरूले नै अहिले छलफल गरेर पार्टी चलायमान बनाउन खोज्दा किन गरेको भन्न थालेको पनि बताए।

शर्माले भने’महामन्त्रीहरूले बैठक नबोलाउँदा किन नगर्ने भनियो अहिले विधानले दिएको व्यवस्थाअनुसार बोलाउन किन बोलाएको भनियो। जिल्ला सभापतिहरूको भेला पार्टी सभापतिलाई जानकारी नदिइकन गरियो भन्ने कुरा बेकारको कुरा हो। सभापतिलाई थाहा नभइकन यस प्रकारको भेला भएको होइन।’

उनले विगतमा हुने भेला र यसपटकको भेलामा भिन्नता भएको पनि दाबी गरे। विगतको समयमा विभिन्न होटलहरूमा भेला डाकेर नेतृत्वविरुद्ध एक धारणा सार्वजनिक हुने गरेको भन्दै उनले अहिले पार्टी कार्यालयमा पार्टी कसरी बलियो बनाउने भन्नेबारे छलफल भइरहेको बताए।

‘सभापतिसँग कतिपय विषयमा फरक मत हुँदै गर्दा विगतको प्रचलन भनेको होटलमा भेला गर्ने र सभापतिको विरुद्ध एक प्रकारको धारणाहरु सार्वजनिक गर्ने हुने गरेको थियो। अहिले सभापतिहरुको भेला केन्द्रीय कार्यालयमा भइरहेको छ,’ उनले भने, ‘पार्टीको क्रियाशील सदस्यहरूलाई कसरी व्यवस्थित बनाउने, सबै तहको सम्मेलनहरू गरेर जाने भन्ने विषयमा कुरा भएको छ। यसमा कसैले पनि आशंका गर्नु पर्दैन। यस भेलामा क्रियाशील सदस्य र पार्टी संगठकको सम्मेलनको विषयमा छलफल भएको छ।’

 

प्रकाशित: २२ असार २०८० १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =