तलब नपाएपछि क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

हिमाल प्रेस २० असार २०८० १३:०८
1.2k
SHARES
तलब नपाएपछि क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित फाइल तस्बिर

चितवन– तीन महिनादेखि तलब नपाएपछि भरतपुरस्थित बीपी कोइराला मेमेरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन्। तलब नपाउँदा जीवन निर्वाह गर्न समस्या भएपछि कर्मचारीहरूले बुधबारदेखि विरोधका कार्यक्रम सुरु गरेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका पूर्वसचिव विकास धितालले जानकारी दिए। यस क्रममा कर्मचारीले प्रशासनिक भवनमा केही बेर धर्ना दिएका थिए।

मुख्यतः पुस्करबाबु त्रिपाठी र विकाश धितालको सहयोगमा बुधबार सांकेतिक रुपमा धर्ना कार्यक्रम सुरु भएको थियो। यस क्रममा सबै विभाग, तह र पेसाका कर्मचारीहरुले प्रशासनिक भवनमा केहीबेर धर्ना दिएका थिए।

अस्पतालमा कर्मचारीले तलब मात्र नपाएका हैनन् सामान खरिद प्रक्रिया पनि ठप्प छ। समस्या समाधानका लागि अध्यक्ष विजय न्यौपानेले कुनै पहल नगरेको कर्मचारीको आरोप छ। उनीहरूका अनुसार अध्यक्ष न्यौपाने बिहान १० बजे कार्यालयमा हाजिर हुने र ५ बजे फर्कने गरेका छन्।

एक कर्मचारीले भने, ‘अध्यक्षज्यू बिहान १० बजे कार्यकक्षमा हाजिर हुनुहुन्छ। अनि आफू निकटका व्यक्ति जम्मा गर्नुहुन्छ। कफी खाएर पाँच बजे कार्यालयबाट फर्कनु हुन्छ।’

तीन महिनादेखि तलब नपाउँदा ज्यालादारीमा कार्यरत कर्मचारी बढी नै मर्कामा परेका छन्। कर्मचारीहरूले बुधबार सांकेतिक रूपमा विरोधका कार्यक्रम गरेका हुन्।

बिहीबार कलम बन्द गर्ने तयारी छ भने शुक्रबार हाजिर गर्न रोक लगाइने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ। धितालले भने, ‘तलब नपाएपछि कर्मचारीहरू आक्रोशित छन्। तत्काल माग पूरा नभए  विरोधका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी छ।’

प्रकाशित: २० असार २०८० १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =