लचिलो मौद्रिक नीति ल्याउन गभर्नरलाई सीएनआईको सुझाव

हिमाल प्रेस १७ असार २०८० १८:५४
4
SHARES
लचिलो मौद्रिक नीति ल्याउन गभर्नरलाई सीएनआईको सुझाव

काठमाडौँ- नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीबीच छलफल भएको छ। परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार गभर्नर अधिकारीसँग वर्तमान आर्थिक अवस्थाबारे छलफल गरेको हो।

छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताएका थिए। ‘पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना स्थगित भयो,’ उनले भने, ‘हाल तरलता पर्याप्त भए पनि कर्जाको उच्च ब्याज तथा चालु पुँजी कर्जाका विभिन्न प्रावधानका कारणले कर्जा लिन सकिएको छैन।’

अग्रवालले आगामी आर्थिक वर्षमा सरकारले राखेको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले खुकुलो मौद्रिक नीतिको अपेक्षा गरेको बताए। अग्रवालले भने, ‘लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा कम्तीमा १२ प्रतिशतले बढाउनुपर्छ।’ अध्यक्ष अग्रवालले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन उत्पादनमूलक क्षेत्रमा जाने कर्जाको ब्याजदर कम हुनुपर्ने धारणासमेत राखे।

छलफलमा गभर्नर अधिकारीले मूल्यवृद्धि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाबमा सजग भएर मौद्रिक नीति ल्याइने बताए। अधिकारीले भने, ‘आन्तरिक र बाह्य दुवै क्षेत्रलाई हेरेर नीति बनाउनुपर्ने आवश्यकता छ। त्यसैले परिस्थिति हेरेर सोही अनुरूपको योजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =