नेपाल उद्योग परिसंघ र अमेरिकन चेम्बर अफ कमर्सबीच लगानी अभिवृद्धिको सहकार्य

हिमाल प्रेस १८ पुष २०८० १३:५०
2
SHARE
नेपाल उद्योग परिसंघ र अमेरिकन चेम्बर अफ कमर्सबीच लगानी अभिवृद्धिको सहकार्य

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)बीच लगानी अभिवृद्धिको सहकार्य भएको छ।

समझदारीपत्रमा हस्ताक्षर गर्दै दुवै संस्थाले नेपाल र अमेरिकाबीच व्यवसायिक वातावरण सुदृढ बनाउने प्रतिबद्धता जनाएका हुन्। यस समझदारीअनुसार दुई संस्थाले नेपाल र अमेरिकाका उद्यमीबीच सम्पर्क बिन्दुको रूपमा कार्य गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्ताहरूलाई लगानीसम्बन्धी जानकारी दिने, पारस्परिक उद्देश्यहरू पूरा गर्न नीतिगत सुधारको वकालत गर्ने र नेपालमा अमेरिकी लगानी बढाउन रणनीतिक गतिविधि सञ्चालन गर्नेछन्।

बजारमा आधारित वित्तीय र गैरवित्तीय सेवामा पहुँच वृद्धि गर्दै आईटी क्षेत्रका लागि लगानी र व्यवसाय वातावरण सुधारमा काम गर्ने पनि समझदारीपत्रमा उल्लेख छ। मंगलबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

परिसंघका अध्यक्ष अग्रवालले यो सहकार्यले नेपाल र अमेरिकालाई व्यवसायिक रूपमा जोड्न पुलको काम गर्ने बताए। उनले भने, ‘यो सहकार्यले ज्ञान सीपको आदानप्रदान, नवप्रवर्तन तथा नयाँ सहकार्यका बाटो खुला गर्ने, विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्ने, विदेशी लगानी आकर्षित गर्ने, औद्योगिक विकासका लागी योगदान गर्न मद्दत गर्नेछ।’

एमच्यामका अध्यक्ष श्रेष्ठले उद्योगीहरूको साझा संस्था परिसंघसँगको सहकार्यले अमेरिकी लगानी अभिवृद्धि गर्दै अर्थतन्त्रको विकासका लागि प्रभावकारी काम गर्ने बताए।

प्रकाशित: १८ पुष २०८० १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nineteen =