युवा रोजगारीमा जुट्यो रत्‍ननगर नगरपालिका

हिमाल प्रेस १६ असार २०८० १२:३१
4
SHARES
युवा रोजगारीमा जुट्यो रत्‍ननगर नगरपालिका

चितवन– चितवनको रत्ननगर नगरपालिकामा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सुरु भएको छ। रत्ननगर-१ स्थित होटल स्टार चितवनमा शुक्रबारदेखि सुरु भएको मेलाको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाले संयुक्त रूपमा आयोजना गरेका हुन्।

मेलाको उद्घाटनका क्रममा रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटाले नगरवासी युवालाई स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न रत्ननगर नगरपालिका लागिपरेको बताए।

आफ्नो क्षमता पहिचान गरी उद्यमी बन्न चाहने युवालाई आवश्यक तालिमको व्यवस्था गर्ने र रोजगारदातासँग समन्वय गरी रोजगारीको अवसर दिलाउन मेला आयोजना गरिएको सापकोटाको भनाइ छ।

‘स्वदेशमै उद्यमी बन्न होस् वा वैदेशिक रोजगारीमै जानका लागि पनि आवश्यक पर्ने तालिम लिनुपर्छ। हामीले इन्स्योर परियोजनाअन्र्तगत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम दिन प्रतिबद्ध छौं,’ उनले भने।

कार्यक्रममा उपमेयर यादव पाठकले शैक्षिक योग्यता, दक्षता र क्षमता हुँदाहुँदै पनि रोजगारीको अवसरबाट वञ्चित भएकाले मेलाबाट लाभ उठाउन सक्ने र सिप सिक्न चाहनेका लागि विभिन्न तालिममा सहभागी गराइने जनाए।

रोजगारीको खोजीमा रहेका र रोजगारी दिनेबीच प्रत्यक्ष भेट गराएर रोजगारीको अवसर सिर्जना गर्न मेला कोसेढुंगा सावित हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले उल्लेख गरे।

मेला अवलोकन गरी लाभ लिन नगरवासीसँग आह्वानसमेत उनले सर्वसाधारणमा आग्रह गरे।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले विभिन्न उद्योगमा अहिले जनशक्तिको अभाव भइरहेको जनाउँदै आवश्यक सिप सिकेर दक्ष बन्न सकेको अवस्थामा १ हजार बढी युवालाई रोजगार प्रदान गर्न सकिने जानकारी दिए।

मेलामा रोजगारदाता कम्पनी तथा सिप सिकाउने कम्पनीका गरी गरी ३४ प्रदर्शनी कक्ष छन्।

प्रकाशित: १६ असार २०८० १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =