शिक्षक, स्वास्थ्यकर्मी, किसान र भूकम्पपीडितको समस्यामा सांसदहरूको चासो

हिमाल प्रेस १३ असार २०८० १५:४१
14
SHARES
शिक्षक, स्वास्थ्यकर्मी, किसान र भूकम्पपीडितको समस्यामा सांसदहरूको चासो प्रतिनिधिसभाको बुधबारको बैठक। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा सांसदहरूले शिक्षक, स्वास्थ्यकर्मी, किसान र भूकम्पपीडितका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले निजामती ऐन, शिक्षा ऐन, ललिता निवास प्रकरण, पुशपतिनाथको जलहरी लगायतका विषयमा गम्भीर चासो व्यक्त गरेका हुन्।

प्रतिनिधिसभा सदस्य रणेन्द्र बरालीले गायक प्रकाश सपुतमाथि रोमनियामा बोतल प्रहार गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरे। यस्तै रणकुमारी बलम्पाकी मगरले अनलाइनमार्फत घरघरमा पासपोर्ट पु¥याउने व्यवस्था गर्न सरकारसँग माग गरेकी गरिन्।

सांसद भानुभक्त जोशीले कक्षा ११ र १२ का शिक्षकको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘संघीय शिक्षा ऐनमा उनीहरुको बारेमा के व्यवस्था गरिएको छ? शिक्षकहरुलाई उचित व्यवस्थापनका लागि ध्यान दिनका लागि म शिक्षा मन्त्रालयसँग अनुरोध गर्न चाहन्छु।’

प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले देशका विभिन्न स्थानीय तहका स्वास्थ्यकर्मीले महिनौँदेखि तलब पाउन नसकेका भन्दै उनीहरूलाई तलबको सुनिश्चितता गर्न माग गरे।

अर्का सांसद माधव सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदको यही अधिवेशनबाट पारित गर्नुपर्ने बताए।

मेनकाकुमारी पोखरेलले किसानहरुले मल पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद मंगलप्रसाद गुप्ताले संघीय निजामती सेवा ऐन तत्काल ल्याएर लागू गर्न माग गरे।

सांसद रघुजी पन्तले विद्युत्को अनियमितता हुन थालेको भन्दै चिन्ता व्यक्त गरे। रमा कोइराला पौडेलले मलेसियामा निधन भएका जुम्ला हिमा गाउँपालिकाका मायालाल परियारको बिमा लगायतको सुविधासहित पार्थिव शरीर नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद रञ्जुकुमारी झाले मनसुनबाट हुने क्षतिबाट बच्न पूर्वतयारीमा रहन सरकारको ध्यानाकर्षण गराइन। राजेन्द्रकुमार केसीले ललिता निवास जग्गा प्रकरणमा संलग्न ठूलाहरुलाई समात्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। उनले भने, ‘ललिता निवास जग्गा प्रकरणमा उपत्यकावासीको चासो सानो माछा समातियो। ठूला माछा समातिन्छन् कि समातिन्न भन्नेमा चिन्ता छ।’

रामकुमार राईले भूकम्पपीडितले दोस्रो र तेस्रो किस्ता नपाउँदा नपाएको भन्दै दुवै किस्ता उपलब्ध गराउनुपर्ने बताए।  रामप्रकाश चौधरीले अतिरिक्त हुलाकका ११ हजार कर्मचारीलाई रोजगारीबाट मुक्त गरिएको भन्दै उनीहरुलाई सोही पदमा कायम राख्न माग गरे।

रामहरि खतिवडाले ललिता निवास जग्गा प्रकरणका आरोपित सबैलाई पक्रन सरकारसँग आग्रह गरे।  सांसद रोशन कार्कीले दाइजो पीडितहरुको उजुरी हेर्न र दोषी उपर कारबाही गर्न गृह मन्त्रालयमा हेल्पलाइन डेस्क राख्न माग गरे।

लीलानाथ श्रेष्ठले कृषकहरुलाई मलखाद अभाव भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए। लेखनाथ दाहालले सरकारले जग्गाको कित्ताकाट रोकिएको अवधिमा भूमाफिया र जग्गा दलालमार्फत् जग्गाको कित्ताकाट भएको भन्दै सो उपर छानविन गरी दोषीउपर कारबाही गर्न माग गरे।

प्रकाशित: १३ असार २०८० १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eleven =