सडक, सदन र सरकारबाट समाजवाद गुञ्जायमान बनाउन मोर्चा गठन : माधव नेपाल

हिमाल प्रेस ४ असार २०८० १७:५६
4
SHARES
सडक, सदन र सरकारबाट समाजवाद गुञ्जायमान बनाउन मोर्चा गठन : माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार, सदन र सडकबाट जनताको आवाज बुलन्द बनाउन समाजवादी मोर्चा गठन गरिएको बताएका छन्। राजधानीमा सोमबार समाजवादी मोर्चा घोषणा समारोहमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सडक, सदन र सरकारमा समाजवादको नारा गुञ्जायमान बनाइने बताए।

उनले भने, ‘हामी सडक, सरकार र सदनलाई समाजवादको नाराले गुञ्जायमान बनाउन चाहन्छौँ। सरकार र सदनमा मात्रै होइन जनताले अब हामीलाई आफ्नो गाउँमा पाउनेछन्।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नेपाली विशेषतासहितको समाजवाद निर्माण गर्न मोर्चा घोषणा गरिएको बताए। परिवर्तनका लागि लड्न चाहनेहरूलाई मोर्चामा आबद्ध हुन उनले आग्रह गरे। समाजवादी मोर्चा गठन हुँदैमा आआफ्नो संगठनका काममा कुनै प्रभाव नपर्ने दाबी नेपालले गरे। उनले भने, ‘आआफ्ना संगठनको काम स्वतन्त्र र स्वायत्तता भएर हुनेछ। मोर्चा बन्दैमा पार्टी कमजोर हुने होइन। साझा विषयमा एकताबद्ध भएर जानेछौँ।’

यसैगरी अध्यक्ष नेपालले मोर्चा गठन हुँदैमा कुनै दल अर्को दलमा विलय नहुने पनि स्पष्ट पारे। उनले भने, ‘केही नेताहरूले पार्टी विलय त हुने त होइन, पार्टीले निलिहाल्ने हो कि भनेका छन्। तर कसैले निल्नेवाला छैन।’

साथै उनले मोर्चा विचारविहीन र सिद्धान्तविहीन नरहेको पनि बताए। उनले भने, ‘हामी सबै देशभक्त र परिवर्तनकामी शक्तिलाई एकताबद्ध बनाएर अघि बढ्न चाहन्छौँ। हामीमा कुनै किसिमको संकीर्णता र आग्रह हुने छैन।’

अध्यक्ष नेपालले मोर्चा कसैलाई तर्साउन र कसैको मुकाबिला गर्नका लागि घोषणा नगरिएको बताए। उनले भने, ‘सबै सकारात्मक शक्तिलाई एकताबद्ध बनाउन मोर्चा घोषणा गरिएको हो।’ नेपालले कुनै शक्ति प्रतिगमनतिर लाग्छ भने त्यसविरुद्ध मोर्चाले मुकाबिला गर्ने बताए।

उनले मोर्चामा आबद्ध दलको सम्बन्ध दशकौँ पुरानो रहेकाले पनि आपसमा विश्वास रहेको बताए। अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीलाई २०७४ को चुनावमा जनताले अभूतपूर्व अवसर दिए पनि त्यसलाई राम्ररी अगाडि बढाउन नसकिएको बताए। अब त्यसबाट शिक्षा लिएर अद्दि बढ्ने उनको भनाइ छ। उनले भने, ‘गल्तीबाट शिक्षा लिइएन भने भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्न।’

समाजवादी मोर्चा कसैको विरुद्ध लक्षित छैन, नतर्सिए हुन्छ : उपेन्द्र यादव

समाजवादी मोर्चा सत्ता टिकाउने गठबन्धन नबनोस् : खनाल

समाजवादी मोर्चा राजनीतिमा नयाँ मोड : चन्द

 

प्रकाशित: ४ असार २०८० १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =