समाजवादी मोर्चा कसैको विरुद्ध लक्षित छैन, नतर्सिए हुन्छ : उपेन्द्र यादव

हिमाल प्रेस ४ असार २०८० १७:२८
18
SHARES
समाजवादी मोर्चा कसैको विरुद्ध लक्षित छैन, नतर्सिए हुन्छ : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैका विरुद्ध लक्षित नरहेको दाबी गरेका छन्। राजधानीमा सोमबार आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो दाबी गरेका हुन्।

उनले भने, ‘मोर्चा कसैको विरुद्ध लक्षित छैन। कोही नतर्सिए हुन्छ। केही साथीहरू घोषणा हुनुअघि नै तर्सिन थालेका छन्।’ उनले मोर्चाको लक्ष्य मुलुकलाई अग्रगमनमा लैजान सहकार्य गरी अघि बढ्ने रहेको बताए। राजनीतिक अस्थिरता र अन्योलता अन्त्य गरी मुलुकलाई सुशासनको बाटोमा लैजान आवश्यक रहेकाले समाजवादी मोर्चा घोषणा गरिएको उनको भनाइ छ।

यादवले भने, ‘मोर्चा निश्चित उद्देश्य प्राप्तिका लागि वैचारिक र राजनीतिक आधारमा तयार गरिएको हो।’ मोर्चामा आबद्ध सबै दलका आआफ्नै विचार र दृष्टिकोण रहे पनि साझा मुद्दालाई अगाडि बढाउन मोर्चा घोषणा भएको यादवले स्पष्ट पारे।

यस्तै नेपालमा मधेशी समुदाय/आदिवासी/जनजाति/दलित लगायत अझै पनि पहिचानविहीन रहेको बताए। उनले भने, ‘उनीहरू राजनीतिक र प्रशासनिक पहुँचबाट वञ्चित भएका छन्।’

साथै आफ्नै देशका नागरिक नागरिकताबाट वञ्चित भएको उनको भनाइ छ। उनले भने, ‘यसविरुद्ध जनस्तरबाटै विरोध गर्नुपर्ने अवस्था आउन सक्नेछ।’ उनले सामाजिक, राजनीतिक र आर्थिक परिवर्तन आवश्यक रहेको बताए।

अध्यक्ष यादवले युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गरेर मुलुकको विकास अगाडि बढाउनुपर्ने बताए। उनले भने, ‘सर्वसुलभ शिक्षा र स्वास्थ्य, कृषि क्षेत्रमा आधुनिकीकरण, देशलाई औद्योगिकीकरणको दिशामा लैजानुपरेको छ।’

प्रकाशित: ४ असार २०८० १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =