फेवातालको सिमसार क्षेत्र पुरेर निर्मित घडेरीमा डोजर चल्यो

हिमाल प्रेस ३० जेठ २०८० १९:०१
24
SHARES
फेवातालको सिमसार क्षेत्र पुरेर निर्मित घडेरीमा डोजर चल्यो

पोखरा- पोखराको फेवातालको सिमसार क्षेत्र पुरेर निर्माण गरिएको प्लटिङमा डोजर चलाइएको छ। पोखरा महानगरपालिकाको नगर प्रहरी टोलीले मंगलबार तालको पामे क्षेत्रमा डोजर चलाएको हो।

सो क्षेत्रको करिब ८० रोपनीमा निर्माण गरिएको प्लटिङ भत्काइएको पोखरा महानगरका प्रेस सल्लाहकार भीम थापाले बताए। तालको अस्तित्व संकटमा पर्दै जाँदा पोखरा महानगरले कुनै कारबाही गर्न नसकेको भन्दै चौतर्फी आलोचना भएको थियो।

त्यसपछि महानगर प्रमुख धनराज आचार्यले सिमसार क्षेत्रका सबै प्लटिङ डोजर लगाएर भत्काउन नगर प्रहरीलाई निर्देशन दिएपछि डोजर चलेको हो। पोखराका युवा व्यवसायी देवेन्द्र केसी र प्रकाश केसीले कृषि प्रयोजनका लागि जमिन उपयोग गर्ने अनुमति लिई सिमसार क्षेत्र पुरेर घडेरी बनाएका थिए।

अर्का व्यवसायी युवराज खतिवडाले स्थानीयकै आग्रहमा सिमसार पुर्ने काम गरिरहेका छन्। खतिवडाको आफूले पुरेको क्षेत्र सिमसारमा नपर्ने जिकिर छ। सो क्षेत्रका स्थानीयले आफ्नो जग्गा प्लटिङ गर्न पाउने पर्ने माग गर्दै आइतबार प्रदर्शन गरेका थिए।

गत १८ जेठमा फेवातालको सिमसार क्षेत्र पुर्ने कार्यविरुद्ध परेको रिटमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको थियो। अधिवक्ता मनोज घर्तीमगरले तालको सिमसार क्षेत्र पुर्ने निर्णयविरुद्ध उत्प्रेषण परमादेशको आदेश जारी गर्न माग गर्दै दायर रिटमा अदालतले सो आदेश दिएको थियो।

फेवातालको संरक्षणको दायित्व बोकेका राज्यका निकायहरू भए तापनि उनीहरूका क्रियाकलापले फेवाताल निरन्तर मासिँदै गएको भन्दै सिमसार क्षेत्र पुर्ने निर्णय बदर गरी संरक्षणको माग गरिएको थियो।

सो सम्बन्धमा अदालतले सिमसार क्षेत्रमा डोजर चलाउने कार्यलाई निरन्तर दिनु कानुनविपरीत भएको भन्दै अन्तरिम आदेश जारी गरेको हो। २०१८ सालमा १० वर्ग किमीमा फैलिएको फेवाताल पछिल्लो समय अतिक्रमणको चपेटामा छ। फेवाताल विश्व रामसार क्षेत्रमा सूचीकृत छ।

प्रकाशित: ३० जेठ २०८० १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 20 =