आईपीएलको फाइनलमा कोलकाता, हारेको हैदराबादले एलिमिनेटरको विजेतासँग खेल्ने

हिमाल प्रेस ९ जेठ २०८१ ६:५०
10
SHARES
आईपीएलको फाइनलमा कोलकाता, हारेको हैदराबादले एलिमिनेटरको विजेतासँग खेल्ने

काठमाडौँ- कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।

अहमदाबादमा भएको पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता आईपीएलको उपाधिनजिक पुगेको हो।

हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो। कोलकाताका लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ५८ रनको योगदान दिए। २४ बल खेलेका ऐयरले ५ चौका र ४ छक्का प्रहार गरे।

यसैगरी, वेंकटेश राजशेखरन ऐयर ५१ रनमा अविजित रहे । २८ बल खेलेका वेंकटेशले ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै, ओपरद्वय रहमानुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रन जोडे।

हैदराबादका लागि कप्तान प्याट कमिन्स र थङ्गरासु नटराजनले समान १-१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ५९ रनको योगफल तयार पारेको थियो।

हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रन जोडे। यस्तै, हेनरिक क्लासेनले ३२, कप्तान कमिन्सले ३० र अब्दुल समद फारूकले १६ रन जोडे।

कोलकाताका लागि मिचेल स्टार्कले ३, बरुण चक्रवर्तीले २ तथा वैभव अरोरा, हर्षित राना, सुनिल नरिन र आन्द्रे रसेलले समान १-१ विकेट लिए।

अब हैदराबाद फाइनल पुग्न समीकरण २ को विजेतासँग अन्तिम खेल खेल्नुपर्ने हुन्छ। समीकरण २ (एलिमिनेटर) मा रोयल च्यालेन्ज बैगलुरु (आरसीबी) र राजस्थान रोयल्स (आरआर)बीचको छन्। एलिमिनेटर खेल बुधबार हुँदैछ । दोस्रो क्वालिफायर भने शुक्रबार चेन्नईमा हुनेछ ।

प्रकाशित: ९ जेठ २०८१ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seventeen =