शरणार्थी नेता रिजालले रायमाझी र खाणलाई देखाउँदै भने, ‘यी चोरहरू!’

हिमाल प्रेस ३२ जेठ २०८० २१:४३ | Thursday, June 15, 2023
शरणार्थी नेता रिजालले रायमाझी र खाणलाई देखाउँदै भने, ‘यी चोरहरू!’ टेकनाथ रिजाल

काठमाडौँ- नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा बिहीबार एघारौँ दिनको थुनछेक बहस भएको छ। काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तका रूपमा शरणार्थी नेता टेकनाथ रिजाल उपस्थित थिए।

उनका पक्षमा अधिवक्ता पुरुषोत्तम अर्यालले प्रतिरक्षा गरेका थिए। यसपछि रिजाल आफैँले प्रतिरक्षा गर्न पुगे। न्यायाधीश न्यौपानेको अनुमति लिएर उनले भने, ‘नेपालीको मायाले नै भुटानमा राजनीतिक रूपमा लडियो। त्यही भएर त्यहाँको सरकारले बोराभित्र हालेर जेल पुर्‍यायो। १० वर्ष नरकीय रूपमा राख्यो।’

उनले नेपालमा शरणार्थीका रूपमा आउन गरेको संघर्षको कथा पनि सुनाएका थिए। साथै नेपालमा बसेर शरणार्थी अधिकारका पक्षमा आन्दोलन गरेका विभिन्न सन्दर्भलाई उनले सुनाए।

नेपाल र भुटानबीच पटकपटक वार्ता भए पनि शरणार्थी समस्या समाधान हुन नसकेको र अन्तिममा तेस्रो देशमा पुनर्वासमा गरिएको पनि उनले बेलिविस्तार लगाएका थिए।

उनले भनेका थिए, ‘म सके जन्मेको भूमि फर्कन्छु, नसके पुर्खाको थलो नेपालमै मर्छु भनेर बसेँ।’ अझै पनि नेपालमा ६ हजार भुटानी शरणार्थी रहेको उनको भनाइ थियो।

भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पुर्‍याउने सूचना पाएपछि आफूले सबै दलका शीर्ष नेतालाई जानकारी गराएको रिजालको भनाइ थियो। उनले भने, ‘शेरबहादुर देउवालाई पनि भेटेँ। उहाँले यी यी ठगहरू हुन् भन्नुभएको थियो।’

भुटानी शरणार्थी छानबिन गर्ने नाममा सरकारले आफूलाई अन्याय मात्र गरेको दाबी रिजालले गरे। यस्तै उनले नेपाल सरकारले भुटानी शरणार्थीमाथि गरेको पाप धुरीबाट कराएको बताए।

उनले उक्त प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डेलगायत अभियुक्तलाई देखाउँदै भनेका थिए, ‘यिनीहरूका कारण भुटानी शरणार्थीले अपमान खेप्नुपर्‍यो। यहाँभन्दा बेइज्जती खप्न सकिन्न। यी ६ हजार मान्छेको समस्या समाधान गर्ने नाममा यी चोरहरू हुन् ठगेर खाने।’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरणमा संगठित गिरोह चलाएको आरोपमा प्रहरीले खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ।

तीमध्ये १८ जना पक्राउ परेका छन्। बाँकी फरार छन्। रिजालले नेताहरूकै कारण अन्तर्राष्ट्रिय जगत्‌मा भुटानी शरणार्थीको बेइज्जती भएको बताएका थिए।

प्रकाशित: ३२ जेठ २०८० २१:४३ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast