पशुपतिनाथको दर्शन गरेर फर्कँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिरः प्रदीपराज वन्त / रासस
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। शनिबार साँझ उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन्।
केही दिनअघि भारत भ्रमणको क्रममा इन्दौरको उज्जैनस्थि मन्दिरमा पुजाआजा गरेर फर्किएका थिए। भारत भ्रमणको क्रममा गेरुवस्त्र लाएर पुजाआजा गरेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो।
यद्यपि प्रचण्डले आफू धर्मविरोधि नरहेको बताउँदै आएका छन्। उनले भारतबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलमा पत्रकार सम्मेलनमा आफू मनैदेखि धर्मनिरपेक्षवादी रहेको बताएका थिए।

शनिबार भने मन्त्रीहरूसहित उनी पशुपतिनाथ मन्दिर पुगेका थिए। उनलाई पशुपतिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुुदन किराती र पशुपति विकास कोषका सदस्य सचिवलगायतले स्वागत गरेका थिए।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले प्रधानमन्त्रीले पशुपति क्षेत्रको निरिक्षण अवलोकन गरेको बताएको छ। उक्त क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्त्वबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए।


