ए डिभिजन लिग : पुलिसको फड्को, रेलिगेसन क्षेत्र झनै कसिलो

हिमाल प्रेस १५ जेठ २०८० २२:५६
42
SHARES
ए डिभिजन लिग : पुलिसको फड्को, रेलिगेसन क्षेत्र झनै कसिलो

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिग सुरु हुनुअघि नै नेपाल पुलिस क्लबलाई रेलिगेसनको दाबेदार मानिएको थियो। कारण? लिगका लागि औसत टिम निर्माण गरिनु। त्यसैले पुलिस सुरुवाती चार खेलमा पराजित हुँदा पनि अचम्म मानिएन। बरु पुलिसको रेलिगेसन दाबेदारी झन् बलियो भएको भनियो।

पहिलो अंक बटुल्न पाँचौँ खेलसम्म पर्खिएको पुलिसले न्युरोड टिम एनआटीसँग १-१ को बराबरी खेलेको थियो। सातौँ खेलबाट भने पुलिसले परिवर्तनको संकेत गर्यो। किनभने यतिबेलासम्म पुलिसले विदेशी खेलाडी भित्र्याइसकेको थियो।

विदेशी खेलाडीकै बलमा पुलिसले सातौँ खेलमा फ्रेन्ड्स क्लबलाई ३-१ ले हरायो। लिगमा पुलिसका लागि यो पहिलो जित थियो। पुलिसलाई जिताउन मोसेस ग्याबाह टुमले डेब्यु खेलमै गोल गरे। अर्का विदेशी खेलाडी जो आइडुले गोल त गरेनन्, तर मिडफिल्डमा भने नियन्त्रण जमाए।

त्यही फ्रेन्ड्ससँग दोस्रो पटक भिड्दा पुलिस २-१ ले विजयी भयो। त्यसबेलाको त्यो जितले पुलिसको समस्या हल गर्ने अवस्था थिएन। तर सोमबार जित आत्मसात गरिरहँदा भने पुलिस त्यो समस्याबाट मुक्त भइसकेको छ। समस्या हो, रेलिगेसन। पुलिसका मुख्य प्रशिक्षक चेतन घिमिरे अब आफ्नो टिम रेलिगेसनबाट सुरक्षित भएको ठान्छन्।

अंक तालिका हेर्ने हो भने चेतनसँग असहमति राख्ने ठाउँ छैन। किनभने पुलिस चौथो स्थानमा उक्लिएको छ। २२ मध्ये नौ खेल जितेको पुलिससँग ३१ अंक छ। फ्रेन्ड्ससँग भिड्नुअघि पुलिस नवौँ स्थानमा थियो। पुलिसभन्दा माथि चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब छन्। चर्च ब्वाजसँग ३८, मछिन्द्रसँग ३६ र जावलाखेलसँग ३४ अंक छ।

यसपालि लिगबारे थरीथरीका टिप्पणी भइरहेका छन्। लिगको स्तर घटेकोसम्म तर्क सुनिँदैछ। यो र्तकको आधार हुन्, विदेशीएका खेलाडी। जो लिगका स्थापित स्टार मात्र थिएनन्, राष्ट्रिय टिमका सदस्य पनि थिए। तर उनीहरुको स्थान लिएका खेलाडीले यसरी खेलेका छन् कि, लिग नै ‘अनप्रेडिक्टेबल’ भएको छ। लिगमा चार- पाँच चरणका खेल मात्र बाँकी रहँदा पनि सम्भावित विजेताबारे अनुमान गर्न सकिएको छैन। न त रेलिगेसनबारे नै ठोकुवा गर्ने स्थिति छ।

उसो त लिगको स्तर घटेको टिप्पणी गर्नेलाई पुलिस र फ्रेन्ड्सबीचको खेलको ‘रेर्कडेड भिडियो’ देखाइदिए पुग्छ। दशरथ रंगशालामा भएको यो खेल जारी सिजनकै उत्कृष्टमध्येको एक थियो। दुई टिम फगत ‘फिजिकल ब्याटल’ मा मात्र अल्झिएनन्, बरु सुरुवाती मिनेटबाटै ‘टेक्निकल गेम’ देखाउन पनि प्रयासरत रहे। सफल पनि भए। यसको प्रमाण हो, ती तीन गोल।

दशरथ रंगशालामा पुलिसले तेस्रो मिनेटमै अग्रता लिएको थियो। गोल सौजन राईले राइट विंगबाट प्रहार गरेको फ्रिकिकका कारण सम्भव भयो। उनको फ्रिकिकबाट आएको बललाई रक्षक अन्जन राईले सुन्दर हेडर गोलमा परिणत गरेका थिए।

पुलिस जत्तिकै आक्रामक देखिएको फ्रेन्ड्सले २० औँ मिनेटमा गोल फर्कायो। लेफ्टब्याक अमित तामाङले दिएको लामो क्रसलाई नियन्त्रणमै नलिई विकास थापाले वान टच गोल गरे। अमित तिनै खेलाडी थिए, जसले रविशंकर पासवानलाई लडाएपछि पुलिसले फ्रिकिक पाएको थियो। यसपालि अमितले गल्तीको पश्चताप गोलको पास मिलाएर गरे।

पुलिसले ३५ औँ मिनेटमा फेरि अग्रता लियो। विभागीय टिमको दोस्रो गोल पनि सेटपिसमै सम्भव भयो। गोलका लागि फेरि एकपटक अन्जन र सौजन्यले साझेदारी गरे। सौजन्यले प्रहार गरेको कर्नरमा अन्जनले गरेको हेडर गोल लोभलाग्दो थियो।

पहिलो हाफ नसकिँदै फ्रेन्ड्सले खेलमा फर्कने मौका पाएको थियो। तर अमितको प्रहार पोस्टमा लागेर फर्कियो। अमितले बक्सबाहिरबाट गरेके प्रहार राफिक अमिनुसँग डिफ्लेक्ट हुँदा पोस्टमा ठोक्किन पुगेको थियो। दोस्रो हाफमा पनि दुवै टिमले आक्रमणलाई निरन्तरता दिए।

पुलिसका गोलकर्ता अन्जनले ५० औँ मिनेटमा गरेको हेडर थोरैले पोस्टमाथिबाट बाहिरिएको थियो। एहम्मद हिजाजीले बक्सभित्रबाट गरेको प्रहार फ्रेन्ड्सका गोलरक्षक राजाबाबु थापाले ब्लक गरेका थिए। पेनाल्टी बक्सभित्र रहेका भारतीय स्ट्राइकर मोहम्मद आशिक शौकातअलीको हेडर पनि बाहिरिएको थियो।

दोस्रो हाफको सुरुवातमा विकासले पुलिसका विदेशी रक्षक सर्ज डिकालाई बिट गरेर गरेका प्रहार अन्जनले गोललाइनको अगाडि ब्लक गरेका थिए। दोस्रो हाफकै ५५ औँ मिनेटमा टोरिक जेब्रिनले १८ यार्ड बक्सभित्र कप्तान प्रकाश बुढाथोकीका लागि सुन्दर पास निकालिदिएका थिए। तर प्रकाशको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीको हातमै पुग्यो।

रेलिगेसनबाट सुरक्षित भयौँ

लिगको २२ औँ चरण सकिँदा पुछारको दुई स्थानमा फ्रेन्ड्स र एफसी खुमलटार छन्। पुलिससँग हारेको फ्रेन्ड्स र सोमबार नै हिमालयन शेर्पालाई २-१ ले स्तब्ध बनाएको खुमलटारसँग समान २४-२४ अंक छ। ११ औँ र १२ औँ स्थानमा रहेको थ्रीस्टार क्लब र संकटा क्लबको पनि अंक बराबर छ। दुवैले २६-२६ अंक बटुलेको छन्।

त्यसैगरी १० औँ स्थानको मनाङ मस्र्याङ्दी क्लबको २८ र छैटौँदेखि नवौँ स्थानमा रहेका एपीएफ फुटबल क्लब, एनआरटी र हिमालयन शेर्पासँग २९- २९ अंक छ। पाँचौँ स्थानको त्रिभुवन आर्मी फुटबल क्लबले ३० अंक बनाएको छ।

अब चार खेल खेल्न बाँकी पुलिसले रेलिगेसन क्षेत्रमा रहेका फ्रेन्ड्स र खुमलटारसँग सात अंकको दूरी कायम गरेको छ। यसकारण पनि चेतन रेलिगेसनबाट बच्नेमा विश्वस्त देखिएका हुन्। ‘यो खेल धेरै महत्त्वपूर्ण थियो। किनभने गाणितीय हिसाबले अंक तालिका कसिलो छ। यसकारण हामी अनिवार्य जितको खोजीमा थियौँ। लक्ष्यमा सफल भइयो। अब चाहिँ रेलिगेसनबाट बचियो जस्तो लाग्छ,’ फ्रेन्ड्ससँगको खेलपछि चेतनले भने।

पुलिसले सातौँ खेलमा फ्रेन्ड्सलाई हराएपछि उपलब्ध ४५ अंकमध्ये २७ अंक बटुलिसकेको छ। यसबीचमा चार खेल मात्र हारेको छ। यत्तिको बलियो लय विदेशी खेलाडीकै कारण सम्भव भएको चेतनले स्वीकार गरे।

‘हामीले सुरुबाटै युवा खेलाडीलाई मौका दियौँ। उनीहरुले राम्रो खेल्दा खेल्दै पनि गोल भइरहेको थिएन। तर जब विदेशी खेलाडी आए, लय परिवर्तन भयो। यद्यपि सुरुका एक दुई खेलमा तालमेल मिलेन। त्यसपछि भने हाम्रो फिनिसिङ सुध्रिएको छ। बाँकी खेलाडीमा आत्मविश्वास बढेको छ,’ चेतनले थपे।

चेतनले चौथो स्थानमा रही लिगको समापन गर्ने लक्ष्य राखेका छन्। तर यो लक्ष्य पूरा गर्न बाँकी सबै खेल जित्नुपर्ने उनको भनाइ छ। पुलिसले एनआरटी, मछिन्द्र फुटबल क्लब, आर्मी र सातदोबाटो युथ क्लबको सामना गर्न बाँकी छ।

उता फ्रेन्ड्सका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले रेलिगेसनको भय रहेको तर यसबाट बच्ने सम्भावना भने नसकिएको प्रतिक्रिया दिए। ‘रेलिगेसन क्षेत्रमा छौँ। दबाब त भइहाल्छ नै। तर अब चार खेल बाँकी छन्, ती खेलमा राम्रो खेल्दै रेलिगेसनबाट बच्ने प्रयास गर्छौँ,’ उर्जनले भने। फ्रेन्ड्सले हिमालयन शेर्पा, मनाङ, संकटा र एपीएफसँग खेल्न बाँकी छ।

उर्जनले रक्षापंक्तिमा देखिएको समस्याका कारण अप्ठ्यारो परिरहेको पनि बताए। ‘खेलाडीले सक्दो मेहनत गर्न नसकरिहेको जस्तो लाग्छ। विशेषगरि रक्षापंक्तिमा समस्या छ। विपक्षी खेलाडीहरुलाई राम्रोसँग र्माकिङ गर्न सकिएको छैन। आज पनि दुवै गोल सेटपिसमा भए। हामी पहिलेबाटै यस्तो गोल खाइरहेका छौँ,’ टिमको कमजोरीबारे उर्जनको टिप्पणी थियो।

फ्रेन्ड्ससँगै रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको खुमलटारले सोमबार दशरथ रंगशालामै जारी सिजनको सातौँ जित हात पार्‍यो। खुमलटारलाई जिताउन मेसुके ओलौमोउ र स्टिफन समिर बिनोङले एक- एक गोल गरे। पराजित हिमालयन शेर्पाको तर्फबाट अबायोमी फाकुन्लेले पहिलो हाफको छैटौँ मिनेटमै गोल गरेका थिए।

जितपछि खुमलटारका सहायक प्रशिक्षक मदन सुब्बाले आफ्नो टिम रेलिगेसनबाट बच्ने विश्वास व्यक्त गरे। ‘हाम्रा स्ट्राइकर लयमा देखिएका छन्। घाइते खेलाडी पनि अब फिट छन्। आउँदो खेलमा हामीसँग सबै खेलाडी उपलब्ध हुनेछन्। यसकारण म आशावादी छु,’ मदनले भने। खुमलटार आगामी बिहीबार मनाङसँग प्रतिस्पर्धा गर्दैछ। त्यसपछिका तीन खेलमा खुमलटार संकटा, एपीएफ र चर्च ब्वाइज युनाइटेडसँग भिड्नेछ।

प्रकाशित: १५ जेठ २०८० २२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =