भारत भ्रमण : परामर्शमा प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस १४ जेठ २०८० १३:०७
4
SHARES
भारत भ्रमण : परामर्शमा प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न भारत भ्रमणका बारेमा राजनीतिक एवम् कूटनीति परामर्श गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्डले जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्न लागेका छन्।

प्रधानमन्त्री प्रचण्डले सोही विषयमा राजनीतिक एवम् कूटनीतिक परामर्श गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ। राजनीतिक परामर्शअन्तर्गत प्रचण्डले आइतबार दुई बजे पूर्वप्रधानमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीलाई सिंहदरबारमा डाकेका छन्। यसैगरी कूटनीतिक परामर्शअन्तर्गत पूर्वपरराष्ट्र सचिवहरू, भारतका लागि पूर्वराजदूतहरू र विज्ञहरूलाई साढे तीन बजे डाकिएको छ।

प्रचण्ड प्रधानमन्त्री भएको ६ महिनापछि पहिलोपटक विदेश भ्रमणमा जान लागेका हुन्। यसपटकको उनको भ्रमणलाई भारतले औपचारिक भ्रमण (अफिसियल भिजिट) भनेको छ।

नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको चारदिने औपचारिक भारत भ्रमणको तालिका शनिबार सार्वजनिक गरेका थिए।

प्रधानमन्त्रीका रूपमा प्रचण्डले तेस्रो पटक भारत भ्रमण गर्न लागेका हुन्। यसअघि २०६५ मा पहिलोपटक प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तोमा त्यसतर्फ गएका थिए। त्यति बेला पनि उनलाई औपचारिक भ्रमणको निम्ता गरिएको थियो।

यसअघि दोस्रोपटक प्रधानमन्त्री भएका बेला प्रचण्डले सन् २०१६ को सेप्टेम्बर १५ देखि १८ भारत भ्रमण गरेका थिए। त्यसलाई भारतले राजकीय भ्रमण भनेको थियो। भ्रमण तालिकाअनुसार प्रधानमन्त्री प्रचण्ड १७ गते नेपाल एयरलाइन्सको उडानमा दिल्ली जाने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन्। १८ गते उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधि स्तरमा छलफल गर्ने कार्यक्रम छ। प्रचण्ड र मोदीबीच हैदराबाद हाउसमा छलफल हुनेछ। उनीहरूबीच वार्ता सकिएपछि संयुक्त पत्रकार सम्मेलन गर्ने पनि तयारी छ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज राखेका छन्। प्रधानमन्त्री दाहालले मध्यप्रदेशको औद्योगिक सहर इन्दोर र उज्जैन भ्रमण गर्ने कार्यतालिका छ।

प्रचण्डलाई भारतमा औपचारिक सम्मान मात्रै!

परीक्षामा प्रचण्डको कूटनीतिक चातुर्य


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =