प्रचण्डलाई भारतमा औपचारिक सम्मान मात्रै!

हिमाल प्रेस १३ जेठ २०८० १९:२७
150
SHARES
प्रचण्डलाई भारतमा औपचारिक सम्मान मात्रै!

काठमाडौँ- प्रधानमन्त्री बनेको ६ महिना पर्खेर पहिलो विदेश भ्रमण दक्षिण छिमेकीबाट गर्न लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चारदिने भारत औपचारिक भ्रमण (अफिसियल भिजिट) मात्र हुने भएको छ। नेपाल पक्षबाट निकै गृहकार्य गर्दा पनि उनको राजकीय भ्रमण (स्टेट भिजिट) हुन नसकेको हो।

नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको चारदिने औपचारिक भारत भ्रमणको तालिका शनिबार सार्वजनिक गरेका छन्। औपचारिक र राजकीय भ्रमण समानजस्तै भए पनि कूटनीतिमा कुन तहको सम्मान दिइयो भन्ने विशेष अर्थ राख्छ।

२०६५ मा पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्ड भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तोमा त्यसतर्फ गएका थिए। त्यति बेला पनि उनलाई औपचारिक भ्रमणको निम्ता गरिएको थियो। उनले पाँचदिने भ्रमण गरेका थिए।

यसअघि प्रचण्डले सन् २०१६ को सेप्टेम्बर १५ देखि १८ सम्म गरेको भारत भ्रमण राजकीय थियो। नरेन्द्र मोदी नेतृत्व बीजेपी सरकारले भारतमा बोलाउँदा उनलाई राजकीय सम्मान दिएको थियो भने २५ बुँदे संयुक्त वक्तव्य जारी गरिएको थियो।

पहिलो कार्यकालमा प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण गरेर भारत गएका थिए। नेपालमा प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतबाट हुँदै आएको थियो। प्रचण्डले त्यसलाई क्रमभंग गरेका थिए।

यद्यपि उनको त्यो क्रमभंग लामो समय टिकेन। अनि प्रचण्ड भारतबाट नै पहिलो राजनीतिक भ्रमण हुने भनेर स्पष्टीकरण दिन बाध्य भएका थिए। बेइजिङ ओलम्पिकको समापन कार्यक्रममा सहभागी हुन गएका प्रचण्डले फर्केकै दिन आफ्नो राजनीतिक भ्रमण नयाँदिल्लीबाट सुरु हुने बताएका थिए। अहिले पनि प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणको निम्ता पाइसकेका छन्। तर त्यता नगई उनी भारत जान लागेका हुन्।

भ्रमण तालिकाअनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० सम्म भारतमा रहनेछन्। उनी १७ गते नेपाल एयरलाइन्सको उडानमा दिल्ली जाने कार्यक्रम छ। गत साउनमा पनि दाहाल भारत गएका थिए। त्यति बेला उनलाई भारतीय जनता पार्टी (बीजेपी) ले आफ्नो मुख्यालयमा स्वागत गरेको थियो।

भारत भ्रमणबारे अन्योल भइरहँदा प्रधानमन्त्री प्रचण्ड औपचारिक नै सही भनेर प्रचण्ड भारत जान तयार भएका हुन्। प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन्। १८ गते उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधि स्तरमा छलफल गर्ने कार्यक्रम छ। प्रचण्ड र मोदीबीच हैदराबाद हाउसमा छलफल हुनेछ। उनीहरूबीच वार्ता सकिएपछि संयुक्त पत्रकार सम्मेलन गर्ने पनि तयारी छ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज राखेका छन्। प्रधानमन्त्री दाहालले मध्यप्रदेशको औद्योगिक सहर इन्दोर र उज्जैन भ्रमण गर्ने कार्यतालिका छ।

भ्रमणले ‘भारतको छिमेकी पहिलो’ नीतिलाई स्पष्ट मात्र पार्दैन नेपालको कूटनीति छिमेकबाट आरम्भ हुन्छ भन्ने स्पष्ट हुने भारतीय परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै दुुई पक्षीय सम्बन्धलाई सुदृढ गर्दै थप बलियो बनाउने विश्वास भारतीय पक्षको छ।

प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा केही नयाँ चिज नेपाललाई प्राप्त हुने र नेपाल-भारत सम्बन्धको आयाम पनि नयाँ ठाउँमा पुग्ने बताउँदै आएका छन्। प्रधानमन्त्रीका भ्रमणका लागि दर्जनौँ एजेन्डा तय भए पनि अघिल्ला दुई पटक भ्रमण गर्दा भएका प्रतिबद्धता पूरा गर्नुपर्ने चुनौती कायमै छ।

परीक्षामा प्रचण्डको कूटनीतिक चातुर्य

प्रकाशित: १३ जेठ २०८० १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =