कर्मचारीलाई मुख्यमन्त्री पाण्डेको निर्देशन : जिल्ला आउँदा सलामी नदिनू, नाकामा लिन पनि नआउनू, काम गर्नू

हिमाल प्रेस १२ जेठ २०८० २१:३३
42
SHARES
कर्मचारीलाई मुख्यमन्त्री पाण्डेको निर्देशन : जिल्ला आउँदा सलामी नदिनू, नाकामा लिन पनि नआउनू, काम गर्नू

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई सलामी नदिन र जिल्ला आउँदा नाकामा लिन नआउन अनुरोध गरेका छन्। लमजुङमा कार्यालय प्रमुखहरूसँगको भेटघाटका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।

‘यो सालमी दिने परम्परा पहिले थियो होला, अब यसलाई बदल्नुपर्छ, मलाई सलामी कहिँकतै नदिनुहोला, यहाँबाट सबैलाई भन्न चाहान्छु’ उनले भने।

साथै मुख्यमन्त्री पाण्डेले जिल्ला आएको समयमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू नाकामा स्वागत गर्न जाने, लिन जाने परम्परा पनि हटाउन आग्रह गरे।

‘जनताको काम छाडेर मलाई नाकामा लिन नआउनू,’ उनले भने ‘तपाईंहरूको स्वागत सत्कारलाई अन्यथा भन्न खोजेको होइन, तर त्यहाँसम्म जाँदा खर्च हुने समय, राज्यको साधन स्रोतको ख्याल गरौँ।’ जिल्लामा आउने कार्यक्रममै भेटघाट हुने भन्दै उनले सबै जिल्लालाई यो सन्देश दिएका हुन्।

जिल्ला गएका बेला मुख्यमन्त्रीलाई जिल्ला प्रशासन कार्यालयमा प्रहरीले सलामी दिने गर्छ। प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू जिल्ला भित्रिने नाकामा स्वागतका लागि पुग्ने गर्छन्। मुख्यमन्त्री पाण्डेले सलामी, स्वागत, सत्कारभन्दा जनताको समस्यामा ध्यान केन्द्रित गर्न सबै कर्मचारीलाई निर्देशन दिए।

नागरिकलाई सहज सेवा दिन मालपोत, नापी, प्रशासन लगायतका कार्यालयले टाइम कार्ड लागू गर्दा सहज हुने उनले बताए। ‘जनतालाई शुसासन महशुस हुने गरी तपाईंहरूले काम गर्नुहोला,’ मुख्यमन्त्री पाण्डेले थपे ‘हाम्रा कमिकमजोरीले अहिलेको व्यवस्थामाथि खतरा उत्पन्न हुन दिन हुँदैन।’ ठेक्का लागेर पुरा हुन नसकेका योजना सम्पन्न गर्न गम्भीर भएर लाग्न उनले जिल्लाका सरोकारवालालाई निर्देशन दिए।

लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जिल्लाको वस्तुस्थिति र समस्याका बारेमा मुख्यमन्त्रीसमक्ष जानकारी गराएका थिए। समस्या सुनेपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको साधन स्रोत र क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित: १२ जेठ २०८० २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 20 =