गण्डकी मुख्यमन्त्रीको सम्पत्ति : पोखरामा २ करोडको घर, १५ लाख नगद र ३ तोला सुन

हिमाल प्रेस ८ वैशाख २०८० २०:१६
8
SHARES
गण्डकी मुख्यमन्त्रीको सम्पत्ति : पोखरामा २ करोडको घर, १५ लाख नगद र ३ तोला सुन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सरकार अल्पमतमा परेपछि शनिबार विश्वासको मत लिन लागेका अधिकारीले अघिल्लो दिनमात्र सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

उनले सम्पत्ति विवरण सार्वजनिक गरे पनि अन्य मन्त्रीको विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमार्फत सार्वजनिक छैन।

पदभार ग्रहण गरेको सय दिन बित्दासमेत सम्पत्ति विवरण सार्वजनिक नगरेपछि चौतर्फी आलोचना खेपेका उनले पदबाट राजीनामा दिने बेलामा विवरण सार्वजनिक गरेका हुन्। गत माघ १२ मै उनले सम्पत्ति विवरण बुझाएको भए पनि शुक्रबार मन्त्रालयको वेवसाइटमा सो विवरण अपलोड गरिएको हो।

उनले आफूले आर्जेको र पैत्रिक भनी जग्गा, सुन, बैंक मौज्दात, शेयर, गाडी सम्पत्ति विवरण भएको खुलाएका छन्। तीमध्ये पोखरा १२ मा पैत्रिक सम्पत्ति बिक्रीबाट खरिद गरेको घरको मूल्य हाल २ करोड पर्ने उल्लेख छ। त्यसबेला उनले ८० लाखमा किनेको भनेका छन्।

उनको नाउँमा साविक गण्डकी विकास बैंकमा २ हजार ४ सय ९९ कित्ता शेयर रहेको उल्लेख छ। सो सेयरको स्रोत कृषि आम्दानी भनिएको छ। उनले कृषिबाट वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुने बताएका छन्।

उनले आमाको अंशबाट शेषपछि संयुक्त पुर्जाको पोखरा बेगनासको जग्गा देखाएका छन्। स्वआर्जनबाट १५ लाख रुपैयाँ नगद र ३ तोला सुन भएको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सहकारी र बैंकमा १० लाख रुपैयाँ मौज्दात रहेको बताएका छन्।

उनको नाउँमा ५० लाख रुपैयाँको स्कर्प्यो गाडी छ। अग्रगामी कृषि फर्ममा श्रीमती रमा पाण्डेको नाममा १६ लाखको लगानी छ। प्रभु बैंकबाट ८० लाख रुपैयाँ ऋण लिएर काठमाडौँको चन्द्रागिरीमा श्रीमति रमाको नाममा ८ आना जग्गा खरिद गरेको सम्पत्ति विवरणमा बताइएको छ।

अधिकारी गत २५ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले १२ मन्त्रालय घटाएर ७ मन्त्रालय झारेका थिए। सत्तारुढ माओवादीका २ मन्त्री बाहिरिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =