मन बिग्रिएर फरार भएका थिए टोपबहादुर [प्रहरीलाई दिएको बयानसहित]

हिमाल प्रेस ९ जेठ २०८० १९:०६
24
SHARES
मन बिग्रिएर फरार भएका थिए टोपबहादुर [प्रहरीलाई दिएको बयानसहित]

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीले छोरालाई हतकडी लगाएपछि आफ्नो मन बिग्रिएर केही समय फरार रहेको बयान दिएका छन्। उनले प्रहरीसँगको बयानमा यस्तो बताएका हुन्। प्रहरीले प्रक्राउ पुर्जी जारी गरेपछि रायमाझी केही दिन फरार रहेका थिए।

रायमाझीले शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन्। उनले भनेका छन्, ‘छोरा पक्राउ परी हतकडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेकोले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ। सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हुँ।’

उक्त प्रकरणमा टोपबहादुरका छोरा सन्दीप पनि पक्राउ परेका छन्। टोपबहादुरले प्रतिवादी भनिएका अन्य व्यक्तिसँग आफ्नो उठबस भने रहेको स्वीकार गरेका छन्। यस क्रममा हेलिकाप्टर चढेको, फ्रेस भएको जस्ता अभिव्यक्ति टोपबहादुर रायमाझीको छ।

उनले प्रहरीसँग दिएको बयान 

केशवप्रसाद दुलालसँग सुजाता कोइरालाको घरमा जानेआउने क्रममा चिनजान भएको हो। सानु भण्डारी मेरो छिमेकी भएको हुँदा चिनजान भएको हो। टेकनारायण पाण्डे मेरो जिल्लाबासी भएको र नेपाल सरकारको सचिव भएको हुँदा चिनजान भएको हो। इन्द्रजित राईसँग पार्टीको कामको सिलसिलामा चिनजान भएको हो। बालकृष्ण खाणलाई विद्यार्थी राजनीति गर्ने क्रममा चिनेको हुँ।

भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन भएकोसम्म जानकारी छ। सोबाहेक अन्य कुरा मलाई जानकारी भएन। मैले इन्द्रजित राईलाई चिनाइदिएको भन्ने कुरा सरासर गलत हो। इन्द्रजीत राई र सानु भण्डारीबीचको लेनदेनका विषयमा उहाँहरूले जान्ने कुरा हो, मलाई जानकारी छैन। निजले मलाई दिएको भनेको रकमबाट मैले कुनै रकम लिएको छैन।

सन्दीप रायमाझीको खातामा जम्मा गरेको रकम सम्बन्धमा निजले नै स्पष्ट पार्नेछन्। सानु भण्डारीको घरबाट बरामद भई आएको डायरीमा मेरो नाम लेखी पटकपटक मलाई रकम दिएको भनी लेखिएको कुरामा सत्यता छैन। निजले के कुन प्रयोजनका लागि उक्त कुरा लेखेका हुन् मलाई जानकारी भएन, सो रकम मैले लिएको छैन। मेरो छोरा सन्दीप रायमाझीसँग कम्पनीमा साझेदारीको कुरा सन्दीप रायमाझीले दिएको बयानबाट नै देखिन्छ।

मलाई रकम दिएको भन्ने जति पनि विवरण छन्, त्यसमा कुनै आधार र सत्यता छैन। निजले ठूलो रकमको चेक काटेर आफ्नै घरमा राखेको सवाल होस् वा आफ्नो डायरीमा विभिन्न प्रकारका रकम के कुन प्रयोजनका लागि लेखेका हुन् मलाई जानकारी भएन।

केशवप्रसाद दुलाल र सानु भन्डारीले हामीहरुको भेटघाट नभएको धेरै समय भयो, व्यावसायिक साथीहरुले हेलीको व्यवस्था गरेका छन्। गोसाइँकुण्ड गई फ्रेस भएर आउनुपर्‍यो भनी मलाई केशवप्रसाद दुलालले आग्रह गरेको र मैले समय छैन भन्दा निजहरूले धेरै समय लाग्दैन जानआउन ३० मिनेट, १५ मिनेट घुम्न गरी जम्मा ४५ मिनेट मात्र हो भनेको हुँदा म निजहरूको कुरामा सहमत भई गोसाइँकुण्ड गई फोटो खिचाई फर्किएका हौँ।

म सो ठाउँमा घुम्न जाँदाको अवस्थामा मैले सामान्य रूपमा लिएको थिएँ। इन्द्रजित राई मैले पहिलेदेखि चिनेका व्यक्ति हुन्। कामविशेषले गृह मन्त्रालय जाँदा मैले प्रायः राईलाई नै बढी भेट्ने गरेको थिएँ।

मिति २०७७।०९।१६ गते म आफ्नै काम विशेषले गृह मन्त्रालय गएको बखत स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठूलो स्वरमा आवाज आएको हुँदा म पनि निजको कार्यकक्षमा छिरेँ। त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेन सम्बन्धी विवाद भएको सुनेको हुँ। कार्यकक्षबाट बाहिर आएपछि सानु भण्डारी र केशवप्रसाद दुलाललाई डुप्लिकेट काम गरेका त छैनौ? भनी सोध्दा निजहरुले हामी पूर्वका मानिस हौँ, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौं होला भनी प्रति प्रश्न गरेका थिए।

इन्द्रजित राईलाई सानु भण्डारीसँग मैले परिचय गराइदिएको भन्ने कुरा सत्य होइन। भुटानी शरणार्थीका विषयमा कार्यदल बनाउनेसम्मको कुरा मलाई थाहा छ। उक्त समितिका संयोजक बालकृष्ण पन्थी मेरो छिमेकी जिल्ला र सहसचिवसमेत भएको हुँदा चिनजान थियो।

यस विषयमा समाधन हुनुपर्दछ भन्ने मेरो धारणा रही आएको छ। गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने सुरु देखि नै आफ्नो धारणा स्पष्ट राख्दै आएको छु। बाँकी रहेका पीडित भुटानी शरणार्थीहरुको कार्यले नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुन्छ भन्ने मलाई लाग्छ।

मेरो छोरा पक्राउ परी हतकडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेकोले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ। सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हुँ। कदम रोकिएको मात्र हो। आफैँ सम्पर्कमा आउने क्रममा थिएँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =