आवरण

स्वदेशमा केही गर्नेहरू

मस्त केसी ३१ वैशाख २०८० ९:१४
42
SHARES
स्वदेशमा केही गर्नेहरू पोखरास्थित महिला सीप विकास संस्थामा सीप सिकिरहेका महिलाहरू।

अनेक अप्ठ्यारा र कठिनाइका बीच स्वदेशमै अवसर छोपेर मनग्ये आम्दानी गर्नेहरू प्रशस्त छन्।

बुटवलका रामकुमार रणपाल टेलरिङ सेन्टर चलाएर वार्षिक लाखौँ कमाउँछन्। पाल्पाबाट रित्तो हात बुटवल झरेका उनको ‘न्यु फेमस टेलरिङ’मा अहिले ३१ जनाले रोजगारी पाएका छन्।

पोखराकी रामकली खड्काले ‘महिला सीप विकास संस्था’ चलाउँछिन्। उनले सिलाइबुनाइ, स्वास्थ्य, प्रौढ शिक्षा, कानुनलगायत क्षेत्रमा गरी २१ हजारभन्दा बढीलाई तालिम दिइसकेकी छन्। १२ हजार रुपैयाँबाट सुरु भएको उनको संस्थाले अहिले वार्षिक दुई करोड रुपैयाँ बढीको कारोबार गर्छ।

कैलालीको गोदावरी नगरपालिका-८ मझगाउँका धनञ्जय चौधरीले उर्मिला पोल्ट्री फार्मका साथै दाना उद्योग चलाउँछन्। ३६ हजार रुपैयाँ ऋण लिएर सुरु गरेका उनको व्यवसाय अहिले करोडको पुगेको छ। आफूजस्तै अरू पनि उद्यमी बनून् भनेर प्रशिक्षणसमेत दिने गरेका छन्।

इटहरी उपमहानगरपालिका-२० तरहराका कृष्ण गुरुङले ड्रागन फ्रुट खेती गरेका छन्। ‘तमु कृष्ण बहुउद्देश्यीय कृषि फार्म’मार्फत उनले वार्षिक ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्छन्।

यसरी स्वदेशमै आफ्नो मेहनत र परिश्रमले औद्योगिक प्रतिष्ठान, व्यापार-व्यवसाय गर्नेको संख्या झण्डै पाँच लाख छ। केन्द्रीय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण  २०७६ अनुसार देशभर ६० हजार १ सय ८५ वटा औद्योगिक प्रतिष्ठान सञ्चालनमा छन्। यी प्रतिष्ठानमा ४ लाख ९१ हजार २ सय २७ व्यक्ति आबद्ध छन्।

यसमध्ये ३ लाख ८१ हजार ६ सय ८७ जना तलबी कामदारका रूपमा कार्यरत रहेको सर्वेक्षणमा उल्लेख छ। यी कामदारको तलब र सेवासुविधामा औसतमा उद्योगले प्रतिव्यक्ति मासिक ३९ हजार रुपैयाँ खर्च गरेको देखिन्छ।

त्यसो त स्वदेशमा लगानीको वातावरण नभएको, बजार सानो भएको, विभिन्न राजनीतिक घटनाले व्यापार–व्यवसायमा असर गरेको, चन्दालगायत गतिविधिले अप्ठ्यारो पारेको भन्नेहरू पनि प्रशस्त छन्। त्यसमा सरकारसँगै फेरिने नीति र बजेटपिच्छे बदलिने व्यवस्थाले व्यावसायिक वातावरणमा असर नगरेको होइन। तर विदेशको मोह त्यागेर स्वदेशमै केही गर्नेहरूको संख्या पनि उल्लेख्य छ।

नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति भरतराज आचार्य अनेक बाधा र अड्चनका बीच साना तथा मझौला व्यवसायीहरू टिकिरहेको बताउँछन्। ‘हाम्रा प्रक्रियागत, संस्थागत र नीतिगत समस्या छँदैछन्,’ उनी भन्छन्, ‘त्यसमा झन् पछिल्लो समय बढेको ब्याजदर, कर्जा प्रवाहमा अवरोध, बजारको संकुचनलगायत कारण अप्ठ्यारो  बढेको छ।’ यावत् समस्या हुँदाहुँदै व्यवसाय गरेर रोजगारीमा योगदान दिनेहरू स्वाभाविक प्रोत्साहनका हकदार भएको उनको भनाइ छ।

नेपालमा हरेक वर्ष पाँच लाखभन्दा बढी जनशक्ति श्रम बजारमा आउँछ। त्यसमध्ये विदेश जानेको संख्या सरकारसँग यकिन भए पनि स्वदेशमै कर्म गर्नेको संख्या वार्षिक रूपमा अद्यावधिक हुँदैन।

नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ अनुसार १५ वर्षभन्दा बढी उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार छ। जसलाई सरकारले काम गर्ने उमेर समूहमा राखेको छ। सर्वेक्षणको तथ्यांकअनुसार काम गर्ने उमेर समूहमध्ये ७९ लाख ९४ हजार श्रम बजारमा सक्रिय छन्।

यसमा ठूलो संख्या विदेशमा छ। राष्ट्रिय जनगणना २०७८ अनुसार २२ लाख युवा रोजगारीका लागि बिदेसिएका छन्। विदेश गएका युवाले चालु आवको नौ महिनामा ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स पठाएका छन्।

यो आवको चैतसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने युवा संख्या ५१.५ प्रतिशतले बढेको छ। चैतसम्म ३ लाख ८७ हजार ८ सय ३९ जनाले श्रम स्वीकृति लिएका छन्।

यसका साथै पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १८ हजार छ। यसको मतलब नौ महिना अवधिमा मात्रै रोजगारीका लागि झन्डै ६ लाख युवा बिदेसिएका छन्।

चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले बजेटमार्फत वार्षिक ३० प्रतिशतले रोजगारी वृद्धि गर्ने लक्ष्य लिएको छ। तर आर्थिक वर्ष सकिन दुई महिनामात्रै बाँकी हुँदा कति रोजगारी बढ्यो? यसको हिसाब सरकारसँग पनि छैन।

अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अवरोधले गर्दा लक्ष्य हासिल गर्न नसकेको बताउँछन्। ‘यो वर्ष आर्थिक मन्दी संसारभर रह्यो, यसले नेपाललाई स्वाभाविक अप्ठ्यारो पारेको छ,’ उनी भन्छन्, ‘सरकार नयाँ बजेट र आर्थिक विधेयकको तयारीमा जुटेको छ। रोजगार वृद्धि र उद्यमशीलताका नयाँ योजना आउनेछन्।’

कृषिमा रमाएका कृष्ण

२१ हजारलाई सीप सिकाउने रामकली

पुर्ख्यौली पेसाले दिलाएको सफलता

पढाइ खर्च जुटाउन गरिएको कुखुरापालनले बनायो व्यवसायी

प्रकाशित: ३१ वैशाख २०८० ९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =