स्वेदशमै सफल

कृषिमा रमाएका कृष्ण

विवेक विवश रेग्मी ३१ वैशाख २०८० ९:१५
82
SHARES
कृषिमा रमाएका कृष्ण

इटहरी- इटहरी उपमहानगरपालिका-२०, तरहराका कृष्ण गुरुङले करिब १७ वर्ष भारतीय सेनामा बिताए। सेवानिवृत्त भएदेखि उनी कृषिकर्ममा रमाइरहेका छन्।

६ वर्षयता कृषिमा सक्रिय कृष्ण भारतीय सेनामा आबद्ध हुँदाको तलब जति नै पैसा कमाइरहेको बताउँछन्। ‘जागिरमा हुँदाताका पाउने तलब बराबर नै पैसा आफ्नो मेहनतले कमाइरहेको छु,’ उनले भने।

सुनसरीको रामधुनी-७ स्थित रानीपोखरी क्षेत्रमा एक बिघा क्षेत्रफलमा उनले ड्रागनफल खेती गर्दै आएका छन्। यो जमिन कृष्ण र उनका भाइ मनबहादुर गुरुङले २०७२ सालमा किनेका थिए। त्यसमै दुवै भाइले मिलेर कृषिकर्म गरिरहेका छन्।

‘तमु कृष्ण बहुउद्देश्यीय कृषि फार्म’मार्फत काम गरिरहेका उनीहरूलाई परिवारका अरू सदस्यले पनि सहयोग गर्ने गर्छन्। ‘भारतीय सेनामा रहँदा नै जग्गाको सदुपयोग गर्नुपर्छ भन्ने सोच थियो,’ कृष्णले भने, ‘रिटायर्ड हुनुअघि नै कृषि गर्ने योजना बनाइसकेको थिएँ।’

जागिर गर्दा एक जनाको मात्रै कमाइ हुने र कृषिमा परिवारै व्यस्त हुने कृष्ण बताउँछन्। ‘परिवारका सबैले मिलेर काम गरे  उत्पादन र कमाइ दुवै बढी हुने गर्छ,’ उनले भने, ‘त्यसैले यतातिर लागेको हौँ।’

उनले एक बिघा क्षेत्रफलमा १२ सय ड्रागनफलका बोट रोपेका छन्। एक वर्षमा एक बोटबाट २० केजीभन्दा बढी ड्रागनफल उत्पादन हुने उनी सुनाउँछन्। ‘यो अरू फलफूलभन्दा अलिक फरक छ,’ उनले भने, ‘यो फल क्याक्टस किसिमको हो। वर्षमा दुईपटक मल हाल्ने र बेलाबेलामा स्याहारसुसार गर्नुपर्छ।’

ड्रागन फलखेतीमा परिवारसहित आफू त खटिन्छन् नै केही कर्मचारी पनि उनले राखेका छन्। कृषि फार्ममा चारपाँच जनाले काम पाएका छन्। ‘जेठदेखि कात्तिकसम्म मज्जाले फल्छ,’ उनले भने, ‘एउटा बोटमा फलेको ड्रागनफल बजारमा लगिसक्दा यता अर्कोमा फलिरहन्छ।’ त्यतिखेर भ्याइनभ्याइ हुने गर्छ कृष्ण, उनको परिवार र कर्मचारीलाई।

कृष्णले अहिलेसम्म ड्रागनफलका ४० हजारभन्दा बढी बिरुवा पनि बेचिसकेका छन्। फल र बिरुवा दुवै बिक्री हुने हुँदा सहज भएको उनको भनाइ छ। अघिल्लो वर्ष एक केजी बराबर पाँचदेखि ६ सय रुपैयाँ मूल्यसम्ममा बिक्री गरेका थिए फल। त्यस्तै बिरुवाको एक बोट बराबर एक सयदेखि डेढ सय रुपैयाँसम्म पाएका थिए।

बर्सेनि उत्पादन बढ्दै गएको उनको अनुभव छ। ‘उत्पादनलाई उद्योगसँग जोड्नुपर्छ,’ उनले भने, ‘उत्पादनलाई उद्योगमा परिवर्तन गर्न सक्दामात्रै हाम्रो सफलता हुन्छ। बजारमा गएका जति सबै फल बिक्री हुन्छन् भन्ने छैन। धेरै दिनसम्म रहने हुँदा त्यसलाई उद्योगमा जोडेर जुस तथा वाइन बनाउन सकिन्छ। त्यसका लागि फ्याक्ट्रीको आवश्यकता पर्छ।’

कृष्णले युट्युबमा हेरेर ड्रागनफल खेती सिकेका हुन्। ‘सेनामा हुँदा कतिपय साथी युट्युबमा चाहिने नचाहिने भिडियो हेरेर समय खेर फाल्थे,’ उनले सम्झिए, ‘मचाहिँ कृषिसम्बन्धी भिडियो हेरेर बस्थेँ। खेती गर्न त्यहीँबाट सिकेको हुँ।’

‘आफ्नै ठाउँमा केही गर्नुपर्छ’ भन्ने कुराबाट प्रेरित कृष्णले कृषि कर्मबाट आफ्नोसँगै अरू चार परिवार पालिएको बताए। ‘नेपालीहरूमा एकजना जागिरे भयो भने पूरै परिवार बसेर खानुपर्छ भन्ने सोच छ,’ उनले भने, ‘यो धारणा परिवर्तन हुन आवश्यक छ। परिवारमा सबैले केही न केही काम गर्नैपर्छ। जसले जति सक्छ त्यति काम गर्नुपर्छ।’

विचलित नहुँदा सफलता

कृष्णले ड्रागनफल खेती गर्नुअघि कागती खेती र बंगुर फार्म सञ्चालन गरेका थिए। तर त्यसमा भनेजस्तो सफलता हात पार्न सकेनन्। उत्पादन, आम्दानी र बजार नपाउँदा ड्रागनफल खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ। ‘सुरुमा कागती खेती गरे तर भनेजस्तो भएन,’ उनले भने, ‘त्यसपछि बंगुर फार्म सञ्चालन गरेँ। त्यसमा पनि सफल हुन सकिएन।’

जागिरबाट सेवानिवृत्त हुनुअघि नै कागती खेतीमा हात हालेका थिए। जग्गामा बाउन्ड्री गरेर कागती खेती सुरु गरेका थिए। मेहनत अहिलेजस्तै गरे पनि उत्पादन भने खासै भएन। ‘कागती खेतीमात्रै गरेर नहुने रहेछ भनेर जग्गाको केही भागमा ड्रागनफल रोपेँ र केही भागमा बंगुर पालेँ,’ उनले सुनाए।

सुरुमा तीनवटा काम गरे पनि उनले अहिले ड्रागनफल खेतीमात्रै गरिरहेका छन्। सुरुमा ३० वटा बंगुर पाले। तर बंगुरपालन आफूलाई फलिफाप नभएको उनको भनाइ छ। त्यसैले पाँच महिनाअघि बंगुर पनि उनले हटाए।

‘दुई वर्षअघिसम्म बंगुरको राम्रै उत्पादन र व्यापार थियो,’ उनले भने, ‘पछिल्लो समय उत्पादन धेरै भएर होला व्यापार घट्यो। बंगुरपालन गर्ने कृषक धेरै भएकाले उत्पादन बढ्यो, बजार घट्यो। बजार नै नपाएका कारण बंगुर फार्म बन्द गर्नुपर्ने अवस्था आयो।’

कागती खेती र बंगुरपालनमा सफलता नपाए पनि कृष्णले हरेस भने खाएनन्। ड्रागनफल खेतीमा लागिरहे। निरन्तरको मेहनतले आज सफलताको बाटोमा लम्किरहेका छन्।

ड्रागनफल खेतीबाट गत वर्षमात्रै ३५ लाख रुपैयाँको कारोबार गरे। ‘एक बिघामा ड्रागनफल खेती गर्न करिब १८ लाख रुपैयाँ लागत लाग्छ,’ उनले भने, ‘अनि वार्षिक कारोबार ३५ लाख रुपैयाँभन्दा बढीको हुन्छ। सुरुवातमा भने अलि धेरै लगानी गर्नुपर्छ। तर एकपटक लगानी गरिसकेपछि पटकपटक लगानी गर्नुपर्दैन।’ कर्मचारीको तलब, मल लगायतमा वार्षिक पाँचदेखि ६ लाख रुपैयाँसम्म खर्च हुने उनी बताउँछन्।

यहाँ उत्पादन भएको ड्रागनफल धरान, इटहरी, विराटनगरदेखि काठमाडौँसम्म खपत हुँदै आएको छ। उत्पादनको बजारीकरण गर्न सरकारले सहजीकरण गर्नुपर्ने कृष्णको भनाइ छ। ‘अहिले किसानले आफ्नो बलबुताले भ्याएसम्म व्यवस्थापन गरिरहेका छन्,’ उनले भने, ‘तर एकै व्यक्ति वा कृषकको प्रयासले मात्र सम्भव हुँदैन।’

कृषिबाट कृषकलाई मात्रै होइन सम्पूर्ण समुदाय र समग्र राज्यलाई नै फाइदा पुग्ने उनी बताउँछन्। ‘कृषि उत्पादनमुखी र बजारीकरण भएमा कुनै एक व्यक्तिको मात्र आर्थिक समृद्धि हुँदैन,’ उनले भने, ‘सम्पूर्ण समुदाय र राज्यको नै समृद्धि हुन्छ।’

स्वदेशमा केही गर्नेहरू

प्रकाशित: ३१ वैशाख २०८० ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =