स्वदेशमै सफल

२१ हजारलाई सीप सिकाउने रामकली

विजय नेपाल ३१ वैशाख २०८० १६:३४
48
SHARES
२१ हजारलाई सीप सिकाउने रामकली रामकली खड्का

दुर्गम हुम्लामा सिकेको एउटा सीप चार दशकदेखि पोखरामा फैलिइरहेको छ। एक वा दुई जनाले होइन त्यो सीप २१ हजारले सिकिसकेका छन्।

६४ वर्षीया रामकली खड्काले हजारौँ महिलालाई सिलाइबुनाइ, स्वास्थ्य, प्रौढशिक्षा, कानुनी परामर्शलगायत तालिम दिइसकेकी छन्। तालिम लिएकामध्ये अधिकांश सानोतिनो आयआर्जन गर्न सफल भएर जीविकोपार्जन गरिहरका छन्। एकल, अपांगता भएका, आर्थिक अवस्था कमजोर रहेका महिलालाई तालिममा प्राथमिकता दिने गरेको रामकली बताउँछिन्।

महिलाको आर्थिक सशक्तीकरणमा महिला सीप विकास संस्थाकी कार्यकारी निर्देशक रामकलीको योगदान अतुलनीय छ।

हुम्लामा हुर्किएर काठमाडौँ हुँदै ४६ वर्षअघि रामकली पोखरा आएकी हुन्। जवानीमा पोखरा आएकी उनी महिला सशक्तीकरणमा लाग्दालाग्दै उमेर गएको पत्तै भएन। बुढ्यौली छिरिसक्दा पनि उनमा जोसजाँगर हराएको छैन। भन्छिन्, ‘महिला दिदीबहिनी घरमा त्यत्तिकै बसेर समय खेर फाल्नु हुन्न। केही न केही तालिम लिनुपर्छ। अलिकति पुँजी भएका महिलाले चार जनालाई रोजगारी दिए पनि राम्रो हुन्छ।’

२०१२ सालमा हुम्लाको मुचुमा जन्मिएकी हुन्, रामकली। त्यहाँको स्थानीय खासरपानीमा विद्यालयस्तरको अध्ययन सकेपछि उच्चशिक्षाका लागि सदरमुकाम सिमकोट झरिन्। गाउँमा उनको नाममा ‘आवा’ आयो। अहिलेजस्तो टेलिफोनको सुविधा थिएन। ईमेल, इन्टरनेट त परैको कुरा। छनोट परीक्षामा सफल भएकी उनले २०२९ सालमा काठमाडौँ आएर महिला स्वयंसेविका तालिम लिने अवसर पाइन्। त्यसबेला १८ महिने गृह विज्ञानअन्तर्गत विभिन्न प्रकारका तालिम लिइन्।

तालिमपछि काठमाडौँमै रहेर अन्य महिलालाई सीप सिकाउन थालिन्। २०३२ सालमा लोकसेवा आयोगको परीक्षामा नाम निस्कियो। खरिदारसरहको महिला कार्यकर्ताका रूपमा उनी तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयअन्तर्गत पोखरामा महिला तालिम केन्द्रमा नियुक्त भइन्। २१ वर्षसम्म निजामती सेवाकै सिलसिलामा महिलालाई आत्मनिर्भर बनाउने तरिका सिकाउँदासिकाउँदै उनी अहिले यो स्थानमा आइपुगेकी हुन्।

पोखरा आएकै वर्ष रामकलीले अन्तर्राष्ट्रिय नारी दिवस अवसर पारेर पोखराको दीपमा महिला प्रशिक्षण केन्द्र सञ्चालन गरिन्। जागिरका क्रममा पोखरामा रहँदा उनलाई गाउँ घुम्ने अवसर मिल्यो। त्यहाँका महिलाको दयनीय अवस्था देखेपछि सशक्तीकरणका लागि सीप महत्त्वपूर्ण रहेछ भन्ने लाग्यो उनलाई। त्यसैले प्रशिक्षण केन्द्र खोल्ने सोच पलाएको उनी बताउँछिन्।

करिब १२ हजार रुपैयाँबाट सुरु गरेको उक्त संस्थाको हाल पुँजी करोडौँ पुगेको छ। लाखौँ आम्दानी गर्न सक्ने गरी महिलाले सीप आर्जन गरेका छन्। पोखरा महिला सीप विकास प्रालिले वार्षिक दुई करोड रुपैयाँ कारोबार गर्छ। यहाँ चानचुन एक हजार प्रकारका सामान बन्छन्। तान बुनाइबाट झोला, गुडिया, पर्स, उपहार सामग्री, गलैँचा, बैठक तथा भान्सा कोठाका सजावटका विभिन्न सामान उत्पादन हुन्छन्। पोखरामा गत वर्ष भएको हस्तकला मेलामा संस्थाले बनाएको १६ मिटर लामो गलैँचा उपहारस्वरूप बेलायत पठाइएको थियो।

यहाँबाट उत्पादित सामग्रीमध्ये ५० प्रतिशत भारत, अमेरिका, बेलायत, अस्टे«लिया, हङकङ, इटाली, जापान, ताइवानलगायत देशमा निर्यात हुने गरेको रामकली बताउँछिन्। कोरोनाअघि अझै राम्रो बजार थियो। त्यसबेला ७० प्रतिशतजति नै निर्यात हुन्थ्यो।

महिलालाई उद्यमशील बनाउने अभियानमा अघि बढेकी रामकलीले विगतमा परिवार नियोजन, महिलालाई प्रौढशिक्षा अभियान, छोरीलाई विद्यालय पठाउने संस्कारको विकास, कानुनी परामर्श दिने, आधुनिक चुल्हो, छोराछोरीमा भएको विभेदको न्यूनीकरणलगायत विषयमा वकालत गरिन्।

पोखरा दीप हुँदै सिर्जनाचोकमा सञ्चालित महिला सीप विकास संस्था २०७२ को भूकम्पपछि हट्नुपर्ने भयो। संस्थालाई करिब एक करोडको आर्थिक व्ययभार पर्न गयो। अर्को वर्ष उनले पोखराको सिमलचौरमै ३ रोपनी १० वर्षको लागि लिजमा लिएर कार्यालय स्थापना गरिन्। अहिले त्यही प्रधानकार्यालय छ।

कोरोनाअघि चार शाखा सञ्चालन रहेकोमा हाल लामाचौर र रिट्ठेपानी शाखामात्र सञ्चालित छन्। प्रधानकार्यालय र शाखामा गरी हाल विभिन्न प्याकेजमा करिब साढे तीन सय जनाले नियमित सीप सिकिरहेका छन्। कर्मचारी १८ जना छन्। तीमध्ये १२ जना प्रशिक्षक हुन्।

कर्मचारीलाई नेपाल सरकारले तोकेबमोजिमको तलबसुविधा दिने गरेको उनी बताउँछिन्। महिला सीप विकास संस्थाकै पहलमा २०६६ सालमा महिला सीप विकास बचत तथा ऋण सहकारी संस्था खुल्यो। सहकारीमा ४ सय ६६ जना सेयर सदस्य छन्। सेयर सदस्य सबै यही तालिम लिँदै आएका तथा कर्मचारीमात्र हुन्। सहकारीमा अध्यक्ष भई उनैले नेतृत्व लिएकी छन्।

शान्तिमाया थापा यहाँकी एक प्रशिक्षक हुन्। उनी यहाँ आबद्ध भएको ३३ पुग्यो। ‘सुरुबाटै आएकी हुँ,’ उनले भनिन्, ‘धेरै जनालाई सिकाएर पठाइयो। महिला सशक्तीकरणमा टेवा पुग्नुका साथै उनीहरूको घरखर्च टार्न सजिलो भएको छ।’

उनका अनुसार महिला, अशक्त, अपांगता भएकालाई अहिले पनि काम पाउन र आत्मनिर्भर बन्न सीपमूलक तालिम तथा अवसरको खाँचो छ। संस्थाले सो कुरा ख्याल गरी समाजमा पछि परेका महिला, विपन्न समुदाय, एकल, अपांगता, अशक्त एवं असहाय महिलालाई लक्षित गरी सीममूलक तालिम दिँदै आएको हो।

सुरुमा निःशुल्क तालिम प्रदान गरिन्छ। पछि रोजगारीको अवसर दिलाइन्छ। कतिपयले आफ्नै व्यवसाय गर्छन्। हस्ताकलाका सामानको बिक्री नै यहाँको मुख्य स्रोत हो। रङ, अल्लो, कटन, कपास, काठको टाँकलगायत कच्चा पदार्थ स्वदेशी प्रयोग हुने गरेको छ। केमिकल, जिपर (चेन), लकलगायत पदार्थ बाहिरबाट आउने गरेको रामकली बताउँछिन्। ‘मेहनत गर्नेले मासिक ३२ हजार रुपैयाँसम्म कमाउँछन्,’ उनले भनिन्।

संस्थाको कार्यालयका भित्ता रामकलीले प्राप्त गरेका पुरस्कार तथा सम्मानपत्रले भरिएका छन्। यो नै संस्थाको प्रशंसनीय कामको मानक हो। सीप सिकेर महिला सशक्तीकरणसँगै आत्मनिर्भरमा लाग्न सके रोजगारीको लागि विदेश भौँतारिनु पर्दैन भन्ने उनको भनाइ छ।

प्रकाशित: ३१ वैशाख २०८० १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =