स्वदेशमै सफल

पुर्ख्यौली पेसाले दिलाएको सफलता

विनोद परियार ३१ वैशाख २०८० ९:१५
88
SHARES
पुर्ख्यौली पेसाले दिलाएको सफलता

‘नेपालमा केही गर्न सकिन्न’ भन्ने युवाका लागि बुटवलका रामकुमार रणपाल गतिला उदाहरण बनेका छन्। उहिलेदेखि स्वदेशमै उद्यम गरेर उनी आजका युवाका लागि प्रेरणाको स्रोत बनेका छन्।

बुटवलवासीमाझ कपडा तथा सिलाइ व्यवसायीको परिचय बनाएका छन्। पुर्ख्यौली पेसाबाट आत्मनिर्भर बनेर उनले उदाहरणीय काम गरेको भन्नेहरू धेरै छन् बुटवलमा।

‘नेपालमा भविष्य छैन’ भन्दै विदेश जाने युवाको ताँती देख्दा रामकुमारको मन कुँडिन्छ। ‘काम गर्नेका लागि त नेपालमै धेरै काम छ,’ उनले भने, ‘मेहनत गर्न सक्नुपर्छ। आफ्नै देशमा केही गर्नुपर्छ।’

२०१० सालमा पाल्पाको मैनादीमा जन्मिएका रामकुमारको बुटवलको मुख्य बजार अमरपथमा ‘न्यु फेमस टेलरिङ’ छ। टेलरिङ उनको पुर्ख्यौली पेसा हो। सानो छँदा घरमा बुबा कुलबहादुर रणपालले कपडा सिलाएको देख्थे। बुबालाई देखेर उनले पनि मेसिन चलाउन सिके। दाजुभाइ कोही बिदेसिएका थिए। कोही कृषिमा व्यस्त। ‘दाइभाइले काम गर्न थाले पनि घरखर्च बुबाकै भरमा थियो,’ उनले सुनाए।

बुबाले जेनतेन घरपरिवार हेरिरहेका थिए। यहीबीच बुबाको निधन भयो। त्यतिखेर रामकुमार १३ वर्षका थिए। बुबा नभएपछि घरलाई संकटले घेर्‍यो। काँधमा सबै जिम्मेवारी आइलाग्यो। संघर्षका दिन सुरु भए। आर्थिक अवस्था दिनानुदिन खस्किँदै गएपछि रामकुमार घर छोड्न बाध्य भए। गाउँका एक जना दाइसँग २०२४ सालमा बुटवल झरे।

बुटवल त आए तर साँझबिहानको छाक टार्न गाह्रो भयो। हातमा काम थिएन तर बुबाबाट सिकेको सीपचाहिँ थियो। ‘बुबाले सीपले अप्ठ्यारोमा सहयोग गर्छ भनेर सिलाउन सिकाउनुभएको हो,’ उनले भने।

अमरपथमा रहेको मस्यामे कान्छाको टेलरिङमा काम गर्न थाले। यस कामबाट जसोतसो खाना खर्च जुटाउँथे। एक वर्ष त्यहाँ काम गरेपछि रुमाले साहुको पिँढीमा सिलाउन सुरु गरे।

‘सुरुसुरुमा काम त्यति सफा थिएन,’ रामकुमारले सम्झिए, ‘बम्बईबाट आएका अमर सिंहले काम सिकाए। बुबाले सिकाएको सीपमा निखार ल्याउने काम गरे।’ अमर सिंहसँग तीन वर्षसम्म कटिङ सिके। उनलाई आफ्नो गुरु मान्छन्, रामकुमार।

‘त्यतिखेर बुटवलमा एकाधमात्रै कोट मास्टर थिए,’ रामकुमारले बेलीविस्तार लगाए, ‘रातभर पुरानो कोट उधार्थेँ बिहान त्यही उधारेको कोट हेरेर कटिङ गर्थेँ। यसरी कोटको कटिङ सिकेँ।’

करिब तीन वर्षजति रुमाले साहुकहाँ काम गरेपछि आफ्नै काम गर्ने हिम्मत गरे। ‘तीन सयमा एउटा सिलाइ मेसिन किनेँ,’ उतिखेर सम्झिँदै रामकुमारले भने, ‘अनि लुगा सिलाउन थालेँ।’

कामले बिस्तारै गति लियो। अलिअलि आम्दानी हुन थालेपछि २०२८ सालतिर दुइटा सिलाइ मेसिन र एउटा इन्टरलक मेसिन थपे। ‘मेहनत गर्नेले निराश हुनु पर्दैन,’ उनले भने, ‘यहाँ त मेहनतै नगरी निराश हुनेहरू भएर पो समस्या छ।’ पाँच दशकको व्यावसायिक यात्रामा रामकुमारले पसलमा सिलाइ मेसिनमात्र थपेनन्, लुगालत्ता पनि राखे।

अहिले उनको पसल सटिङ सुटिङसहितको व्यवस्थित पसलमा परिणत भएको छ। ‘रित्तै पाल्पाबाट बुटवल झरेको हुँ,’ उनले भने, ‘अनवरत संघर्षकै कारण अहिले व्यवसायमा सफल बनेको छु।’ उनको ‘न्यु फेमस’मा ३१ जनाले रोजगारी पाएका छन्। बुटवलको अमरपथमा आफ्नै निवासमा कपडासहितको टेलरिङ सञ्चालन गरेका छन्।

रामकुमारले काम सुरु गर्दाताका सर्ट सिलाएको ज्याला सात रुपैयाँ थियो भने पाइन्ट सिलाएबापत १८ रुपैयाँ पाउँथे। बाल्यकालदेखि गरिबी देखेका उनले परिवारको आर्थिक अवस्था उकास्न दिनरात काम गरे। मेहनत गरे। ‘देशमै केही गर्नु थियो,’ उनले सुनाए, ‘त्यसैले भोकप्यास, घामपानी केही नभनेर रातदिन काम गरेँ।’

त्यही दुःख र मेहनतका बलबुतामा रामकुमारले बुटवलमा घर बनाउन सके। अहिले त्यसै घरमा पसल सञ्चालन गरेका छन्। ‘आफ्नो घरमा पसल राख्ने सपना थियो,’ आफूलाई भुइँमान्छे भन्न रुचाउने रामकुमारले भने, ‘६० वर्षको उमेरमा त्यो सपना पूरा गरेँ।’

रामकुमार उमेरले ७० वर्ष पुगेका छन्। काममा अहिले पनि उस्तै सक्रिय छन्। दैनिक पसलमा खटिन्छन्। बुटवलमा कपडा राखेर टेलरिङ गर्नेमध्ये एक हुन्, उनी। ‘सुरुताका दमाईंले कपडा राख्यो भनेर बजारभरि चर्चा हुन्थ्यो,’ विगत सम्झिँदै उनले भने, ‘काम पनि यसले वा त्यसले गर्ने वा नगर्ने हुन्छ र!’ २०४२ सालयता अमरपथमा ‘न्यु फेमस’ नामले टेलरिङ सञ्चालन गर्दै आएका छन्।

हरेक वर्ष दसैँमा उनले त्यही पुरानो सिलाइ मेसिनको पूजा गर्छन्। ‘धेरैले थोत्रो मेसिनको पूजा गरेको भन्छन्,’ उनले भने, ‘तर आज मलाई यहाँसम्म पुर्‍याउने यही मेसिन हो।’

२०३१ सालमा अर्घाखाँची खिदिमकी सीता परियारसँग विवाह गरेका रामकुमारका दुई छोरा र पाँच छोरी छन्। दुवै छोरा बुबाको सिलाइ र कपडा व्यवसायसँग जोडिएका छन्।

फिल्मको दृश्यमा रामकुमार।

कलाकार रामकुमार

रामकुमार व्यवसायीमात्रै होइनन्, उनी कलाकार पनि हुन्। सानैदेखि कलाकारितामा रुचि भएका उनले फिल्ममा अभिनयमात्र गरेका छैनन्, लोकगीतसमेत गाएका छन्। २०३७ सालमा लोकबहादुर क्षेत्रीसँग ‘गोर्खा राइफल’ बोलको गीत रेडियो नेपालमा गाएका थिए। अरू गीत पनि गाएका छन्। २०३७ सालमा पदमसिंह गुरुङको फिल्म ‘पागल प्रेम’मा उनको अभिनय छ।

त्यसबाहेक ‘देउकी’, ‘घरसंसार’, ‘आमाको माया’, ‘सारंगी’, ‘सहर’, ‘रिक्सावाला न्यायदाता’लगायत फिल्ममा पनि उनले अभिनय गरेका छन्। बुटवलका स्थानीय टेलिभिजनबाट प्रसारण हुने टेलिसिरियलमा पनि अभिनय गरेका छन्। ‘ब्रेक फेल’, ‘लल भइहाल्छ’, ‘झड्का’, ‘तिम्रो माया’ र ‘हरिबिजोग’मा उनको अभिनय छ।

३२ वटा फिल्ममा ड्रेस डिजाइनरका रूपमा काम गरेका छन्। राजेश हमाल, सुनील थापालगायत कलाकारका लागि ड्रेस डिजाइन गरेको उनी बताउँछन्।

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको केन्द्रीय प्रथम उपाध्यक्ष, स्वतन्त्र सिलाइ व्यवसायी संघ रूपन्देहीको संस्थापक अध्यक्ष र अन्य सामाजिक संघसंस्थामा आबद्ध छन्, रामकुमार। रूपन्देहीको गजेडीमा मन्दिरसमेत स्थापना गरेका छन्। बिसे नगर्चीको सम्झनामा एउटा संस्था स्थापना गरेका छन्। बुटवल फुलबारीमा ‘बिसे नगर्ची’ प्रतिमासमेत बनाएका छन्। विभिन्न सम्मानबाट सम्मानित भएका छन्।

स्वदेशमा केही गर्नेहरू

प्रकाशित: ३१ वैशाख २०८० ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 17 =