स्वदेशमै सफल

पढाइ खर्च जुटाउन गरिएको कुखुरापालनले बनायो व्यवसायी

पदमराज भट्ट ३१ वैशाख २०८० १६:३४
86
SHARES
पढाइ खर्च जुटाउन गरिएको कुखुरापालनले बनायो व्यवसायी फाइल तस्बिर

कैलालीको गोदावरी नगरपालिका–८ मझगाउँको समैजी माध्यमिक विद्यालयको उत्तरपट्टि छ, उर्मिला पोल्ट्री फार्म। यसका सञ्चालक हुन् धनञ्जय चौधरी। परिवारको आर्थिक अवस्था कमजोर थियो। कक्षा ९ सम्म जसोतसो पढे उनले। त्यसपछि बुबा बनवारीलाल चौधरी छोरालाई पढाउन नसक्ने भए।

‘बुबाले अब पढाउन सकिँदैन, मजदुरी गरेर घरपरिवारलाई हेर्नुपर्छ भन्नुभयो,’ धनञ्जयले सम्झिए। जेठो सन्तान भएकाले बुबापछि घरको जिम्मेवारी उनकै काँधमा आयो।

तर धनञ्जयलाई मजदुरी गर्नु थिएन। उनलाई पढाइसँगै गर्न सकिने कुनै काम गर्नु थियो। त्यसैले मजदुरीको साटो कुखुरापालन रोजे। परिवारसामु सो प्रस्ताव राखे। घरपरिवारले कुखुरापालन गर्ने मञ्जुरी त दियो तर आर्थिक अवस्था तगारो बनिदियो। ऋण लिएरै पनि व्यवसाय सुरु गर्ने हुटहुटी पलाएपछि अन्ततः चौधरीले आफन्तबाट ३६ हजार रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरे।

बाँसको फार्मभित्र ब्वाइलरका दुई सय चल्लाबाट व्यवसाय सुरु गरे। मेहनत गरेपछि सोचेजस्तै सफलता मिल्दै गयो। फार्मको आकार पनि बढ्दै गयो। कामसँगै पढाइ पनि निरन्तर अगाडि बढिरह्यो। बिहान कुखुरालाई दानापानी दिएर स्कुल जान्थे, धनञ्जय। उनी पढ्न जाँदा बुबाले फार्म हेर्थे।

घामपानी, दिनरात नभई फार्ममा काम गरे। समयसँगै आर्थिक उन्नति गर्दै गए। अहिले त्यसै फार्ममा छ हजार लेयर्स जातको कुखुरासँगै अण्डा उत्पादन गरिरहेका छन्। आफूसँगै परिवारलाई पनि त्यस काममा जोडेका छन्। तीनजनालाई रोजगारीसमेत दिएका छन्। पोल्ट्री व्यवसाय गर्दै जाँदा उनले आवश्यकता ठानेर १२ कक्षाको पढाइपछि १८ महिने भेटनरी जेटीएसमेत पूरा गरे।

व्यावसायिक रूपमै कुखुरापालन गर्ने उद्देश्यले २०७५ सालमा बैंकबाट ५० लाख रुपैयाँ ऋण लिए। फार्मलाई व्यवस्थित बनाए। नियमित बैंकको ब्याज तिर्दै काम गरिरहेका छन्। बजारमा अण्डा र कुखुरा पुर्‍याउन बोलेरो जिप पनि खरिद गरेका छन्।

सुरुका चार वर्ष ब्वाइलर कुखुरा पालेका उनी अहिले अण्डा र मासुका लागि लेयर्स जातको कुखुरा पाल्दै आएका छन्। ब्वाइलर कुखुरा ४५ दिनमा नै बेच्न उपयुक्त हुन्छ भने लेयर्स जातको कुखुरा छ महिनासम्म पाल्नुपर्छ। त्यसपछि मात्रै अण्डा उत्पादन सुरु गर्छ। १८ महिनासम्म अण्डा उत्पादन हुन्छ। छ हजार कुखुराबाट दैनिक ५ हजार ५ सय अण्डा उत्पादन हुन्छ। धनञ्जयको फार्मको बजार कैलाली हो। धनगढी, सुखड, मसुरिया, टीकापुरसम्म उनले उत्पादन पुर्‍याउँदै आएका छन्।

२०७० सालमा उनले बंगुरपालन पनि गरेका थिए। तर त्यसबाट ठूलो नोक्सानी बेहोरे। ‘राति कसैले २९ वटा बंगुरलाई विष खुवाइदिएपछि १६ देखि २० लाख रुपैयाँसम्मको नोक्सानी बेहोरे,’ उनले सुनाए।

मेहनत गरेर आज यहाँसम्म आइपुगेकोमा खुसी छन, धनञ्जय। ‘जागिरका लागि कसैको अगाडि हात फैलाउन परेन,’ उनले भने, ‘मेहनत गरेर यहाँसम्म आइपुगेको हुँ। अरूलाई समेत जागिर दिएको छु।’

कसैबाट अनुदान पनि नलिएको उनी बताउँछन्। ‘आफैँ कमाइ गर्छु अर्काको भर परेको छैन,’ उनले भने, ‘झोलामा फारम बोकेर हिँड्नेले सरकारी अनुदान पाउँछन्। हामीजस्ता कृषकको त्यो निकायसम्म धाउने फुर्सद नै हुँदैन।’

व्यवसाय गरेको १० वर्षसम्म बजारबाट कुखुराका लागि आवश्यक दाना ल्याउँथे। अहिले ‘मिसन एन्ड सार्थक दाना उद्योग’ स्थापना गरी आफ्नो फार्मलाई चाहिने आवश्यक दानासमेत आफैँ उत्पादन गर्छन्। ‘बजारको भन्दा कम लागतमै दाना उत्पादन हुन्छ र गुणस्तरीयसमेत हुन्छ,’ उनले भने।

फार्ममा धनञ्जयले पढेको कलेजबाट विद्यार्थी आउने गरेका छन्। उनले विद्यार्थीहरू प्रशिक्षणसमेत दिने गरेका छन्।

प्रकाशित: ३१ वैशाख २०८० १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =