शीर्ष ६ का क्लबलाई पनि रेलिगेसनको चिन्ता

हिमाल प्रेस ३० वैशाख २०८० २२:२६
74
SHARES
शीर्ष ६ का क्लबलाई पनि रेलिगेसनको चिन्ता

काठमाडौँ- गत बिहीबार फ्रेन्ड्स क्लबलाई हराएपछि जावलाखेल युथ क्लबका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठको प्रतिक्रिया थियो, ‘अब चाहिँ रेलिगेसनबाट सुरक्षित भइयो।’ झट्ट सुन्दा यो प्रतिक्रिया ‘मिडटेबल’ क्लबका प्रशिक्षकको झैँ लाग्छ। तर होइन। जावलाखेल सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा छ।

कतिपयले भन्न सक्छन्, लिगको शीर्षस्थानमा पुगेको टिमकै प्रशिक्षकको यस्तो प्रतिक्रिया? हो। किनभने यसपालिको लिग नै यस्तै छ। पूरै अनिश्चितताले भरिएको। कसले कसलाई हराउँछ, पत्तो पाइँदैन। उसो त फुटबल भनेकै अनिश्चितताले भरिएको खेल हो नि। यो पनि भन्न पाइयो। तर लगभग ६५ प्रतिशत खेल सकिँदा पनि सम्भावित विजेता र रेलिगेसनमा पर्नसक्ने टिमबारे अनुमान गर्न नसकिने लिग बिरलै हुन्छ।

जावलाखेलसँग १७ खेलबाट ३० अंक छ। दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेडसँग पनि त्यत्ति नै अंक छ। खासमा चर्च ब्वाइज शनिबार लिग लिडर बन्न सक्थ्यो। तर त्रिभुवन आर्मी फुटबल क्लबसँग १-० ले हारेपछि चर्च ब्वाइजको चाहनामा ‘ब्रेक’ लागेको हो।

शीर्ष चारको अन्य दुई स्थान मछिन्द्र क्लब र सातदोबाटो युथ क्लबले ओगटेका छन्। यी दुईले शनिबार आआफ्ना खेल जिते। मछिन्द्रले पाँचौँ स्थानको थ्रीस्टार क्लबलाई १-० ले हरायो। उता सातदोबाटोले एपीएफ क्लबमाथि ३-० को जित दर्ता ग¥यो। अब मछिन्द्रसँग २७ र सातदोबाटोसँग २६ अंक भएको छ।

लगातार छैटौँ खेलमा जितविहीन बनेको थ्रीस्टारसँग २५ अंक छ। जुन आर्मीको भन्दा एक अंक बढी हो। सातौँ स्थानको एपीएफले हालसम्म २२ अंक जम्मा गरेको छ। आठौँदेखि १० औँ स्थानसम्मका मनाङ मस्र्याङ्दी क्लब, न्युरोड टिम र हिमालयन शेर्पा क्लबसँग २१-२१ अंक छ।

अंक तालिका कसिलो छ। जसकारण बलिया मानिएका क्लबका प्रशिक्षकहरु पनि रेलिगेसनको खतरा महसुस गरिरहेको छन्। ‘आज जित्नै पर्ने थियो। नजितेको भए हामी पनि डेन्जर जोनमा पथ्यौँ। अंक तालिका नै त्यस्तै छ। तलका टिमहरुबाट दबाब बढिरहेको छ,’ सातदोबाटोका सनोज श्रेष्ठले भने।

एपीएफलाई पराजित नगरेको भए सातदोबाटो सातौँ स्थानमा झर्ने थियो। २३ अंकमै अड्किने थियो। जुन रेलिगेसन क्षेत्रबाट मात्र चार अंकले बढी हो। १४ क्लबसम्मिलित लिगमा १२ औँ र १३ औँ स्थानमा रहेका नेपाल पुलिस क्लब तथा फ्रेन्ड्स क्लबसँग १९-१९ अंक छ।

लिगमा अब नौ खेल खेल्न बाँकी रहँदा सातदोबाटो शीर्षस्थानबाट चार अंकले पर छ। यद्यपि सनोजले उपाधिबारे सोचेका छैनन्। ‘अब कम्तीमा दुई खेलको नतिजापछि मात्र भन्न सकिन्छ, सातदोबाटो उपाधि होडमा हुन्छ कि हुँदैन भनेर,’ सनोजले भने। सातदोबाटोले आगामी दुई खेलमा चर्च ब्वाइज र थ्रीस्टारको सामना गर्नेछ। अघिल्लो चरणमा सातदोबाटो यी दुवै क्लबसँग पराजित भएको थियो।

अंक तालिकाका आधारमा भन्दा सातदोबाटो पनि उपाधि दाबेदार हो। भलै सनोज संयमित देखिन्छन्। सनोजले आफ्नो टिमलाई उपाधि दाबेदार नमानिहालेको कारण पछिल्लो चार खेलको नतिजा पनि हो। ती खेलमा सातदोबाटोले एकनाशको खेल देखाउन सकेन। चार खेलमध्ये दुईमा हार, दुईमा जित अस्थिरताको प्रमाण हो। सातदोबाटो तुलनात्मक रुपमा खराब प्रदर्शन गरिरहेका संकटा क्लब र हिमालयन शेर्पासँग पराजित भएको थियो। त्यसैगरी मनाङ र मछिन्द्रसँग भने सातदाबोटोले बराबरी खेलेको थियो।

दशरथ रंगशालामा शनिबार साँझ विभागीय टिम एपीएफसँग आमनेसामने हुँदा भने सातदोबाटो आत्मविश्वासी देखियो। पहिलो हाफको सुरुवातमै गोल गरेका कारण आत्मविश्वासका साथ खेल्न सकेको सनोजको भनाइ थियो। ‘यो खेलमा हामी र एपीएफको नियन्त्रण उस्ताउस्तै थियो। तर सुरुवातमै गोल गर्नसक्दा हामीलाई सजिलो भयो,’ सनोजले भने।

सातदोबाटोलाई विलियाम ओपोकु एसिडेउले १३ औँ मिनेटमा अग्रता दिलाए। दीपक राज सिंह ठकुरीको लामो पास उपयोग गर्दै विलियामले ‘भली’ मार्फत गोल गरेका थिए। पहिलो हाफकै ३६ औँ मिनेटमा सातदोबाटोले अग्रता दोब्बर बनायो। यसपालि दीपक आफैँले गोल गरे। गोल गर्न सहयोग विलियामको रह्यो। गोलरक्षक अभिषेक बरालबाट आएको बललाई विलियामले हेडर गर्दै दीपक भएतिर पठाइदिएका थिए। जसलाई दीपकले गोलमा परिणत गरे।

यही वर्ष राष्ट्रिय टिमबाट डेब्यु गरेका दीपकले दोस्रो आफमा पनि गोल गरे। यो गोल काउन्टर अट्याकका कारण सम्भव भयो। एपीएफका नवीन लामाले प्रहार गरेको फ्रिकिक सातदोबाटोका रक्षक अब्दुल लतिफ अबुबकारीले हेडरमार्फत क्लियर गरे। त्यसपछि सुरज गुरुङले बल भेटे र सब्स्टिच्युट सुशिल लामाका लामो पास निकालिदिए। मैदानको भागबाट दौडिएर एपीएफको बक्स पुगेका दीपकले सुशिलको क्रस नियन्त्रणमा लिए र एपीएफका रक्षक विपन श्रेष्ठलाई बिट गर्दै प्रहार गरे। उनको प्रहार एपीएफका दोस्रो रोजाइका गोलरक्षक एन्जल श्रेष्ठले रोक्न सकेनन्।

दशरथ रंगशालामा दिउँसो आर्मीलाई विजयी बनाउन जिलेस्पी जंग कार्कीको गोल पर्याप्त भयो। पहिलो हाफ सकिनै लाग्दा आर्मीले फ्रिकिकको अवसर पाएको थियो। चर्च ब्वाइजका अन्जन विष्ट अफसाइड भएपछि आर्मीलाई फ्रिकिक दिइएको थियो। लगभग आफ्नै क्षेत्रमा पाएको फ्रिकिकलाई जितेन्द्र कार्कीले प्रहार गरे। उनको लामो प्रहारबाट प्राप्त बललाई जिलेप्सीले जाली चुमाए। कप्तान अनन्त तामाङ र विदेशी रक्षक फ्रान्किलिन कुएटे टल्लाको निगरानीमा रहे पनि जिलेप्सी हेडर गोल गर्न चुकेनन्।

जितपछि आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपान प्रशन्न देखिए। ‘खासमा हामीलाई रेलिगेसन क्षेत्रको दबाब थियो। यो दबाबबाट मुक्त हुन पनि आज जित्नु नै थियो। अंक तालिकामा उक्लिन पनि जितको आवश्यकता थियो। फेरि आफूभन्दा माथि रहेको टिमबाट अंक खोस्न सक्यौँ, झन् खुसी छु,’ नवीनले भने। आर्मी र रेलिगेस क्षेत्रबीचको दूरी अब पाँच अंकको भएको छ।

आर्मीले चार खेलपछि जित हात पारेको हो। संयोगवश आर्मीले पछिल्लो जित चर्च ब्वाइजविरुद्ध नै प्राप्त गरेको थियो। पहिलो स्थानबाट ६ अंकले टाढा रहेको आर्मी उपाधि दौडमा नरहेको नवीनले प्रस्ट पारे। ‘लिगमा हामीभन्दा बलिया टिम धेरै छन्। यसको कारण उनीहरुसँग भएका विदेशी खेलाडी हुन्। प्रतिद्वन्द्वी टिमका विदेशी खेलाडीले राम्रो खेल्नसाथ असर हामीलाई पर्छ। त्यसकारण उनीहरुसँग खेल्दा हाम्रो योजना विदेशी खेलाडीलाई रोक्ने हुन्छ। आज यो रणनीति सफल भयो,’ गत सिजन आर्मीलाई उपविजेता बनाएका नवीनको भनाइ थियो।

उता चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जन आफ्ना खेलाडीको प्रदर्शनमा निकै असन्तुष्ट देखिए। ‘मेरा खेलाडीले यत्तिको खराब खेल्छन् भनेर सोचेको थिइनँ। उनीहरुले आफ्नो स्तर अनुसारको खेल नै देखाउन सकेनन्। साना साना गल्ती गरिरहे। विदेशी खेलाडीले समेत डिफेन्ड गर्न सकेनन्,’ बालगोपालले भने, ‘गोलरक्षक र रक्षक अग्ला छन्। त्यो हेडर (जिलेस्पीको) सजिलै रोक्नु पर्ने थियो। अंक तालिकाको स्थान अनुसारको प्रदर्शन भएन। यसरी लिग जित्न गाह्रो हुन्छ।’

प्रकाशित: ३० वैशाख २०८० २२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =