एमाले नेता महेश बस्नेतको प्रस्ताव : संघीयता पुनरावलोकन गरौँ

हिमाल प्रेस २९ वैशाख २०८० १८:२४
28
SHARES
एमाले नेता महेश बस्नेतको प्रस्ताव : संघीयता पुनरावलोकन गरौँ

काठमाडौँ- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संघीयताबारे सोच्नुपर्ने अवस्था आएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय समिति बैठकमा नेता बस्नेतले संघीयताबारे पुनर्विचार गर्नुपर्ने अवस्था आएको प्रस्ताव पेस गरेका हुन्।

त्यस्तै उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधि तथा सबै नेताको सम्पत्ति हरेक वर्ष सार्वजनिक गर्नुपर्ने प्रस्ताव गरेका छन्। बस्नेतले ११ बुँदे सुझाव पार्टी नेतृत्वलाई दिएका छन्।

यस्तो छ बस्नेतले दिएको सुझाव तथा प्रस्ताव

१) विज्ञ सदस्य बनाऊँ। विविध क्षेत्र, पेशागत , ब्यवसायिक र सामाजिक क्षेत्रका १६ देखि २५ वर्षका नव युवा र महिलाहरूलाई फोकस गरेर डिजिटल सदस्यता आह्वान गरौँ। त्यसको ३ महिनापछि ती सदस्यहरूलाई संगठित गरी पार्टी नेता र मुलुक हाक्ने जनप्रतिनिधि बनाऊँ।

२) युवाहरूलाई उनीहरूको आधारभूत आवश्यकता पूरा गराउन शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता विकास हुने गरि निर्वाचित जनप्रतिनिधिहरूलाई खटाउने र पार्टी कमिटी पनि त्यही उद्देश्य पूरा गर्ने गरि दक्ष साथीहरू राखेर जाऊँ।

३) पार्टीले विगतमा गरेको महत्वपूर्ण उपलब्धी ब्यापक प्रचार गर्ने नयाँ कार्यक्रमहरूलाई ब्राण्डिङ गरेर प्रचार गरौँ।

४) विगतमा भएका कमीकमजोरीको समीक्षा गरौँ। गल्ती सुधार गर्दै सुशासन दिने भ्रष्टाचार उन्मुलन गर्ने र असल समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाऊँ।

५) पार्टी नेताहरू र जनप्रतिनिधिहरूको सम्पत्ति विवरण सार्वजनिक गरौँ। र त्यसलाई वर्षैपिच्छे अद्यावधिक गरौँ।

६) संघीयताको पुनरावलोकन गरौँ। शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाऊँ। निर्वाचन कम खर्चिलो बनाऊँ। राजनैतिक स्थिरताका लागि दुई दलीय व्यवस्था अथवा ५ प्रतिशत थ्रेस होल्ड राखौँ।

७) दुई कार्यकाल प्रधानमन्त्री ३ कार्यकाल मन्त्री र ४ कार्यकाल सांसद भन्दा बढी हुन नपाउने संवैधानिक ब्यवस्था गरौँ।

८) पार्टीको केन्द्र र प्रदेश कमिटीमा २५ प्रतिशत जिल्ला र स्थानीय तहको कमिटीमा ३५ प्रतिशत ४० वर्षमुनिका युवा प्रतिनिधित्व ग्यारिन्टी गरौँ।

९) युवा संघको उमेरहद ३५ वर्ष, अनेरास्ववियुको ३० वर्ष र पार्टीको सबै तहमा जनसंगठन परिचालन संयन्त्र निर्माण गरौँ।

१०) सोसियल मिडिया र मिडिया परिचालन, कानुनी क्षेत्र, प्रचारको क्षेत्र, युवा विद्यार्थीको परिचालन, परराष्ट्र क्षेत्र, प्रवासको काम कमजोर भएकाले यो क्षेत्रमा सही स्मार्ट र क्रियटिभ नेतृत्वलाई जिम्मा दिऊँ।

११) देशभक्त, जनवादी र प्रगतिशील शक्तिहरूको बीचमा एकता अभियान चलाउँदै साम्रज्यवादी , सामन्तवादी, यथस्थितिवादी र सस्तो लोकप्रियतावादीहरूकाविरुद्ध र तिनले सिर्जना गरेका भ्रम चिर्न लागौँ।

प्रकाशित: २९ वैशाख २०८० १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =