अन्तर्वार्ता

माओवादी र स्वतन्त्रहरूलाई कांग्रेस-एमाले मिलेर तह लगाउनुपर्छ : महेश बस्नेत

चन्द्रशेखर अधिकारी २५ भदौ २०८० २०:५२
240
SHARES
माओवादी र स्वतन्त्रहरूलाई कांग्रेस-एमाले मिलेर तह लगाउनुपर्छ : महेश बस्नेत

भक्तपुरको विकासमा चिनिएको नाम हो महेश बस्नेत। उनी आईएल (कानुनमा प्रवीणता प्रमाणपत्र) गर्दानगर्दै तत्कालीन गुण्डु गाविस ४ को वडाध्यक्ष बने। २०५४ सालमा २३ वर्षको उमेरमा गाविस अध्यक्षमा चुनिएपछि बस्नेत आफैँ साबेल लिएर विकासका काममा खटिन्थे। सोही कारण उनी भक्तपुरमा महेशबाबु र महेश दाइले चर्चित छन्। युवा संघ र युथ फोर्सको अध्यक्ष भएर तत्कालीन विद्रोही माओवादीको ज्यादतीसँग भिडेर बस्नेतले राजनीतिक क्षेत्रमा भिन्नै पहिचान बनाए। उद्योगमन्त्रीसमेत भइसकेका बस्नेत हाल एमाले पोलिटब्युरो सदस्य छन्। तर उनका लागि यी सबै नसोचेका कुरा हुन्। राम्रो लेखक/साहित्यकार बन्ने हुटहुटीमा रहेका बस्नेत सानैदेखि क्लब गठन गरेर काम गर्थे। गाउँमा भएको र गरेको काम चित्त नबुझेपछि आवाज उठाउँथे। यही क्रममा आफू राजनीतिमा प्रवेश गरेको उनलाई पत्तै भएनछ।

बस्‍नेतले गत निर्वाचनमा आफ्नो क्षेत्रमा हार व्यहोर्नुपर्‍यो। यद्यपि उनी हारमा बेखुसी छैनन्। आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकासमा कुनै पार्टी नभनी खटिएका छन्। पार्टी संगठन विस्तारमा जुटेका छन्। कुनै बेला बस्नेतलाई माओवादी नेतृत्व र आफ्नै पार्टीका झलनाथ खनाल र माधवकुमार नेपाललगायतले गुण्डा नाइकेको संज्ञा दिए। जसका कारण कतिपय स्थानमा बोल्न डराउने, हात मिलाउन डराउने समेत भयो। त्यसलाई स्पष्ट पार्न उनले उद्योगमन्त्री भएपछि ‘म महेश’ भन्ने पुस्तक लेखेका छन्। अहिले जिल्ला र प्रवास घुम्‍ने क्रममा उनले आफूलाई नम्र उही महेशबाबु र महेश दाइका रूपमा चिनाउन पाएको बताउँछन्। उनै युवा नेता बस्‍नेतसँग हिमाल प्रेसका चन्द्रशेखर अधिकारीले गरेको कुराकानीको सार :

फुर्सदमै त हुनुहुन्छ होला। पछिल्लो राजनीतिक अवस्था कस्तो देख्नुभएको छ?

म निर्वाचन हारेर फुर्सदमा त छैन। तर आफ्नो कुरा स्पष्ट राख्ने मौका पाएको छु। ममाथि लाग्ने गरेको आरोपलाई सामान्यीकरण गर्दै अघि बढेको छु्। आफ्नो काम र भेटघाटमा झनै सक्रिय छु। मैले चुनाव हार्दा संसद् र मेरो चुनावी क्षेत्रलाई नोक्सान भएको छ। जित्नेको आवाज खोइ त? कतै सुनिँदैन। म थोरै मतान्तरले हारेको हुँ। यहाँ मेरा पक्षधर पनि उत्तिकै छन्। कांग्रेस, एमाले, माओवादी, मजदुर किसान पार्टी केही भन्दिनँ। सबैको काममा अग्रसर हुन्छु। २० वर्ष नहुँदैदेखि आमनागरिकको कुरा सुन्ने र समस्या समाधान खोज्दै हिँडेको व्यक्ति हुनाले मलाई सांसद हुनु र नुहुनुमा खासै अन्तर छैन। म सांसद हुँदा पनि लोगो लगाएर हिँड्दैन थिएँ। आमनागरिकको काम गर्थेँ।  उमेरले भाइ भए पनि धेरैले दाइ भन्नुहुन्छ। मलाई पनि दाइ भनेको मन पर्दै आयो। बुवाआमाहरूले महेशबाबु भन्छन् नत्र म सबैको दाइ। उमेरले पाँच दशक लाग्दै गर्दा ६ दशक लागेकाको पनि दाइ!

मुलुक पूर्णत: अराजकतातिर गइसकेको छ। समयमै राजनीतिक दलहरू सक्रिय भएर नसम्हालेमा समस्या निम्तनेछ। माओवादी नेतृत्वको सरकार छ। गठबन्धन गरेर प्रचण्ड नेतृत्वमा पुगेका छन्। उनमा मुलुक चलाउने कुनै क्षमता छैन। प्रचण्ड आफ्नो राजनीतिको आखिरी खण्डमा जेनतेन अघि बढेका हुन्। कांग्रेसले आफ्नो सहजता मात्र नहेरी मुलुकको हितका लागि एमालेसँग मिलेर सरकार बनाएर सामाजिक सञ्जालको जगमा उदाएकाहरूलाई समेत तह लगाउनुपर्छ। कांग्रेस र एमाले नमिलेको भए मुलुकमा २०४६ सालको परिवर्तन हुने थिएन। गणतन्त्र आउने थिएन। अनि संविधान त परको कुरा! अहिले स्वतन्त्र भन्नेहरू पनि उदाउने थिएनन्। मौलाउँदो अराजकता र बेथितिको विरुद्ध अहिले फेरि का‌ंग्रेस-एमाले मिलेर अघि बढ्ने अनि स्वच्छ प्रतिस्पर्धा गर्ने समय आएको छ।

राजनीतिक दलभित्र पनि शुद्धीकरण आवश्यक छ। म एमालेको कार्यकर्ता भएकाले अर्को पार्टीको बेथिति देखिन्छ। कांग्रेसभित्र सच्चिन पर्ने धेरै पाटो देखेको छु। त्यस्तै एमालेभित्र पनि। हामीले एक प्रकारको न्यूनतम सहमति गरेर भ्रष्टाचारमा चुर्लुम्म डुबेकालाई कुनै पनि दल वा नेतृत्वले काखी नच्याप्ने बाचासहित निर्मम भएर अघि बढ्न सक्नुपर्छ। जसरी कांग्रेस र एमाले मिलेर संविधान आयो त्यसैगरी अबको राजनीतिक शुद्धीकरणमा पनि मिल्नुको विकल्प छैन।

माओवादी यसपटक पनि बुई चढेर जोगिएको हो। अन्यथा सकिन्थ्यो। प्रचण्डकै निर्वाचन प्रतिस्पर्धा हेरौँ न, अरू के कुरा गर्ने? अब यसलाई बचाउने उसलाई जोगाउने नभई सबैलाई कारबाहीको घेरामा ल्याउने गरी नेतृत्वले सहमति गरेर अघि बढ्न आवश्यक छ। आफ्नै दलका नेता नै किन नपरून् सबै सहमति गरेर अगाडि बढ्न आवश्यक छ।

नेपाली कांग्रेस र एमालेबीच सत्ता गठबन्धनबारे छलफल भइरहेको संकेत गर्न खोज्नुभएको हो?

पक्कै भएको हुनुपर्छ। औपचारिक रूपमा कुरा अघि बढेको त मलाई थाहा छैन। अनौपचारिक रूपमा एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको कुरा त बारम्बार उठिरहेकै छ। केही नेताहरू दुवै तर्फकाबाट बसेका पनि होलान। म त मिल्न पर्छ भनिरहेको छु भने म जस्ता अरू पनि पक्कै छन्। वर्तमान सरकारबाट मुलुक चल्दैचल्दैन। केटाकेटी खेलेको पाराले मुलुक चलाउने भए त जसले नि चलाइहाल्थ्यो नि। प्रचण्डको सत्ता सञ्चालन केटाकेटीले भाँडाकुटी खेलेको पाराको छ।

पैसा बैंकमा थुप्रिएको छ। आमनागरिकले त्यसलाई चलायमान बनाउन सकेका छैनन्। बजारमा आर्थिक मन्दी छ। घरजग्गा कारोबार शून्य छ। निर्माण व्यवसायीको रकम सरकारले तिर्नै सकेको छैन। यस्तो भद्रगोल कहिल्यै भएको थिएन। वर्तमान नेतृत्वले त मुलुकलाई तहसनहस पार्ने र नवयुवराज नवयुवराज्ञीको जगजगी गराउनेबाहेक अन्य काम गरेकै छैन। लाग्ला फाइल खोलेर भ्रष्टचारीलाई थुने। त्यो त मिलाउनका लागि गरिएको हो। त्यसैले चिन्तित दोस्रो पुस्ताका नेता कांग्रेस–एमाले मिलाउने गृहकार्यमा जुटेका छन्। कांग्रेसभित्रकै एउटा खेमा एमालेसँग मिल्नुपर्ने लबिङमा छ। पटकपटक अनौपचारिक बैठक भइसकेका छन्। तर त्यसको ठोस आकार आएको छैन। अब बिस्तारै आकार पनि लिनेछ। लिनुको विकल्प पनि त छैन।

अब देउवाको पालो आउँदै गर्दा गठबन्धन भत्किने आधार के छन्?

आलोपालो भने पनि आफ्नो राजनीतिको उत्तरार्द्धमा रहेका प्रचण्डले देउवालाई सहज सत्ता हस्तान्तरण गर्छन् भनेर बस्नु स्याललाई मासु पैँचो दिएर फिर्ता होला भनेर पर्खनुजस्तै हो। त्यही कुरा नमिलेर गठबन्धन भत्किने हो। यसमा देउवा सजग बन्न सक्नुपर्छ। किनकि त्यतिबेला प्रचण्ड ओलीको शरणमा नआउलान् भन्न सकिन्न। त्यसको आधार पनि प्रचण्डका तर्फबाट तयार भइरहेको संकेत पाएको छु। तर त्यही व्यक्तिलाई नेतृत्वमा राख्न हाम्रो अध्यक्ष केपी शर्मा ओली सकारात्मक हुनुहोला भन्ने लाग्दैन। दोस्रो तहबाट केही न केही पहल हुन्छ। यसमा ढुक्क भएर देउवा आफैँ नेतृत्वमा रहने गरी एमालेसँग सहकार्य गरेर अराजकतालाई निचोडमा पुर्‍याउन आवश्यक छ।

एमालेमा पनि केही असन्तुष्टि छन्। तर त्यो सम्बोधन भएमा पार्टीमा पनि सुधार हुनेछ। माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिँदा पनि पार्टी उस्तै अटल छ। पार्टीमा कत्ति पनि फरक पन आएको छैन। यस्तो अवस्थामा हामीले अर्को अब्बल पार्टी कांग्रेससँग सहकार्य गर्नुपर्छ। दुई पार्टी मिलेर मुलुकलाई अराजकताबाट स्थिरता र विकासमा लैजाने अवस्थामा किन सहकार्य नगर्ने? कसैको गफमा परेर अलमलिने बेला नै छैन। केही कमीकमजोरी पूर्व नेतृत्वबाट पनि भएको होला। केही कमीकमजोरी पूर्व राष्ट्रपतिबाट पनि भए होलान त्यस्ता तितामिठालाई मिलाएर अघि बढ्न आवश्यक छ।

भ्रष्टाचारको विषय आयो कि केपी शर्मा ओलीलाई नै जोड्छन्। कतै एमाले सरकारमा जान खोज्नुको कारण आफूलाई जोगाउन त होइन नि?

यहाँ अहिले केको भ्रष्टाचारविरोधी काम भएको छ र? चिलले चल्ला लग्यो भन्ने तल चल्ला आफूले लैजाने काम भएको छ। आफ्नै मातहतका कर्मचारीले कहाँ के गर्‍यो भन्ने थाहा नहुने अनि भारतीय सूचनाका आधारमा काम गर्नेले कसरी भ्रष्टाचार रोक्छन् भनेर पत्याउने? प्रकरणहरू केलाउँदै जाँदा सरकारको नेतृत्व गर्ने मानिस जेल पर्छन्। अरूको फाइल खोलेर तर्साउने काम गरेका छन्। फाइल खोलेर मिलाउने र सधैँका लागि बन्द गर्ने नीतिमा प्रचण्ड अघि बढेका हुन्।

बालुवाटार प्रकरण टुंगो लागेको त छैन। सुनकाण्ड कहाँ पुग्यो? सुनसुन भने, क्विन्टलबाट साठी केजीमा झारे। उता पशुपतिमा चढाएको जलहरी झिकेर जोखे। केही नपाएर अहिले ओम्नी, यती होल्डिङ्स र गिरी बन्धुमा अल्झेका छन्। सबै खोले हुन्छ, अनुसन्धान गरे हुन्छ। बालुवाटार प्रकरणमा किन रोकिएको? शरणार्थी प्रकरणमा पहिला एमाले भनियो। किनकि टोपबहादुर रायमाझी परे नि। टेकनाथ रिजाल पक्राउ परेपछि रायमाझीले अध्यक्ष प्रचण्डसँगको भेटपछि सबै काम गरेको बताए। त्यसैले मैले पहिलेदेखि नै भन्दै आएको छु, यो कार्य फाइल खोल्ने होइन मिलाउने काम भइरहेको छ। काजी, बहादुर, प्रसाद जो आए पनि माथिबाट डण्डा हानेपछि के गर्ने? त्यही भएको छ। अहिले पनि काजीसाब (उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ) लागिरहेका छन्। तर उनलाई केमा कसरी कसलाई कारबाही गर्ने भन्ने नै थाहा छैन। उनी आफैँ अलमलमा छन्।

उसो भए प्रचण्ड आफैँ सकिन लागेको अवस्था छ र उहाँबाट मुलुकले आस गर्ने स्थान छैन भन्ने हो?

पक्कै, प्रचण्ड राजनीतिको उत्तरार्द्धतिर छन्। त्यसैले उनी अहिले युरोप मिलाउने, अमेरिकालाई खुसी पार्न आफ्नो तर्फबाट कुनै पनि कसर नराख्ने गरी लागेका छन्। प्रचण्डको यो प्रवृत्ति हो- अमेरिका र युरोपसँग सम्बन्ध सुधार्ने, भारतसँग तलैसम्म झुक्ने त्यसका लागि गेरुवस्त्र लगाउनुपरे पनि लगाउने। जे पनि हुन्छ भनिदिने। त्यसको पुरानो सम्झौता के थियो, कस्तो हुन्छ, केही नभन्ने? यस्तो कार्यले पनि प्रचण्डको हविगत देखाउँछ।

म युथफोर्समा हुँदा प्रचण्डको वाईसीएललाई भक्तपुरमा त प्रवेश थिएन। उनीहरूलाई महेश नेतृत्व टिमले छिन्नभिन्न पार्थ्यो। त्यही कारण मलाई अनेकन् बिल्ला भिराए। त्यो बिल्ला सबै झुट थिए। आफूले नसकेपछि अनेकन् भन्ने बानी उनको अझै छ। अनि भन्छन् भावुक हुन्छु र बोलिहाल्छु। तर उनको यो भन्ने बानी हो। भावुक मानिसले सशस्त्र द्वन्द्व गरेर यतिका मानिस मार्छ र? उनले भनेको जे पनि पत्याउन पर्ने। सफेद झुट बोल्छन्। कालोलाई सेतो सेताेलाई कालो भनिरहेका हुन्छन्।

ओली नाकाबन्दीसंँग जुधे। भारत चीनसँग राम्रै सम्पर्क राखे अमेरिकालाई पनि खुसी पारे। चुच्चे नक्सा पनि ल्याए। तर अहिले प्रचण्डले के गरेका छन्? ल्याएको नक्सासमेत आफ्नो हो भनेर भन्न सकेका छैनन्। चीनले पुरानै नक्सा राख्दासमेत बोल्न सकेका छैनन्। भारतमा जी २० सम्मेलन भयो खै नेपाल?  भारतमा रहेका राजदूत के गरिरहेका छन्? उनलाई निर्देशन दिने सरकार के गर्दैछ? यो विषय सामान्य लाग्ला तर सोचनीय छ। न भारतमा भएका राजदूतले केही गरेका छन् न त चीनमा भएकाले। यस्तो अवस्था पहिले कहिल्यै थिएन।

चिनियाँ राजदूतसँग कुरा गर्न सकेका छैनन्। हाम्रो कूटनीतिक संयन्त्र कहाँ छ? के गर्दैछ? यस्ता विषयमा मौन बसेर के सन्देश दिन खोजिएको हो? परराष्ट्रमन्त्रीको कुरा सुन्दा पनि लाज लाग्छ। ओलीको पालामा के भएन? कैयन् समयदेखि नबनेको हुलाकी राजमार्गको निर्माण तयार भयो। हामी मधेशमा कसरी बलियो भयौँ? त्यही विकासले हो। ओलीको समयमा कति हाइड्रोपावर बने? कति किलोमिटर सडक बने नियाले हुन्छ नि? अहिले प्रचण्डले के गरिरहेका छन्? जताततै गफ दिएका छन्। आफ्ना कुरा आफैँ काटिरहेका हुन्छन्। अनि किन कांग्रेसले यस्ता मानिसलाई बोकेर हिँडेको? यो पो अचम्म छ त!

स्थापित र पुराना दलको यस्तै पाराले त नयाँ र स्वतन्त्रको उदय भएको होइन र?

पक्कै। तर उनीहरूको आफ्नो धरातल यसै कमजोर छ। तर उनीहरूले त अहिले धरातल नै भुलेका छन्। उनीहरूले मुलुक बनाउँछन् भनेर सोच्‍नु भनेको बालुवा मात्र राखेर घर बनाउँछु भन्नु जस्तो हो। किनकि ठमेलमा झुम्म हुने, थकालीमा चुठ्ने अनि सञ्जालमा जथाभाबी लेख्नेले सहर वा मुलुक बनाउँछ भनेर विश्वास गर्नु भनेको मुलुक कुन अवस्थामा गइरहेको छ भनेर सम्झनु हो। त्यस्ताबाट मुलुक बन्छ भनेर सोच्‍नु भनेको दलहरूले यसअघि गरेको कामको मूल्यांकन हुन छोड्नु हो। हो, दलहरूले गरेको त्याग र काम सामान्य छैनन् तर पछिल्लो चरणमा भ्रष्ट भएर बिग्रेको हो।

त्यस मामिलामा दलहरूबीच सहमति गरेर निर्मम हुँदै शुद्धीकरण गर्न आवश्यक छ। बहुदलीय व्यवस्थाको अर्को विकल्प हुनै सक्दैन। विश्वमा यसको विकल्प आएमा मात्र सोच्‍ने हो अहिले के आधारमा सोच्‍ने र? स्वतन्त्र आउनेहरू यसो कहिलेकाहीँ उछिट्टिएर आउने हुन्। त्यस्तो वातावरण त दलहरूले नै दिएका हुन्। यसमा सचेत भएर दलहरू पनि सच्चिन आवश्यक छ। दलका नेता नागरिक प्रति जिम्मेवार भएर अघि बढेमा यो बाहिरबाट आउने सबै खालको प्रक्रिया रोकिनेछ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहकै कुरा गरौँ। आफ्नो नगरको बजेट खर्च गर्न नसक्ने अनि मुलुक बनाउँछु भनेर र्‍याप हान्ने! महानगरपालिकाले पुरानै ठेक्कापट्टामा फोहोर बोकेको छ। सडकमा गाडी कहाँ रोक्ने कहाँ नरोक्ने छुट्याउन सकिएको छैन। भित्री सडकमा पार्किङ जथाभाबी छ। रातिमा सडकमा पार्क गरेका हुन्छन्। त्यसलाई उठाउने कारबाही गर्ने केही गर्न सकेको छैन। सार्वजनिक बस जहाँ पायो त्यहीँ रोकिएको छ। बालेन नेतृत्वको महानगरले यस्ता सामान्य कुरा त लयमा ल्याउन सकेको छैन। अनि डोजर लिएर खन्न हिँडेर मात्र हुन्छ? लोक गीतलाई र्‍यापमा ढाले जस्तो होइन। सहरी विकासले ठेक्का दिएर सिंहदरबारको फोहोर फालेको छ। महानगरले म सफा गर्दिनँ भनेर गफ दिई हिँडेको देख्दा अचम्मित नै हुन्छु।

अनि मेरा बारेमा अनेकन् अफवाह फैलाउनेले मेरा विगतबारे बुझ्न मेरो गाउँमा आएर सोधे हुन्छ। भक्तपुर क्षेत्र कसरी व्यवस्थित बनाइएको छ भनेर? पहिला सुधार गर्न बस स्टपहरू निश्चित गर्नुपर्छ। फोहोर उठाउने कामका लागि दिएको ठेक्काहरू ‘फ्री कम्पिटिसन’ मा दिनुपर्छ। आम नागरिकबाट अधिकतम रकम उठाएर बिचौलियालाई खुवाउने र त्यहाँबाट तर मारेका खबर पनि नभएका होइनन्। यसमा खै सुधार गरेको? एक घरबाट ४५०/५०० रुपैयाँ लिरहेका हुन्छन्। हप्तामा एक दिन फोहोर उठाएको हुन्छ। देख्दै डरलाग्दा ट्रिपर साँघुरा बाटामा पसेका हुन्छन्। यसमा खै सुधार गरेको? अनि आफ्नो श्रीमती चढेको गाडी रोक्यो र बिदाको दिन सरकारी गाडी किन भन्दा सबैलाई थर्काउने सिंहदरबारमा आगो लगाउँछु भन्ने र सरकारलाई चोर भन्ने? तराईको साह भन्न लाज लागेर ठकुरी शाहको धाक दिने अनि ९ दिन अघि जन्मेको बच्चा भुलेर सुत्केरी बेथा लागेकाे शैलीमा उनका हनुमानले लेख्ने। जसका कारण ‘रुटिन अफ नेपाल बन्द’ चलाउने भिक्टर भाइ पीडामा। युरोप घुमिरहेका उनले पेज नै बन्द गरेर बस्न पर्‍यो।

उता धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङको पारा त्यस्तै छ। ‘ए गुइँठे’ भनेको छ! जे पाए त्यही बोलेको छ। नेता भएर मात्र हुन्छ? संस्कार सिक्नु पर्दैन? धार्मिक द्वन्द्व गराउने शैलीमा उक्साउने काम भएको छ। यस्तालाई कारबाहीको दायरामा ल्याउनुपर्छ। अराजकता जसबाट भए पनि कारबाही हुनुपर्छ। जनताले मत अराजकताको लागि दिएका होइनन्। त्यो बुझ्न आवश्यक छ।

स्वतन्त्र पार्टीको गतिविधिलाई कसरी हेरिरहनुभएको छ नि?

पार्टी पनि स्वतन्त्र भन्ने हुन्छ? न कुनै मापन छ, कुनै एजेन्डा छ। जथाभाबी बोलेर मात्र पार्टी बन्दैन। सजिलो छैन पार्टी अघि बढाउन। पार्टीका सभापति रवि लामिछानेले ग्यालेक्सी टेलिभिजनमा करोडौँ घोटाला गरेको भनेर त्यसका लगानीकर्ताहरूले बारम्बार भनिरहेका छन्। निजी क्षेत्रमा यति घोटाला गर्नेले सरकारमा आउँदा वा डाडुपन्युँ पाउँदा कति गर्ला? यही सम्झिरहेको छु। हामीलाई एक स्थानमा दाग लगाउने ठाउँ छैन। तर अहिले आएको केही समयमा देखिने रवाफ हेर्नुस् न? यसबाटै स्पष्ट हुन्छ- स्वतन्त्र भन्नेहरूले कति खाएका छन् र के बोलिरहेका छन्। यसमा हामी स्पष्ट हुनुपर्छ। नयाँ आउनेहरू कागजको घरमा छन्। उनीहरूले केही गर्ने वाला छैनन्। आफैँ सक्किने हुन्। रविको विगत सम्झौँ, अध्ययन नियालौँ। सस्तो लोकप्रियतामा रम्नेहरूको हविगत विगतमा पनि देखिएकै हो। बालेन, रवि, हर्कको उदय नानीमैयाको दोस्रो भेरियन्ट हो। यो यसै सेलाएर जानेछ।

अनि विद्वान् भनेर आएका स्वर्णिम वाग्लेको हालत हेराैँ। उनले आफ्नो जीवनको ऊर्जाशील समय विदेशमा काम गरेर सके। विदेशी विवाह गरे। नभए विदेश जाने विकल्प राखे अनि अहिले यहाँ गफ दिएर हिँडेका छन्। उनले किन गफ दिने? उनले उमेरमा आफ्ना लागि काम गरे। अहिले पनि यहाँ एक हस्ताक्षर गरेर करोडौँ कमाउन पाउँछु भन्ने आसले आएका हुन्। बाहिर घोटिएर काम गर्दा पनि १०/१२ लाख हो यहाँ त योजना आयोगमा रहँदा सामान्य नीति तलमाथि गर्दा कैयन् गुणा हुने भनेर अमेरिकामा उनले सुनाएको खबर आउँछ। यस्ता कुराहरूले गर्दा स्वतन्त्र भन्ने र दलबाट बाहिरबाट उठ्नेहरूको कुनै तुक छैन। उनीहरू त सामाजिक सञ्जालको दुरुपयोग गरेर अघि बढेका हुन्।

यहाँको बुझाइमा आगामी निर्वाचनमा स्वतन्त्र पार्टी आफ्नै कारण सकिनेछ भन्ने हो? 

यसमा पनि कुनै श‌ंका छ र? तत्काल नै भएको उपनिर्वाचनमा नै उनीहरूपछि पर्थे। दलहरू मिलेर वा मिलेको सन्देश दिन सकेकाे भए। जनाधार नभएकाे दलसँग कांग्रेसले सहकार्य गर्छ। अनि कसरी हुन्छ। कांग्रेस एमाले मिलेर नै यस्तलाई सक्नुपर्छ। र भ्रममा रहेकाे विदेशमा पसिना बगाएकाबाट उठाएको पैसाले अहिले त जिते पनि अर्कोमा सहज छैन। सबैले वास्तविकता बुझिसके। हुन त दलहरूको पनि चेत खुल्नुपर्छ। दलभित्रै पनि सच्चिन पर्ने धेरै कुरा धेरै छन्। यसमा ध्यान दिनुपर्छ। एक व्यक्तिलाई शीर्ष पदमा राख्ने या नराख्नेमा मतान्तर गरेर मेरो गोरुकै बाह्रै टक्का गरेर दल हिँड्न हुँदैन। सहकार्य गरेपछि सहमतिमा आउनैपर्छ। लोकतान्त्रिक अभ्यास गर्नुपर्छ र त्यसको आभास हुन दिनुपर्छ। कूटनीति, अर्थतन्त्र र अन्य केही विषयमा साझा धारणा राखेर कांग्रेस-एमाले सरकार बनाएर अघि बढ्न सके मुलुकले केही महिनामा नै कायापलट गर्छ। यसमा दुई मत राख्न मिल्दैन।

यहाँले सामाजिक सञ्जालको चरम दुरुपयोग भएको भन्नु हुन्छ अनि पत्रपत्रिकाले पनि वास्तविकता बुझेन भन्नुहुन्छ यो के भन्न खोज्नुभएको स्पष्ट पारिदिनु न। 

जसले पनि अनलाइन खोल्न पाउने, पत्रपत्रिका चलाउन पाउने अवस्था छ। यसमा केही आधार तय गर्नपर्छ। सामाजिक सञ्जालमा जथाभाबी लेख्नेलाई र फेक समाचार दिनेलाई कारबाहीमा ल्याउने तर्फ लाग्नुपर्छ। अनि मात्र जिम्मेवार हुन्छन्। दुई हजार माग्दै हिँड्ने अनि अनलाइन वा पत्रिका चलाएको छु भनेर थर्काउने काम समेत भएका छन्। निर्माण व्यवसायीले पनि अनलाइन चलाउने पत्रकार पाल्न, अनि अन्य व्यवसायीले राजनीतिकर्मीले पनि। यसरी चल्दैन। न्यूनतम रकम राखेर कम्तीमा १५ जनालाई रोजगारी दिएकालाई मात्र अनलाइनको मान्यता दिने गर्नुपर्छ। ६ महिना अघिसम्म कर्मचारीलाई पारिश्रमिक दिन नसकेको पत्रिका कम्पनी अहिले कसरी शेयर जारी गर्ने अवस्थामा पुग्यो यसको छानबिन हुन पर्दैन? भ्रष्टाचार निवारण गर्न लागि परेको काजीसाबहरु पनि त्यहाँ पुगेकाे देखेको छु। सिमेन्ट कम्पनी, टेलिभिजन, पत्रिका सबै  एकाएक नाफामा देखाएर सेयरमा गइरहेका छन् यसलाई रोक्न जरुरी छ। त्यस्तो तर्फ सामाजिक सञ्जाल पनि वास्ता गर्दैन। अनि कसरी हुन्छ? यो सबै बुझ्न आवश्यक छ । राजनीतिक दलहरूले यसमा पनि निर्मम हुन आवश्यक देखिन्छ। सामाजिक सञ्जालले पपुलिजम् बढाएको छ। यो विषयमा सबैको ध्यान जान सके राम्रो हुनेछ। पपुलिजम् मुलुकको लागि घातक छ।

प्रकाशित: २५ भदौ २०८० २०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =