एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कार कसुरमा जाहेरी

हिमाल प्रेस २५ चैत २०८० १८:२८
164
SHARES
एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कार कसुरमा जाहेरी महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी परेको छ। एमालेकै एक संगठनमा आबद्ध युवतीले (३१ वर्ष) बस्नेतविरुद्ध जाहेरी दिएकी हुन्। ती युवतीले बस्नेतमाथि भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी हुन्। पीडित युवतीले बस्नेतविरुद्ध हुलाकमार्फत चैत ७ गते जाहेरी निवेदन दिएकी थिइन्।

बस्नेतले आफूलाई दुईपटक बलात्कार गरेको ती युवतीले जाहेरीमा उल्लेख गरेकी छन्। जाहेरीमा काठमाडौँ महानगरपालिका-१०, बबरमहलस्थित सनसाइन अपार्टमेन्टमा बलात्कार गरेको उल्लेख छ। साथै उनले भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयरमा पनि आफूमाथि बलात्कार गरेको आरोप बस्नेतमाथि लगाएकी छन्।

ती युवतीले बस्नेतले औषधि खुवाएर र अप्रेसन गर्न लगाएर २ महिना १५ दिनको भ्रूण हत्या गरेको आरोप पनि लगाएकी छन्। उनले मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरेकी छन्।

आफूमाथि भएको बलात्कार र भ्रूण हत्याको प्रमाण नष्ट गराउन आरोपी बस्नेतको निर्देशनमा अपार्टमेन्टमा डाँका चोरी भएको पनि उनको दाबी छ। उनले जाहेरीमा सनसाइन अपार्टमेन्टमा दुई युवा आएर आफूलाई कुटपिट गरेको र मोबाइल र अन्य सामानहरू जबर्जस्ती खोसेर लगेको आरोप लगाएकी छन्। पूर्वमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध जाहेरी परेपछि अहिले प्रहरीले प्रमाण संकलन गरिरहेको र बस्नेतसँग सोधपुछ पनि गरिरहेको बताएको छ।

प्रकाशित: २५ चैत २०८० १८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + six =