संघीयता देशको भाइरस हो,यसलाई खारेज गरौँ : कमल थापा

हिमाल प्रेस १८ वैशाख २०८० १९:१५
30
SHARES
संघीयता देशको भाइरस हो,यसलाई खारेज गरौँ : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको देशको लागि घाँडो भएको बताएका छन्। १३४औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपालनिकट श्रमिक संगठन ट्रेड युनियन महासंघ नेपाल ‘टुकोन’द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अर्थतन्त्र समाप्त पार्ने किटाणुको रुपमा रहेको प्रदेश संरचना खारेज गरेर केन्द्रीय सरकार र स्थानीय तहमा अधिकार सम्पन्न सरकारको अवधारणामा बहस र छलफल थाल्न सबै राजनीतिक दललाई आग्रहसमेत गरे।

थापाले लोकतन्त्रको आवरणमा लुटतन्त्र चलिरहेको भन्दै सीमित दलका सिमित नेताहरु आलोपालो ब्रम्हलुटमा लिप्त भएको आरोप लगाए। भ्रष्टाचारको विरोध गर्ने, सुशासनको नारा दिने नयाँ दलहरूले ब्रम्हलुटको बारेमा बोल्न अल्छी गर्नु बिडम्बना भएको उनको तर्क थियो।

माओवादी शान्ति प्रक्रियामा आउनु राम्रो भएको तर शान्ति प्रक्रियाको नाममा बारम्बार लुट मच्चाउन खोज्नु स्विकार्य नहुने भन्दै थापाले अयोग्य लडाकुको नाममा करोडौँ बाढ्ने विषय आपत्तिजनक भएको स्पष्ट पारे। व्यक्ति परिवर्तनले मात्र मुलुकको समस्याको समाधान नहुने भन्दै अहिलेको राजनितीक मार्गचित्र परिवर्तन हुनुपर्नेमा थापाको जोड थियो।

‘बाटो गलत भएपछि गाडीको ड्राईभर खसासी परिवर्तन गरेर मात्र गन्तव्यमा पुग्न सक्किन्न, गन्तव्यमा पुग्ने हो भने मार्ग परिवर्तन गर्नुपर्छ’ उनले भने।

नेपालमा धर्म परिवर्तनको डढेलोले आफूलाई पहिचानवादी भन्नेहरूको नै पहिचान समाप्त हुन लागेको भन्दै थापाले हिन्दू, बौद्ध र किरात धर्म मान्नेहरूको संख्या अघिल्लो जनगणनाभन्दा ज्यादै न्यून भएकै कारण सरकारले धर्मको आधारमा जनगणनाको रिपोर्ट सार्वजनिक नगरी लुकाएको आरोप लगाए।

संगठित रुपमा विभिन्न प्रलोभन देखाएर विशेषतः आदिवासी जनजाती एवं दल‍ित वर्गलाई असंख्य परिमाणमा धर्म परिवर्तन गराइएको ले यो समुहको पहिचान नै संकटमा पर्नसक्ने संभावना टड्कारो देखिएकोले आफ्नो धार्मिक पहिचान जोगाउन सबैले समयमै सचेत हुनुपर्नेमा थापाले जोड दिएका थिए।

नेपालमा श्रम गरेर गुजारा गर्ने मजदुरहरुको अवस्था अत्यन्तै कष्टप्रद रहेको उल्लेख गर्दै अध्यक्ष थापाले राजनीतिक परिवर्तनमा श्रमिकहरूको उल्लेख्य योगदान रहे पनि औद्योगिकरण र आर्थिक रुपान्तरण नभएका कारण श्रमिकहरू लाभान्वित हुन नसकेको बताए।

योगदानमा आधारित सामाजिक सुरक्षा, पेन्सन आदिजस्ता श्रमिकका पक्षमा कदम चालिए पनि व्यवहारमा लागू हुन नसकेकोले श्रमिकको हकहितको लागि लड्ने ट्रेड युनियनहरुलाई यसतर्फ चनाखो हुन थापाले आग्रह गरे।

प्रकाशित: १८ वैशाख २०८० १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 9 =