प्रहरी हत्या आरोपित एमाले सांसद फरार रहेको पत्र सभामुखलाई दिइयो

हिमाल प्रेस १८ वैशाख २०८० १५:३६
240
SHARES
प्रहरी हत्या आरोपित एमाले सांसद फरार रहेको पत्र सभामुखलाई दिइयो

काठमाडौँ- नेपाल प्रहरीको हत्या आरोपित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार रहेको जानकारी नेपाल प्रहरीले सभामुख देवराज घिमिरेलाई दिएको छ।  नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले आज आइतबार सांसद कोइरी फरार रहेको जानकारी सभामुखलाई गराएको बताए। प्रहरीले सभामुखलाई पठाएको पत्रमा सर्वोच्च अदालतको आदेश पनि राखिएको छ।

‘उहाँ (कोइरी) फरार हुनुहुन्छ। हामीले अदालतको आदेशअनुसारकै जानकारी सभामुखलाई गराएका छौँ,’ कठायतले भने। प्रहरीले रवि लामिछाने गृहमन्त्री हुँदा संसद्का महासचिवलाई पनि यसबारेको पत्र पठाएको जनाएको छ। तर त्यसमाथि कुनै कामकारबाही हुन बाँकी छँदै लामिछानेको गृहमन्त्रीको पद गएको थियो।

वैशाख १५ गतेको संसद् बैठकमा कोइरीलाई निलम्बन नगरेर सभामुखले संरक्षण गरेको भन्दै सत्तापक्षकै सांसदहरूले पनि विरोध गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त आफू गृहमन्त्री हुँदा कोइरी भारतमा रहेको व्यहोरा संसद्‌मै पढेर सुनाएका थिए। उनले आफू गृहमन्त्री हुँदा भारतमा पक्राउ परेको र कारबाही गर्ने बेलामा आफ्नो पद गएको पनि बताएका थिए।

२०७२ को मधेश आन्दोलनमा घाइते प्रहरीका थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा महतोकै निर्देशनमा एम्बुलेन्सबाट बाहिर निकालेर खेतमा लखेटी-लखेटी हत्या गरिएको अभियोगमा कोइरीलगायत २८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ गते एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो। आदेश चित्तबुझ्दो नभएको भन्दै विकको परिवारले जनकपुर उच्च अदालतमा पुनरावेदन दिएका थिए। जनकपुर उच्च अदालतमा २०७७ मंसिर १९ मा जिल्ला अदालतको आदेश उल्ट्याउँदै महतोलाई थुनामै राखेर कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो।

उनी अहिलेसम्म अदालत हाजिर भएका छैनन्। प्रहरीले पनि उनलाई पक्राउ गरेको छैन। तर उनी फरार सूचीमा छन्। उनले बिहीबार मात्रै आफू अस्वस्थता देखाउँदै सभामा आउन नसकेको पत्र पठाएका थिए। कोइरी महोत्तरी १ बाट निर्वाचित एमालेका सांसद हुन्। उनले चुनाव पनि प्रहरीको फरार सूचीमा भएकै अवस्थामा जितेका हुन्।

प्रकाशित: १८ वैशाख २०८० १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =