जनकपुरमा सांसद कोइरीको समर्थनमा प्रदर्शन

हिमाल प्रेस ११ माघ २०७९ १५:४२
2
SHARE
जनकपुरमा सांसद कोइरीको समर्थनमा प्रदर्शन

जनकपुरधाम– नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीविरुद्ध झुठा मुद्दा लगाइएको भन्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ। महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद कोइरीविरुद्ध पक्राउपुर्जी जारी गरिएको र प्रहरीले पक्राउ नगरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला उनको पक्षमा प्रदर्शन भएको हो।

मधेश आन्दोलनका अगुवा दिनेश पूर्वेको अगुवाइमा जनकपुरधामको भानुचोकबाट नागरिक समाजले निकालेको रैली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो। पूर्वेको अगुवाइमा भएको प्रदर्शनमा सहभागीले सरकार तथा प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए।

नागरिक अगुवा रामरिझन यादवले जनताको मतबाट निर्वाचित सांसद कोइरीलाई बदनियतपूर्ण ढंगले फसाउन खोजिएको आरोप लगाए। उनले आन्दोलनको क्रममा मधेशका आन्दोलनकारीले थमन विकको हत्या गरे पनि घटनाको समय त्यहाँ सांसद कोइरीको उपस्थिति नरहेको दाबी गरे।

‘आन्दोलनकारीले प्रहरीको हत्या गर्दा मुद्दा लाग्ने, सिभिल ड्रेसमा रहेका प्रहरीले आन्दोलनकारीको हत्या गर्दासमेत मुद्दासम्म दर्ता गर्न नमान्ने यो कहाँको न्याय हो?’ यादवले भने।
जनताले निर्वाचित गराएको सांसद कोइरीविरुद्ध झुठा मुद्दा लगाएर सरकारले जनअभिमतको अपमान गरेको आरोप उनको छ।

कोइरी महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद हुन्। उनले प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गरेका थिए।

कोइरी नेपाल प्रहरीको फरार सूचीमा रहेका सांसद हुन्। उनले प्रतिनिधिसभा सदस्यको शपथ लिइसकेका छन्। उपप्रधानमन्त्री एवम् गृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि हत्या आरोपितलाई जोगाउन खोजेको आरोप लाग्दै आएको छ। गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न पटकपटक निर्देशन दिए पनि नेपाल प्रहरीले पक्राउ गर्न सकेको छैन।

कोइरी २०७२ सालमा मधेश आन्दोलनका बेला तत्कालीन मधेशी जनाधिकार फोरमका नेता थिए। २०७२ भदौ २५ गते जलेश्वरमा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या भएको थियो।

झडपमा घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट निकाली धानखेतमा लखेटीलखेटी हत्या गरिएको थियो। उनको हत्यामा अगुवाइ गरेको आरोप कोइरीमाथि छ। उनीसहित २८ जनालाई हत्याको आरोप लागेको थियो।

यही मुद्दामा जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ कोइरीलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। जसलाई उच्च अदालत पाटनको २०७७ मंसिर १९ गतेको आदेशले उल्टाएको थियो। जसमा महतोलाई थुनामै राखेर मुद्दा अगाडि बढाउन भनिएको थियो।

त्यसपछि कोइरी फरार भएका हुन्। मुद्दा महोत्तरी अदालतमा विचारधीन छ। फरार अवस्थामै चुनावमा उठेर निर्वाचित कोइरी अहिले फेरि फरार छन्।

प्रकाशित: ११ माघ २०७९ १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =